‘सरकार गठनमा माओवादी नै निर्णायक बन्ने देखेका छौँ, गठबन्धनबारे समीक्षा गर्छौँ’ – Nepal Press
नेपाल टक

‘सरकार गठनमा माओवादी नै निर्णायक बन्ने देखेका छौँ, गठबन्धनबारे समीक्षा गर्छौँ’

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । सत्ता गठबन्धन गरेर चुनावी मैदानमा होमिएको नेकपा माओवादी केन्द्रले आशातीत परिणाम ल्याउन सकेको छैन ।

माओवादीले कांग्रेस नेतृत्वमा नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेल गरेको थियो । तर, गठबन्धन गरेर गए पनि सन्तोषजनक मत परिणाम नआएपछि माओवादीका कतिपय नेताहरूले कांग्रेसले धोखा दिएको आरोप लगाउन थालेका छन् । हालै मात्रै दर्ता भएर चुनावमा होमिएको रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीले उल्लेख्य मत प्राप्त गरेपछि माओवादीभित्र हलचल पैदा भएको छ ।

०७४ सालमा एमालेसँग तालमेल गरेर प्रत्यक्षमै ३६ सीट जितेको माओवादीलाई अहिले प्रत्यक्षमा २० सीट कटाउन मुस्किल छ । समानुपातिकमा पनि सन्तोषजनक मत पाउन सकेको छैन ।

चुनावी परिणाम, माओवादीको अबको कदम, आगामी बन्ने सरकारमा पार्टीको भूमिकालगायत विषयमा केन्द्रित रहेर माओवादी केन्द्रका सचिव दिनानाथ शर्मासँग नेपालप्रेसले गरेको कुराकानी:

माओवादीले चुनावी परिणामलाई कसरी हेरेको छ ?

हामी जनताको अभिमतलाई उच्च मूल्याङ्कन गरेर स्वीकार गर्छौँ । दलीय प्रणालीमा विभिन्न खालका दलहरू हुन्छन् । स्वतन्त्र रूपमा उठ्न पाउने संविधानले व्यवस्था गरेअनुसार केही साथीहरू जितेर आउनुभएको छ । यो नै लोकतन्त्रको सुन्दर पक्ष हो ।

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएर लोकतन्त्रको सुन्दरता प्रकट भएको छ । निर्वाचनमा हार र जित स्वाभाविक रूपले हुन्छ । कसैले अपेक्षित रूपमा बढी मत पनि ल्याएका छन् । निर्णय गर्ने न्यायाधीश जनता नै हुने भएकाले हामी सबैले जस्तो परिणाम आउँछ त्यसलाई स्वीकारेर जानुपर्छ ।

सोचेजस्तो मत परिणाम नआएपछि गठबन्धनमा कांग्रेसले धोका दिएको भनेर नेताहरूले अभिव्यक्ति दिन थालेका छन् नि ?

हामीले त्यसमा गम्भीर समीक्षा गर्न आवश्यक देखेका छौँ । गठबन्धन दलहरूसँग पनि बसेर छलफल हुन्छ नै । कतिपय ठाउँहरूमा माओवादीको हँसिया–हथौडामा भोट हाल्नुभन्दा त घण्टीलाई हाल्यौँ भनेर विशेषतः कांग्रेस समर्थक कार्यकर्ताहरूले भनेको हामीले पनि सुनेका छौँ । त्यो विषयमा हामी सबै परिणाम आएपछि साङ्गोपाङ्गो समीक्षा गर्छौँ ।

अब यो चुनावी परिणामपछि गठबन्धन टुट्ने सम्भावना कत्तिको छ ?

अहिले तत्काल त हामीले केही सोचेका छैनौँ । सबै मत परिणाम आएको छैन । मत परिणाम सबै आइसकेपछि पार्टीको बैठक राखेर गम्भीर रूपमा समीक्षा गर्छौँ।

माओवादीलाई चुनावअघि मात्रै दर्ता गरेर चुनावमा होमिएको रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीले नै चुनौती दियो । त्यसले गठबन्धनको के अर्थ रह्यो र ?

स्वतन्त्र पार्टीमा गएको मत दलहरूप्रतिको वितृष्णाको मत पनि हो । त्यसका पछाडि धेरै कारणहरू पनि छन् । गठबन्धनको अर्का दललाई दिनुभन्दा वा संविधान र संघीयतालाई मत दिनुभन्दा नयाँ पात्रलाई खोजेर मत प्रकट गर्ने एउटा ठुलो जनमत देखियो ।

वामपन्थीहरूलाई दिन नचाहने कांग्रेसीहरूले पनि विकल्पमा घण्टीलाई रोजेका छन् ।

कतिपयले पार्टीभित्र नेतृत्वसँगको असन्तुष्टि र आफूले टिकट नपाएको कारणले विकल्पको रूपमा घण्टीलाई भोट हालेका छन् । विचार, सिद्धान्त, नीति र राष्ट्रको लागि केही गर्नुपर्छ भन्ने आधारमा भन्दा पनि आक्रोश र असहमतिको रूपमा देखा परेको छ । तर, जसरी प्रकट भए पनि लोकतान्त्रिक सुन्दरताको रूपमा लिनुपर्छ ।

तपाईँले आक्रोशको परिणाम भन्नुभयो । यसले व्यवस्थामाथि नै प्रश्न उठाएको हो ?

व्यवस्थामा प्रश्न उठाउने शक्तिहरू अहिले मात्रै नभएर पहिलादेखि नै देखिएका छन् । परिवर्तन, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, संविधान र संघीयता मन नपराउने शक्तिहरूलाई यहाँ अवसर मिलेको छ । त्यस विषयमा हामीले राम्रोसँग समीक्षा गर्न आवश्यक छ ।

युवा पुस्ता जसले परिवर्तन चाहेको छ, त्यसैले नयाँ ढंगले नयाँ पुस्तालाई खोजेको पनि छ । त्यो भएकाले पनि अहिलेको मत प्रकट भएको हो । यो समग्र विषयमा सबै परिणाम आइसकेपछि हामीले एउटा ठोस प्रतिक्रिया दिन्छौँ ।

विशेषतः काठमाडौं उपत्यकासहित शहरी क्षेत्रमा माओवादीलाई जनताले स्वीर्कान सकेनन् । त्यसलाई कसरी लिनुहुन्छ ?

यहाँ सबै प्रकारका शक्तिका साथै बुद्धिजीवीहरू पनि छन् । माओवादीसँग चित्त बुझाउन नसक्ने र असहमत हुने ठूलो वर्ग छ । उसले यो परिवर्तनको बाहकलाई स्वीकार्न सकेको छैन । त्यसले केही प्रश्रय पाएको स्थिति हो । त्यही कारणले उपत्यकासहित शहरी क्षेत्रमा हामी पछि परेको बुझेका छौँ ।

माओवादीका केही पदाधिकारी पराजित भए भने केही फराकिलो मतान्तरले पछाडि छन् । त्यसले गर्दा गठबन्धन प्रभावकारी नभएको बुझाइ हो ?

गठबन्धनबारे हामीले निष्कर्ष निकाल्ने बेला भएको छैन । १६५ निर्वाचन क्षेत्रमध्ये केहीको मात्रै मत परिणाम आउँदैमा हामीले गठबन्धनबारे छलफल र विकल्प निकाल्नु हुँदैन ।

हाम्रो अधिकांश नेताहरू निर्वाचन क्षेत्रमै हुनुहुन्छ । उहाँहरू आएपछि र मत परिणाम आएपछि मात्रै गठबन्धन र आगामी समीकरणको विषयमा छलफल होला । केही सीटको मत परिणाम आउँदैमा हामी बैठकमा बस्नुको अर्थ हुँदैन ।

भनेपछि माओवादीले तत्काल गठबन्धनको विकल्प सोचेको छैन ?

अहिले हामीले गठबन्धनको विकल्पबारे कुरै गरेका छैनौँ । निर्वाचनको समीक्षा गरेर मात्रै सरकारमा सामेल हुने कि नहुने, कसरी अगाडि बढ्ने भन्ने विषयमा निर्णय हुन्छ । कतिपयले अब प्रतिपक्षमा बसेर माओवादीले संगठन र पार्टी निर्माणमा लाग्नुपर्छ भनेर पनि जोड गरिराख्नुभएको छ । त्यसैले पार्टी कसरी अगाडि बढ्ने भन्नेबारेमा पार्टीको बैठकमा छलफल र आत्मसमीक्षा गरेपछि मात्रै निष्कर्षमा पुग्छौँ ।

गठबन्धनकै सरकार बन्ने परिस्थिति रहेमा माओवादीले नेतृत्व दाबी गर्छ ?

परिणाम आएपछि मात्रै कसको कस्तो गठबन्धन बन्छ भन्ने कुरामा भर पर्छ । कांग्रेसको एकलौटी सरकार बन्ने परिस्थिति बन्न सक्ला । एमाले ठुलो पार्टी बनेर उसले सरकारको नेतृत्व गर्न सक्ला ।

त्यो बेलामा गठबन्धन गर्ने÷नगर्ने भन्ने कुरा हुन्छ । हामीले पहिला परिणाम हुेर्नुपर्छ । तर, सरकार निर्माणमा माओवादी नै निर्णायक शक्ति बन्ने देखेका छौँ । त्यसैले अहिले नै परिणामपछिको कस्तो समीकरण बन्छ भनेर अहिले भन्न सक्ने अवस्था छैन ।


प्रतिक्रिया

One thought on “‘सरकार गठनमा माओवादी नै निर्णायक बन्ने देखेका छौँ, गठबन्धनबारे समीक्षा गर्छौँ’

  1. अझै पनि निर्णायक भनेर दलाली र बिचौलिषा बन्दै लुटने सुर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर