नेपाल आइपुगे आदित्यनारायण, विमानस्थलमा नेपाली झन्डा समात्न मानेनन् – Nepal Press

नेपाल आइपुगे आदित्यनारायण, विमानस्थलमा नेपाली झन्डा समात्न मानेनन्

काठमाडौं । भारतीय टेलिभिजनका चर्चित होस्ट तथा गायक आदित्यनारायण झा नेपाल आएका छन् । भोलि हुने कन्सर्टमा भाग लिन उनी आज बेलुकी काठमाडौं ओर्लिएका हुन् ।

त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आदित्यले आफू साढे तीन वर्षपछि नेपाल आउन पाएकोमा खुशी व्यक्त गरे । नेपाली दर्शकमाझ गीत गाउन आफू उत्साहित रहेको उनले बताए ।

‘नेपालमा आउँदा सधैँ खुशी लाग्छ । कोभिडका कारण लामो समय आउन पाएको थिइनँ । भोलिको कन्सर्टलाई लिएर उत्साहित छु,’ उनले भने ।

आदित्यले आफू दुई दिन नेपालमा बिताउने बताए । आफ्नो कन्सर्ट हेर्न उल्लेख्य दर्शक आउने आशा पनि उनले व्यक्त गरे ।

विमानस्थलमा आदित्यलाई क्लब फरेनहाइटका कर्मचारी तथा अन्य फ्यानहरूले स्वागत गरेका थिए । विमानस्थलबाट प्रस्थान गर्ने क्रममा उनले गाडीको हुटबाट बाहिर निस्किएर समर्थकलाई अभिवादन गरे । त्यस क्रममा केही फ्यानहरुले उनलाई नेपाली झन्डा दिएर फहराउन आग्रह गरेका थिए । तर, आदित्यले मानेनन् । ‘थ्यां क्यू’ भन्दै उनी पन्छिएर अर्कोतिर फर्किए अनि गाडीभित्र बसे ।

आदित्य नारायण प्रख्यात नेपाली गायक उदीतनारायण झाका छोरा हुन् । सप्तरीको भारदहमा जन्मेका उदिननारायण भारतमा प्रख्यात भएपछि आफूलाई नेपाली भनेर चिनाउन चाहँदैनन् । अहिले उनका छोरा आदित्यले पनि त्यही प्रवृत्ति देखाएका छन् । उनले विमानस्थलमा सञ्चारकर्मीसँग नेपाली र अंग्रेजीमा कुरा गरेका थिए ।

आदित्यले भारतीय टेलिभिजनका चर्चित रियालिटी शोहरु होस्ट गर्दै आएका छन् । उनले आगामी जनवरीमा नेपाली गीत ल्याउने बताएका छन् । बाल्यकालमा उनले बुवासँग मिलेर ‘यो गाउँको ठिटो म…’ बोलको चर्चित गीतमा स्वर दिएका थिए ।


प्रतिक्रिया

3 thoughts on “नेपाल आइपुगे आदित्यनारायण, विमानस्थलमा नेपाली झन्डा समात्न मानेनन्

  1. तराई मधेसमा बस्नेले हामी नेपाली हो हामीलाई मेपालीको प्रमाण पत्र दे भन्दा नदिने हामी म नेपाली हैन भन्दा पनि नेपाली गायक भनेर उपाधी दिन्छौ र झण्डा फहराउन आग्रह गर्छौ ।

Leave a Reply to Deepen Cancel reply

Your email address will not be published. Required fields are marked *