एमालेसँगको लफडाले माओवादीद्वारा सिरहामा राजमार्ग ठप्प


जनकपुरधाम । सिरहाको गोलबजारस्थित पूर्व(पश्चिम राजमार्ग आज बिहानैदेखि ठप्प छ । नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरूले राजमार्ग अवरुद्ध पारेपछि हजारौँ सवारी साधन अलपत्र परेका छन् ।
सिरहा ३ बाट निर्वाचित एमालेका लीलानाथ श्रेष्ठले निकालेको विजयी जुलुसमा सहभागीहरूले शुक्रवार राति निकटम प्रतिस्पर्धी माओवादीका विश्वनाथ साहको घरमा ढुंगामुडा गरेको भन्दै माओवादी कार्यकर्ताहरू राजमार्ग अवरुद्ध पारेर आन्दोलनमा उत्रेका उत्रेका छन् । घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग उनीहरूको छ ।
ढुंगामुडा नगर्न भनेपछि सो ठाउँका श्रीचन मुखियालाई श्रेष्ठको विजयी जुलुसमा सहभागीले कुटपिट गरी घाइते बनाएको माओवादी सिरहाका इन्चार्ज अजयशंकर नायकले बताए ।
उनले प्रेस विज्ञप्ति जारी गरेर जीतको उन्मादमा गरिएको गुण्डागर्दी घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् । लोकतान्त्रिक मूल्य मान्यता अनुसार चल्न नसके उत्पन्न हुन सक्ने दुर्घटनाको जिम्मेवारी सम्बन्धित पक्षले लिनुपर्ने माओवादी जिल्ला इन्चार्ज नायकले चेतावनी समेत दिएका छन् ।
राजमार्ग बन्दका कारण अलपत्र परेका सवारी साधनका यात्रु र चालकहरू खान समेत नपाएको गुनासो गरेका छन् । तर प्रशासनले बन्द खुलाउन सकेका छैन ।
सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले बन्द खुलाउने प्रयासमा लागेको बताए ।