रास्वपा नेतृत्वलाई पत्र : जनादेशमाथि फेरि घात नहोस् – Nepal Press

रास्वपा नेतृत्वलाई पत्र : जनादेशमाथि फेरि घात नहोस्

लोकतन्त्रमा जनादेशको कदर गर्न सकिएन भने निराशा छाउँछ जसले विद्रोह निम्त्याउँछ । यसलाई कतिपयले क्रान्तिको पनि संज्ञा दिएको पाइन्छ । प्रजातन्त्र प्राप्तिपछिको समयमा कांग्रेसले पटक–पटक जनादेशको कदर नगर्दा माओवादी जनयुद्ध सुरु भएको थियो । उनीहरूले यसलाई अधिकार प्राप्तिका लागि गरिएको जनक्रान्ति भने पनि लोकतन्त्र स्थापना भइसकेको अवस्थामा ब्यालेटको साटो बुलेटको आड लिनु हिंसाकै अर्काे रूप हो । पूर्वराजा ज्ञानेन्द्रले जनादेशको कदर नगर्दा झण्डै २४० वर्षदेखिको राजसंस्था इतिहासको पानामा सीमित रहन पुग्यो ।

परिवर्तन जनादेशकै माध्यमबाट गर्ने हो र लोकतन्त्रमा त्यसको निर्क्योल चुनावको नतिजाले गर्दछ । लोकतन्त्रमा जनता जनार्दन भन्नुको तात्पर्य जनताले सबै जानेका बुझेका छन् भन्ने हो । पहिलो संविधानसभाको चुनावमा जनतालेनै नेकपा माओवादीलाई संविधान बनाउने अधिकारसहित पहिलो पार्टी बनाएको थियो । तर, जब माओवादीले सक्दैन भन्ने विश्वास भयो, ती नै जनताले दोस्रो संविधानसभाको चुनावमा नयाँ जनादेश दिए । माओवादी तेस्रो दल भयो र नयाँ संविधान पनि जारी भयो ।

वि. सं २०७२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपश्चात अनेक आशंका र अड्कलबाजीहरू हुन थालेका थिए । तर, जनता भने परिवर्तनको पक्षमा एकपल्ट फेरि नयाँ जनादेश दिन तयार भए । संविधान जारी भएपश्चात २०७४ मा भएको पहिलो आमनिर्वाचनले एक किसिमको जनादेश दिएको थियो । त्यो चुनावमा दुई ठूला कम्युनिष्ट दल नेकपा एमाले र नेकपा माओवादीले संयुक्त रुपमा चुनाव लडेका थिए । चुनावपछि एउटै पार्टी बन्ने र स्थिरता तथा विकासका मुद्दाको नारा लिएर यी दुई कम्युनिष्ट पार्टी नेपाली जनतामाझ भोट माग्न गए ।

संविधान जारी भएपश्चात २०७४ मा भएको पहिलो आमनिर्वाचनले एक किसिमको जनादेश दिएको थियो । त्यो चुनावमा दुई ठूला कम्युनिष्ट दल नेकपा एमाले र नेकपा माओवादीले संयुक्त रुपमा चुनाव लडेका थिए ।

एकातर्फ भारतबाट अघोषित रूपले गरिएको नाकाबन्दीको दटेर सामना गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनेताको छवि बनाइसकेका थिए भने अर्काेतर्फ विकासका लागि स्थिर सरकारको आवश्यकता नेपाली जनताले महसुस गरेका थिए । अध्यक्ष केपी शर्मा ओलीको राजनेताको छवि र विकासका लागि स्थिर सरकारको नारा दुबैलाई नेपाली जनताले अनुमोदन गरिदिए । प्रत्यक्षतर्फ नेकपा एमाले ८० सीटसहित पहिलो र नेकपा माओवादी ३६ सीटसहित दोस्रो भयो । समग्रमा २७५ जनाको प्रतिनिधिसभामा १७४ सांसदसहित यी दुई पार्टीले संसदमा ६३ प्रतिशत हिस्सा लिए । जनतासँग गरिएको वाचाअनुरुप दुई पार्टी एक भई बृहत नेपाल कम्युनिष्ट पार्टी नेकपा बन्यो ।

उत्साहित जनता अब आफ्नो स्थिर सरकार र विकासको जनअनुमोदित नारा पूरा हुनेमा विश्वस्त हुन थाले । नहून् पनि कसरी, एकातर्फ राजनेताका रुपमा हेरिएका केपी शर्मा ओली प्रधानमन्त्रीको कुर्सीमा आसिन थिए भने विकास निर्माण पनि सुरु हुँदै थियो । आशावादी र सहनशील नेपाली जनताको विश्वासमाथि फेरि एकपटक प्रहार भयो ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा प्रधानमन्त्री हुने महत्वाकांक्षा पलायो । प्रचण्ड र माधवकुमार नेपालको महत्वाकांक्षाले एक पटक फेरि नेपाली जनताको जनादेशको उल्लङ्घन भयो । नेकपा एमाले, माओवादी र एकीकृत समाजवादीमा विभाजित भयो । नेपाली जनताले फेरि एकपल्ट आफ्नो विश्वासमाथि भएको हत्याको सूक्ष्म मूल्याङ्कन गर्न थाले ।

यस्तै नेपाली जनताको विश्वासमाथिको हत्या सोही वेला वैकल्पिक भनेर उदाएको विवेकशील साझा पार्टीबाट पनि भयो । सुशासन र डेलिभरीको मुद्दा लिएर उदाएको उज्ज्वल थापा नेतृत्वको विवेकशील नेपाली दल र रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीलाई तत्कालीन स्थानीय चुनावका वेला जनताले एक भएर आउन जनादेश दिए । २०७४ को आम निर्वाचन अगाडि यी दुई दलले पार्टी एकता पनि गरे ।

नेकपा एमाले, माओवादी र एकीकृत समाजवादीमा विभाजित भयो । नेपाली जनताले फेरि एकपल्ट आफ्नो विश्वासमाथि भएको हत्याको सूक्ष्म मूल्याङ्कन गर्न थाले ।

एकातर्फ विकासका लागि स्थिर सरकार र अर्काेतर्फ एकताबद्ध वैकल्पिक शक्ति । अलमलमा नपरी जनताले नेकपालाई सरकारको नेतृत्व र विवेकशील साझालाई ढाडससहित नेकपा असफल भएको अवस्थामा अर्काेपल्ट अवसर दिने किसिमको जनमत दिए । बाग्मती प्रदेशमा विवेकशील साझाका तीन सांसद जनताले पठाए । संघमा उत्साहित गर्ने किसिमले २.२२ प्रतिशत मत प्रदान गरे । त्यस पार्टीका तत्कालीन संयोजकमध्ये एक रवीन्द्र मिश्रले गणेशमान पुत्र प्रकाशमानलाई काठमाडौं क्षेत्र नं १ मा प्रत्यक्षतर्फ झण्डै हराएका थिए । अन्तमा उनी प्रकाशमानसँग ८१९ को झिनो मतान्तरले पराजित भए ।

जनताले विवेकशील साझालाई अबको ५ वर्ष तिमीहरु जग बलियो बनाउ अर्को पटक तिमीहरुलाई हेरौंला भनेर जनादेश दिएका थिए । तर, पार्टीले भने त्यस जनमतको कदर गरेको पाइएन । जनताका लागि भन्दा पनि पार्टी आन्तरिक किचलोमा फस्न पुग्यो । पहिलो फुटले नै जनतामा निराशा जागिसकेको थियो । तर, दोस्रो एकताले भने त्यो घाउमा केही हदसम्मको मलम लगाउने सम्भावना प्रवल थियो ।

परिवर्तन खोजिरहेका जनता पर्ख र हेरको स्थितिमा थिए । विवेकशील साझा अब परिपक्व राजनीतिक पार्टीका रुपमा आयो भनेर उत्साहित भएका नेपाली जनतालाई फेरि एकपटक चुनावको मुखमा यस पार्टीले निराश बनायो । आधिकारिक रुपले पार्टी नफुटे पनि पार्टी छिन्नभिन्न भयो । यसका कारणहरु यस लेखमा अहिले खुलाउन उचित सम्झिन्न । जरुरत परे अर्काे कुनै लेखमा राखौंला ।

विवेकशील साझाकै अध्यक्ष डेलिभरीका मुद्दा छाडेर राजसंस्थाको मुद्दा समाइ राप्रपा प्रवेश गरेको परिवेशमा अर्का सञ्चारकर्मी रवि लामिछानेले आम निर्वाचनअघि नयाँ पार्टी खोले राष्ट्रिय स्वतन्त्र पार्टी ।

विवेकशील साझाले जगमात्र हालेर छाडेको जगमा रास्वपाले राम्रै घर बनाउने सम्भावना देखिन्छ । प्रत्यक्ष र समानुपातिक गरेर २५-३० सीटको हाराहारीमा ल्याउने सम्भावना भएको पार्टी सरकार बनाउने र भत्काउने खेलको निर्णायक नै हो ।

निराशाका बीच नेपाली राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टीको इन्ट्रीले फेरि एकपटक आशा जगाइदियो । नेकपा एमालेसँग एउटा समूह त थियो नै । तर, नेपाली कांग्रेस, नेकपा माओवादीलगायतको अप्राकृतिक गठबन्धनसँग र विवेकशील साझासँग रुष्ट समूहका लागि यो एउटा विकल्प बन्यो । आशाको भन्दा पनि नेकपा र विवेकशील साझाबाट जनादेशको कदर नहुँदाको विकल्प ।

यस आम निर्वाचनको धेरै ठाउँको नतिजा आइसकेको छ । त्यस हिसाबले विवेकशील साझाले जगमात्र हालेर छाडेको जगमा रास्वपाले राम्रै घर बनाउने सम्भावना देखिन्छ । प्रत्यक्ष र समानुपातिक गरेर २५-३० सीटको हाराहारीमा ल्याउने सम्भावना भएको पार्टी सरकार बनाउने र भत्काउने खेलको निर्णायक नै हो । यहाँनिर आएर रास्वपाले आफ्नो जनमत केका लागि हो भन्ने बुझनु जरुरी छ । विवेकशील साझाको राजनीति गरेर आइसकेकाले म रास्वपाका नेतृत्व पंक्तिलाई यस नतिजाबाट उत्तेजित नभई पार्टी निर्माणमा केन्द्रित रहन र सदनमा सशक्त प्रतिपक्षको भूमिका निभाउन हार्दिक अनुरोध गर्दछु । यसका केही आधारहरु छन् ।

रास्वपा नीतिगत रुपमा प्रस्ट भइसकेको छैन । पार्टी स्थापना हुनेबित्तिकै चुनावमा होमिन परेकाले पार्टीभित्र वैचारिक बहस हुन पाएको छैन । चुनावमा उम्मेदवारी दिनकै लागि पनि कतिपयले वैचारिक पक्षलाई थाँती राखेर चुनावमा होमिएका छन् । अझ हिजोका दिनमा विवेकशील साझामा रहँदा संघीयता खारेजीको मुद्दाकै कारणले पार्टी नेतृत्वविरुद्ध मिडियाबाजीमात्र होइन पार्टी फुटाउनसमेत तयार नेताहरु आज रास्वपाका उम्मेदवार छन्, जिम्मेवार पदमा छन् । फरक फरक पृष्ठभूमिका व्यक्तिहरूलाई एउटै मालाको फूल बनाउने नै विचारले हो, नीतिगत प्रस्टताले हो । विवेकशील साझाको अवशानको एउटा प्रमुख पक्ष नै नीतिगत अस्पष्टता थियो । त्यही गल्ती रास्वपाले नगरोस् भन्ने सदीक्षा राख्दछु ।

फरक फरक पृष्ठभूमिका व्यक्तिहरूलाई एउटै मालाको फूल बनाउने नै विचारले हो, नीतिगत प्रस्टताले हो । विवेकशील साझाको अवशानको एउटा प्रमुख पक्ष नै नीतिगत अस्पष्टता थियो । त्यही गल्ती रास्वपाले नगरोस् भन्ने सदीक्षा राख्दछु ।

यस चुनावमा जेजस्तो नतिजा आएको छ यसको लामो प्रक्रिया छ । परिवर्तन आफैंबाट सुरु गर्नुपर्छ भनेर विकेकशील नामबाट सुरु भएको वैकल्पिक आन्दोलन साझा, विवेकशील साझाबाट हर्क, बालेन, गोपाल हमाल हुँदै रास्वपामा एक परिपक्व रुपले फल दिएको छ । अहिले रास्वपाको जेजस्तो नतिजा आएको छ । त्यसमा यी प्रक्रियाबाहेक एकाधलाई छाडेर मुख्य रुपमा रास्वपाका अध्यक्ष रवि लामिछानेको बढी योगदान छ । त्यसकारण यसलाई जोगाइराख्ने र अर्काे चरणमा लग्ने प्रमुख दायित्व पनि उहाँकै छ ।

सत्ता निर्माणमा प्रमुख भूमिका हुने भइसकेपछि सत्तामा रहने बानी परेका ठूला दुई राजनीतिक दलहरुले सहकार्यका लागि नजिकिन खोज्नु सामान्य हो । अझ त्यसमा पार्टीभित्र पनि कोसँग सहकार्य गर्दा आफू बलियो भइन्छ भनेर गठबन्धन गर्न खोज्नेहरुबाट पनि फरक फरक प्रस्ताव आउनसक्छ । दुईदलीय राजनीति हुनुपर्छ भनेर सोच राख्ने मूलधारका राजनीतिक पार्टीहरुका लागि रास्वपाको उदय त्यति सहज छैन । उनीहरुको सोच अहिले प्रयोग गर्ने र भोलि राजनीतिक रुपमा कमजोर बनाउने हुनेछ ।

सत्ता बनाउने र विघटन गर्ने खेलमा लाग्नुभन्दा संगठन निर्माण, नीति निर्माण र आन्तरिक व्यवस्थापनमा बढी केन्द्रित रही सशक्त प्रतिपक्षको भूमिकामा रहनु नै रास्वपाले अहिले पाएको जनमत हो । अन्तमा फेरि दोहो¥याउन चाहें, क्षणिक लाभका लागि जनादेशभन्दा बाहिर गएर लिइने निर्णय कालान्तरमा प्रत्युत्पादक हुनसक्छ । पूर्व वैकल्पिक राजनीतिक योद्धाका नाताले जनादेशमाथि फेरि एकपटक घात नहोस् भन्ने सकारात्मक अनुरोध गर्दछु ।


प्रतिक्रिया

One thought on “रास्वपा नेतृत्वलाई पत्र : जनादेशमाथि फेरि घात नहोस्

  1. शंकाको सुविधा त दिउँ । तर यिनले केही गर्दैनन भन्नेमा म चाहिँ ढुक्क छु । चर्का र अराजक कुरा गरेर मात्र देश बन्छ ? देश बनाउन त ओलि र एमालेकोजस्त‍ो सन्तुलित र दुढ भिजन चाहिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *