उपेन्द्र यादवको चुनाव संश्लेषण : मलाई अभिमन्यूको भन्दा ठूलो चक्रब्यूहमा पारियो – Nepal Press
नेपाल टक

उपेन्द्र यादवको चुनाव संश्लेषण : मलाई अभिमन्यूको भन्दा ठूलो चक्रब्यूहमा पारियो

‘तराई विखण्डनको मुद्दालाई मधेसले अनुमोदन गरेको सन्देश दिन खोजिएको छ’

काठमाडौं । यसपालिको चुनावमा धेरै राजनीतिक पण्डितहरुको अंकगणित मिलिरहेको छैन । पत्याउँदै नपत्याएकाहरुले चुनाव जितेर माननीय पड्काए । जीत निश्चित ठानिएका थुप्रै ‘पिल्लर’हरु ढलेका छन् ।

काठमाडौंलगायतका शहरी क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको खहरे उर्लियो । थुप्रै चर्चित हस्तीहरुलाई यो खहरेले बगायो । उता मधेसमा पनि सीके राउतको जनमत पार्टीले भाइब्रेसन ल्यायो । रास्वपाकै दाँजोमा सफलता नपाए पनि यो पार्टी मधेसको नयाँ शक्तिका रुपमा उदाएको छ ।

जनमत पार्टीका अध्यक्ष सीके राउतले मधेसकै एक बलिया नेता उपेन्द्र यादवमाथि हासिल गरेको विशाल मतान्तरको जीत यो चुनावकै एउटा हाइलाइट हो । लामो समयदेखि मधेसमा वर्चश्व जमाएका, पटक-पटक मन्त्री र उपप्रधानमन्त्री बनेका, मधेसी जनतामाझ लोकप्रिय मानिएका यादवलाई विवादास्पद पृष्ठभूमिका राउतले लज्जास्पद हार चखाए ।

यादवमाथि सीके राउतको विजयलाई लिएर विभिन्न कोणबाट व्याख्या भइरहेको छ । धेरैले यसलाई मधेसका नाममा ठग्न पल्केका यादवलाई राउतले भ्रष्टाचारविरोधी एजेन्डाको बलमा पाखा लगाएको भनेर खुशी व्यक्त गरेका छन् । तर, सीके राउतजस्ता ‘विखण्डनकारी’ नेता जनअनुमोदित भएर देशको संसदमा प्रवेश पाउनुलाई खतरा र चिन्ताको विषय मान्नेहरु पनि छन् ।

सीके राउतले सरकारसँग सम्झौता गरेर विखण्डनकारी मुद्दा त्यागेको भन्दै राजनीतिको मूलधारमा प्रवेश गरेका थिए । उनले कारागारबासबाट जोगिन कागजी सम्झौता गरे पनि पूरै विश्वास गर्ने अवस्था अझै नभएको मधेसकै नेताहरु बताउँछन् । अब चुनाव जितेर संसदमा आइसकेपछि उनले पुरानो मुद्दालाई नयाँ ढंगले ब्युँताएर समस्या सिर्जना गर्न सक्ने उनीहरुको आशंका छ ।

मैले के देखें भने चुनावमा आन्तरिक र बाह्य दुवै खालका षड्यन्त्रहरु देखिए ।

राउतबाट पराजित जसपा अध्यक्ष यादव पनि यस्तै आशंकामा छन् । नेपाल प्रेससँगको कुराकानीमा उनले बाह्य शक्तिले सीके राउतलाई चुनाव जिताएर विखण्डनको एजेन्डालाई मधेसले अनुमोदन गरेको सन्देश दिन खोजिएको दाबी गरे । चुनाव परिणामलाई स्वीकार गरे पनि पनि सीके राउतको विजय स्वाभाविक रुपमा नभएको उनको तर्क छ ।

‘मलाई अभिमन्यूको चक्रब्यूहमा पारियो’, यादवले भने, ‘मेरो क्षेत्रमा कसरी यस्तो परिणाम आयो, सञ्चारमाध्यमहरुले पनि खोजीनीति गर्नुपर्छ ।’

प्रस्तुत छ, यादवसँग गरिएको संक्षिप्त टेलिफोन संवाद :

– चुनावमा जसपाले नराम्रो धक्का खाएको छ र तपाईं स्वयंले निराशाजनक हार व्यहोर्नुभयो । यो परिणामलाई कसरी हेर्नुहुन्छ ?

हेर्नुस्, जनताले दिएको जनादेशलाई आदर गर्नुपर्छ । तर, जुन जनमत आइराख्या छ, त्यसले राजनीतिक अस्थिरता निम्त्याउँछ । कसैको बहुमत पुग्ने अवस्था मैले देख्दिनँ । यसले फेरि मुलुकलाई संविधानसभाकालको जस्तो ६ महिने, १ वर्षे, २ वर्षे सरकारतिर डोर्‍याउने हो कि, अस्थिरता र द्वन्द्वतिर धकेल्ने हो कि भन्ने खतरा मैले देखेको छु ।

– तपाईं आफैंले जुन मतान्तरको हार व्यहोर्नुभयो । के तपाईंका लागि अपेक्षित थियो ?

अपेक्षित त पक्कै थिएन । तर, जनताले जे म्यान्डेट दिएका छन्, यसलाई सम्मान गर्नैपर्छ । मत हाल्ने जनतालाई मैले धन्यवाद दिनैपर्छ । यद्यपि, अहिले हेर्दा अभिमन्यूको चक्रब्यूहभन्दा ठूलो चक्रब्यूहमा मलाई पारिएको देखियो ।

– कस्तो चक्रब्यूह ? अलिक व्याख्या गरिदिनुस् न !

तपाईंहरुलाई सबै थाहा छ । थाहा नभए खोजतलास गर्नुस् । राजविराजमा १०/१५ दिन अगाडिदेखि कहाँ-कहाँँका मान्छे आएर बसेका थिए ? कहाँबाट तेस्रो विशाल अमाउन्टमा पैसा आयो ? कतिपय मिडियाले दिएका पनि छन् । किन यस्तो नतिजा आयो भन्ने विश्लेषण गर्ने जिम्मेवारी यहाँहरुमाथि छ । तर, मैले के देखें भने चुनावमा आन्तरिक र बाह्य दुवै खालका षड्यन्त्रहरु देखिए ।

चुनावमा पैसा फालाफालै थियो । दिनदिनै भोजभतेर गर्‍या छन्, मान्छेलाई किनबेच गरेका छन् । सबै आँखा अगाडि नै भएको थियो । तर, जेसुकै भए पनि जनताले दिएको म्यान्डेटलाई आत्मसात गरेर भविष्यतिर अगाडि बढ्ने हो ।

– तपाईंको निर्वाचन क्षेत्रमा यस्तो षड्यन्त्र भएको हो ?

त्यस्ता किसिमका गतिविधिहरु देखिन्थे । नभए त्यत्रो विशाल पैसा कहाँबाट आयो ?

– कुन पैसा ?

चुनावमा पैसा फालाफालै थियो । दिनदिनै भोजभतेर गर्‍या छन्, मान्छेलाई किनबेच गरेका छन् । सबै आँखा अगाडि नै भएको थियो । तर, जेसुकै भए पनि जनताले दिएको म्यान्डेटलाई आत्मसात गरेर भविष्यतिर अगाडि बढ्ने हो । चुनावी परिणामबारे यहाँहरुजस्तो बौद्धिक वर्गले राम्रो ढंगले विश्लेषण गर्नुपर्ने हुन्छ ।

– जसपाले थ्रेसहोल्ड कटाउनेमा कति आशावादी हुनुहुन्छ ?

म विश्वस्त नै छु । हामी थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बन्छौं ।

– तपाईंलाई चुनाव हराउने उम्मेदवार सीके राउतले विगतमा विखण्डनकारी अभियान सञ्चालन गर्नुभएको थियो । उहाँको चुनावी जीतले के सन्देश दिन्छ ?

अब उहाँले उठाएका कुरा स्थापित हुन्छन् । त्यही सन्देश दिन खोजिएको हो ।

– उहाँले सरकारसँग सम्झौता गरेर विखण्डनको एजेन्डा त्याग्नुभएको थियो । के त्यसलाई फेरि ब्युँताउन सक्नुहुन्छ ?

त्यही नै हो । त्यसकै लागि तयार गरिएको हो । यो कुरा चाहिँ अब जनताबाट अनुमोदन भयो भन्ने रुपमा प्रस्तुत गरिन्छ । त्यस्तो एजेन्डालाई जनताले साथ दिएको भनेर पुष्टि गर्न यो चुनावको परिणामले बल पुर्‍याएको छ ।

– बाह्य शक्तिको हात हुनसक्छ यसमा ?

यसको विस्तृतमा यहाँहरुले खोजबिन गर्नुस् न । मैले अहिले त्यसरी प्रतिक्रिया दिँदा चुनाव हारेर यस्तो भन्यो भन्ने होला । तपाईंहरु आफैं खोज्नुस् । पत्ता लगाउनुस् ।

– तपाईंहरुले चुनावमा गर्नुभएको तालमेल प्रभावकारी नभएको हो ?

तालमेल त कहीं सफल र कहीं असफल, मिश्रित नै छ । तर, गज्जबको कुरा कहाँनेर छ भने पाँच दलको जुन गठबन्धन रह्यो, स्थानीय चुनावको मत हेर्ने हो भने यस गठबन्धनको पक्षमा त ३८ हजार मत थियो नि ! तर, गठबन्धनका उम्मेदवार जयप्रकाश ठाकुरले ७-८ हजार मतमात्र ल्याए । गठबन्धनको बाँकी तीस हजार मत कहाँ गायब भयो ? कांग्रेस, माओवादी र लोसपाका ३८ हजार मत कहाँ पुगे ? दुई-चार हजार तलमाथि पर्ला । तर, ३०-३० हजार मत कहाँ गयो ? कसरी गायब भयो ? यो पनि रहस्यमय कुरा छ नि !

मधेस कहिले पनि साम्प्रदायिक भएन । साम्प्रदायिक थियो भने मधेसबाट कहिले पनि बीपी कोइराला, मातृका कोइराला, हेमबहादुर मल्लसम्मले चुनाव जित्दैनथे । अहिले पनि धेरै पहाडी समुदायका व्यक्तिहरुले मधेसको मूल घरबाट चुनाव जितेर आएका छन् ।

– गठबन्धनले पनि सीके राउतलाई सघाएको तपाईंको आशंका हो ?

कसरी हाले त ? गठबन्धनको निर्णय त जयप्रकाश ठाकुरलाई नै हाल्ने थियो । अर्काेलाई कसरी हाले ? त्यसको पनि विश्लेषण हुनु जरुरी छ । तर, जे होस् मलाई कुनै गम छैन । यो राजनीतिक प्रोसेस हो चलिरहन्छ । मलाई कुनै दुःख छैन ।

– चुनावी नतिजापछि फेरि मधेसी दलहरुबीच एकता वा सहकार्यको वातावरण बन्ला ?

अब खोइ, भ्यागुताको धार्नी भर्ने दिन कहिले आउने हो ।

– जनमत पार्टीसँग त तपाईंहरुको सहकार्य नहोला नि ?

तत्काल त के आवश्यकता छ र ! भविष्यमा हेरौं कता जान्छ । तर, हामी मुलुकको सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई कायम राखेर आफ्नो अधिकार खोज्छौं । यो हाम्रो मूल लाइन हो । यसमा कम्प्रोमाइज कसैसँग कहिले पनि कहीं पनि हुँदैन ।

– अहिलेको परिणामले मधेसमा नयाँ अस्थिरताको जन्म हुनसक्ने वा बाह्य चलखेल बढ्न सक्ने देख्नुहुन्छ ?

पहिलो कुरा त के हो भने मधेसले कहिले पनि विखण्डनवाद स्वीकार गरेन । मधेस कहिले पनि साम्प्रदायिक भएन । साम्प्रदायिक थियो भने मधेसबाट कहिले पनि बीपी कोइराला, मातृका कोइराला, हेमबहादुर मल्लसम्मले चुनाव जित्दैनथे । अहिले पनि धेरै पहाडी समुदायका व्यक्तिहरुले मधेसको मूल घरबाट चुनाव जितेर आएका छन् । यहाँ सामाजिक सहिष्णुता दह्रो छ ।

तर के हो भने धार्मिक र जातीय सहिष्णुतालाई बिगार्ने प्रयत्न भविष्यमा भयो भने त्यो चाहिँ खतरनाक हुन्छ भन्ने हामीलाई लाग्छ । त्यो हुन दिनु हुँदैन । सामाजिक र धार्मिक सहिष्णुतालाई कायम राख्दै मधेसको विकास र त्यहाँका जनताको आवश्यकताको परिपूर्ति गर्दै अगाडि बढ्नुपर्छ ।

सबै उपेक्षित समुदायलाई समानताको अधिकार दिलाउने हाम्रो मिसन हो । त्यो मिसनलाई यो चुनावले कुनै फरक पार्दैन ।

– अब केन्द्रको राजनीतिमा मधेसको हस्तक्षेप वा प्रभाव कमजोर होला ?

हस्तक्षेपकारी भूमिका मधेसको अब नाममात्रको रहन्छ । सडकको भूमिका चाहिँ दह्रो भएर जान सक्छ ।

– भन्नाले मधेस आन्दोलित बन्नसक्छ ?

सडकको भूमिका भनेको वैचारिक संघर्ष हो । हामीले जुन मुद्दा उठाएका छौं शोषित पीडित जनताको अधिकार प्राप्तिको, त्यहाँ मधेसी, जनजाति, दलित, थारु, मुस्लिम सबै छन् । सबै उपेक्षित समुदायलाई समानताको अधिकार दिलाउने हाम्रो मिसन हो । त्यो मिसनलाई यो चुनावले कुनै फरक पार्दैन ।

– पार्टीले निराशाजनक नतिजा ल्याइरहेको र आफूले पनि चुनाव हार्नुभएको अवस्थामा तपाईंलाई पार्टीको नेतृत्व छोड्ने नैतिक दबाब महसुस भएको छ कि छैन ?

त्यस्तो छैन । तर, कोही तयार भएर आए भने छोडिदिने, के भो र ! गर्ने मान्छे आए भने अगाडि बढाइदिने ।

– आफैं राजीनामा चाहिँ दिने मनस्थितिमा हुनुहुन्न ?

त्यस्तो आवश्यक पर्दैन । तर, कोही चलाउँछु भनेर आए भने सघाउन तयार छु ।


प्रतिक्रिया

One thought on “उपेन्द्र यादवको चुनाव संश्लेषण : मलाई अभिमन्यूको भन्दा ठूलो चक्रब्यूहमा पारियो

  1. तिमी जित्नै पर्ने मान्छे त हाेइन । तर, विखण्डनवादी जित्नु र एण्टी ईण्डियन छविका तिमी हार्नुमा चिन्तित चाहिँ हुन जरूरी छ । तिमीलाई सिके भन्दा अर्कै राम्रा नेताले जित्नुपर्थ्याे ।

Leave a Reply to रञ्जन अधिकारी Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर