गण्डकीमा गठबन्धन कांग्रेसलाई फलिफाप, माओवादीलाई अभिसाप – Nepal Press

गण्डकीमा गठबन्धन कांग्रेसलाई फलिफाप, माओवादीलाई अभिसाप

पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा २ बाट निर्वाचित भए । चितवन ३ बाट क्षेत्र सरेर सुरक्षित स्थान खोज्दै प्रचण्ड गोरखा आएका थिए । गोरखामा माओवादीको संगठन अरु क्षेत्रको दाँजोमा बलियो मानिन्छ । त्यसैमाथि उनलाई गोरखामा पूर्वप्रधानमन्त्री र त्यस क्षेत्रका प्रतिनिधि डाक्टर बाबुराम भट्टराईको पनि साथ थियो ।

सबै अंकगणित केलाएर नै प्रचण्ड गोरखा २ आएका थिए । स्थानीय तह निर्वाचन २०७९ को परिणामले पनि गोरखा २ प्रचण्डका लागि सुरक्षित देखाउँथ्यो । स्थानीय चुनावमा गोरखा २ मा पर्ने वडाका वडाध्यक्ष उठेका माओवादी उम्मेदवारले मात्रै २२ हजार ६४० मत पाएका थिए । नेपाली कांग्रेसका वडाध्यक्ष उम्मेदवारले २० हजार ८५१ र बाबुराम सम्मिलित जनता समाजवादी पार्टीका उम्मेदवारले ७ हजार १०९ मत पाएका थिए ।

नेकपा एमालेका उम्मेदवारहरुले भने मात्र ७ हजार ८४८ मत ल्याएका थिए । यस आँकडाले पनि गोरखामा प्रचण्ड सुरक्षित देखिन्थे । यही आँकडालाई आधार मान्ने हो भने प्रचण्डले गोरखा २ मा ५० हजार जति मत ल्याउनुपर्ने थियो । तर, प्रचण्डले अघिल्लो आँकडाभन्दा थोरै २६ हजार १०३ मतमात्रै पाए ।

यसको दुई अर्थ निकाल्न सकिन्छ । एक, गठबन्धनमा कांग्रेसको मत माओवादीलाई ट्रान्सफर भएन र कांग्रेसीले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई मत दिए । दुई, प्रचण्ड आफैंले माओवादीको मतलाई रक्षा गर्न सकेनन्, कांग्रेसलगायतको मतले जिते ।

राष्ट्रिय स्वतन्त्र पार्टीले गोरखामा पाएको मतले भने पहिलो अर्थलाई थप बल दिन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटीले गोरखा २ मा १२ हजार ६३७ मत पाएका छन् । एमाले उम्मेदवार अब्दुस मियाँले भने ७ हजार ३९३ मत पाए । जुन स्थानीय तह निर्वाचनमा एमाले वडाध्यक्षहरुले पाएको मत ७ हजार ८४८ मतभन्दा केहीमात्रै थोरै हो । गोरखा २ को मत परिणामले कांग्रेसको मत माओवादीलाई ट्रान्सफर नभएको स्पष्टै देखिन्छ ।

त्यहाँमात्रै नभई लमजुङको अन्तिम मत परिणामले पनि कांग्रेसको मत ट्रान्सफर नभएको दाबीलाई थप टेवा दिन्छ । गठबन्धनमा भागबन्डा गर्दा प्रतिनिधिसभा माओवादी र दुई प्रदेशसभा निर्वाचन क्षेत्र नेपाली कांग्रेसले पाएको थियो । माओवादी प्रतिनिधिसभा निर्वाचनमा हार्दा प्रदेशसभा निर्वाचनमा भने दुवै सीट कांग्रेसले जितेको छ ।

प्रदेशसभामा कांग्रेसले पाएको मतभन्दा माओवादी उम्मेदवार देव गुरुङले पाएको मत कम छ । दुईवटा प्रदेशसभा निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवारले ३८ हजार ६१ मत पाएका छन् । तर, देव गुरुङले ३१ हजार ७८१ मतमात्र पाए ।

माओवादीबाट बागलुङमा उम्मेदवार बनेका देवेन्द्र पौडेलले भने निर्वाचन जितेका छन् । सोही क्षेत्रका नेतासमेत भएको र राष्ट्रिय जनमोर्चाको मतले पौडेल निर्वाचित भए । बागलुङ राष्ट्रिय जनमोर्चाको पकड भएको क्षेत्र हो । माओवादीका अर्का उम्मेदवार कास्की ३ मा उठेका रामजीप्रसाद बराल ‘जीवन’ पराजित भए ।

माओवादीबाट उम्मेदवार बनेका नेताहरु भने कांग्रेसको मत नपाएरै हारेको देखिन्छन् । प्रदेशसभा निर्वाचन उठेका माओवादी नेतृ अमृता थापामगर, राजेन्द्र केशरी न्यौपाने, दुर्गादत्त भण्डारी, विश्वप्रकाश लामिछानेलगायतका नेताले चुनाव हारे । उनीहरु चुनाव हारेको क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले उल्लेख्य मत पाएको देखिन्छ ।

कांग्रेसलाई गठबन्धन फलिफाप

गठबन्धनमा माओवादीलाई मत ट्रान्सफर नहुँदा घाटा लाग्दा कांग्रेसलाई भने फलिफाप भएको छ । अघिल्लो पटक वाम गठबन्धन हुँदा गण्डकीका १८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा एकमात्र सीट जितेको कांग्रेसले अहिले १३ क्षेत्रको नतिजा आउँदा ८ सीट जितिसकेको छ ।

कांग्रेसले माओवादीकै आडमा २८ वर्षपछि तनहुँ २ मा निर्वाचन जित्न सक्यो । २०५१ सालको मध्यावधि निर्वाचनमा अमरराज कैनीले जितेयता कुनै पनि कांग्रेसी उम्मेदवारले तनहुँ २ मा निर्वाचन जित्न सकेका थिएनन् । तर, अहिले माओवादीकै आडमा कांग्रेसका शंकर भण्डारीले चुनाव जित्न सके ।

यस्तै म्याग्दीमा पनि २३ वर्षपछि नेपाली कांग्रेसले जित्न सक्यो । २०५६ सालको निर्वाचनमा कांग्रेसका नारायणसिंह पुनले जितेयता त्यहाँ कुनै पनि कांग्रेसी उम्मेदवारले जितेका थिएनन् । अहिले माओवादीसँगको गठबन्धनबाट नै कांग्रेसका खमबीर गर्बुजाले म्याग्दीमा प्रतिनिधिसभा निर्वाचन जितेका हुन् । खमबीर यस्ता पात्र हुन्, जसले यसअघिका दुई चुनावमा हार व्यहोरेका थिए ।

२०७४ सालमा वाम गठबन्धनका उम्मेदवार किसान श्रेष्ठसँग पराजित कांग्रेसकै वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले निर्वाचन जितेका छन् । अघिल्लो पटक ६ हजार बढीको मतान्तरले पराजित पौडेल अहिले एमालेका एकबहादुर रानालाई ६ हजार हाराहारीकै मतान्तरमा चुनाव हराउन सफल भए ।

प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा कांग्रेस अघि

हालसम्म छिनोफानो भएका प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस अघि छ । प्रतिनिधिसभामा १७ सीटको छिनोफानो हुँदा कांग्रेसका ८ उम्मेदवार विजयी भइसकेका छन् । कांग्रेसबाट रामचन्द्र पौडेल, शंकर भण्डारी, राजेन्द्र बजगाईं, शशांक कोइराला, खमबीर गर्बुजा, योगेश गौचन थकाली, टेकबहादुर गुरुङ र विष्णु कार्की निर्वाचित भएका हुन् ।

एमालेका ६ जना उम्मेदवारले चुनाव जितेका छन् । पृथ्वीसुब्बा गुरुङ, विद्या भट्टराई, पदम गिरी, मनबहादुर गुरुङ र दामोदर पौडेल बैरागी गण्डकीमा एमालेबाट निर्वाचित भएका हुन् । माओवादीका अध्यक्ष प्रचण्ड र सचिव देवेन्द्र पौडेल निर्वाचित हुँदा राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी निर्वाचित भएका छन् ।

प्रदेशसभामा पनि जितेको सीट संख्याका आधारमा अहिलेसम्म नेपाली कांग्रेस नै अघि छ । कांग्रेसले हालसम्म १६ सीट जितिसकेको छ । छिनोफानो लागेका ३४ सीटमध्ये कांग्रेसले १६, एमालेले १२, माओवादीले ४ र स्वतन्त्र तथा नेपाल समाजवादी पार्टीले १÷१ सीट जितेका छन् । अघिल्लो निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट कांग्रेसका ६ जनाले मात्रै चुनाव जितेका थिए ।

अब गण्डकीमा स्याङजा २ निर्वाचन क्षेत्रको मात्र छिनोफानो लाग्न बाँकी छ । यहाँ नेकपा एमालेले निर्वाचनमा बुथ कब्जा गरेर गठबन्धनले मृतक र विदेशिएका नाममा मत हालेको भन्दै पुनः मतदान गर्न माग गरेको छ । तर, अहिलेसम्म पुनः मतदान गर्ने कि मतगणना थाल्ने भन्ने निर्णय हुन सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर