नेकपा एसलाई प्रत्यक्षमा गठबन्धनबाट फाइदा, समानुपातिकमा राष्ट्रिय पार्टी नबन्ने खतरा ! – Nepal Press

नेकपा एसलाई प्रत्यक्षमा गठबन्धनबाट फाइदा, समानुपातिकमा राष्ट्रिय पार्टी नबन्ने खतरा !

काठमाडौं । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीलाई सत्ता गठबन्धनबाट लाभ मिलेको छ । एमालेबाट अलग भएको एक वर्षमै चुनावमा होमिएको नेकपा एसलाई गठबन्धनबाट प्रत्यक्ष लाभ मिलेको हो ।

नेकपा एस कांग्रेस नेतृत्वको माओवादी केन्द्र, लोसपा र राष्ट्रिय जनमोर्चा सम्मिलित गठबन्धनमा छ । प्रतिनिधिसभातर्फ प्रत्यक्षमा १६५ सीटमध्ये नेकपा एसले २० सीट पाएको थियो । तर, रुपन्देही २ मा उम्मेदवार बनाएको राजु गुरुङको उम्मेदवारी खारेज गरेपछि १९ सीटमा झरेको थियो ।

एक्लाएक्लै निर्वाचनमा जाँदा रौतहट १ मा पार्टी अध्यक्ष माधवकुमार नेपालबाहेक अन्त जित्न नसक्ने अवस्था थियो । तर, गठबन्धनको आडमा चुनावमा होमिँदा एसले प्रत्यक्षमा १० सीटमा जीत हासिल गरेको छ ।

अछाम १ मा शेरबहादुर कुँवरले एमालेका झपट बोहोरा, बारा ४ कृष्णकुमार श्रेष्ठले एमालेका एकवाल मियाँ र दैलेख १ मा अमरबहादुर थापाले एमालेकै रवीन्द्रराज शर्मालाई हराएका छन् ।

यस्तै सल्यानमा प्रकाश ज्वाला स्वतन्त्र राजेन्द्रबहादुर शाहलाई हराएर विजयी बने । त्यहाँ एमालेका राजेन्द्रवीर राय तेस्रोमा सीमित रहे ।

डोटीमा प्रेमबहादुर आलेले एमालेकी गौरीकुमारी ओली, बझाङमा भानुभक्त जोशीले एमालेका एेनबहादुर महर, रौतहट १ मा अध्यक्ष नेपालले एमालेका अजयकुमार गुप्तालाई हराए ।

डोल्पामा धनबहादुर बुढाले एमालेकै गणेशबहादुर शाही, धादिङ १ मा राजेन्द्र पाण्डेले भूमिप्रसाद त्रिपाठी र दाङ १ मा मेटमणि चौधरीले पनि एमालेकै शान्ता चौधरीलाई हराए ।

१९ सीटमा उम्मेदवारी दिँदा १० सीट जित्दासमेत अध्यक्ष नेपाल निर्वाचन परिणामदेखि सन्तुष्ट छैनन् । उनले बिहीबार रौतहट १ मा निर्वाचित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै निर्वाचनबाट आफूहरुले सोचेजस्तो नतिजा ल्याउन नसकेको बताएका थिए ।

उनले भनेका थिए, ‘नतिजा सोचेजस्तो भएन, कमजोरी सुधार्दै अघि बढ्छौं । निर्वाचनका नतिजाले शिक्षा दिएको छ । आगामी दिनमा निर्वाचनको परिणामको मूल्याङ्कन गर्दै भएका कमिकमजोरी सुधार गरी अघि बढ्छौं ।’

निर्वाचनको परिणामले अब कसको सरकार बन्छ भनेर भन्न नसक्ने अवस्था रहेको उनले टिप्पणी गरे । तर, अधिकांश नेताहरुले आगामी सरकार पनि गठबन्धनकै बन्ने दाबी गर्दै आइरहेका छन् ।

यी भए पराजित भए

नेकपा एसका १० उम्मेदवारले जित्दा सम्मानित नेता झलनाथ खनाललाई चुनाव जित्न हम्मेहम्मे परेको छ । पछिल्लो मत परिणामअनुसार इलाम १ मा एमालेका महेश बस्नेतले १२ हजार २७५ मत ल्याएर अग्रता कायमै राख्दा नेता खनालले १० हजार ६३३ मत ल्याएर पछ्याइरहेका छन् ।

पार्टीका वरिष्ठ नेता सोमप्रसाद पाण्डे पाल्पा २ मा पराजित भएका छन् । पाण्डेले एमाले छाडेपछि पहिलोपटक अवसर पाएका ठाकुर गैरेसँग उनी पराजित भएका हुन् । मकवानपुर २ विरोध खतिवडालाई एमालेकै महेशकुमार बर्तौलाले हराए । काठमाडौं ८ मा जीवनराम श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीका विराज भक्त श्रेष्ठले हराउँदा उदयपुर २ मा जगन्नाथ खतिवडा एमालेका अम्वरबहादुर रायमाझीसँग पराजित भए ।

कास्की २ मा श्रीनाथ बराललाई एमालेकी विद्या भटटराईले हराइन् । त्यहाँ गठबन्धनबाट उम्मेदवार बनेका बराल तेस्रोमा सीमित रहे ।

ललितपुर २ मा कृष्णलाल महर्जनलाई एमालेका प्रेमबहादुर महर्जनले, गुल्मी २ मा रामकुमारी झाँक्रीलाई एमालेकै गोकर्ण विष्टले, सिराहा ४ मा धर्मनाथप्रसाद साहलाई जनता समाजवादी पार्टीका वीरेन्द्रप्रसाद महतोले हराए ।

धनुषा २ मा मित्रवत प्रतिस्पर्धा गरेका रामचन्द्र झालाई कांग्रेसका रामकृष्ण यादवले फराकिलो मतान्तरले हराए ।

समानुपातिकमा कन्तबिजोक

प्रत्यक्षतर्फ १० सीट जितेको नेकपा एसको समानुपातिकतर्फ कन्तबिजोक भएको छ । समानुपातिकतर्फ नेकपा एस ९ नम्बरमा छ। पछिल्लो मत परिणामअनुसार एमालेले १० लाख ४८ हजार ४५७ मत पाएको छ । दोस्रोमा रहेको नेपाली कांग्रेसले १० लाख ३ हजार ४४३ मत पाएको छ ।

तेस्रोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले चार लाख ९३ हजार २३३ मत मत ल्याएको छ । माओवादी केन्द्रले चार लाख ६३ हजार ९४१ मत ल्याएको छ ।

राप्रपाले दुई लाख ६५ हजार ७६०, जसपाले एक लाख ३० हजार ५७९, जनमत पार्टीले ७८ हजार ६१४ र नागरिक उन्मुक्ति पार्टीले ७८ हजार ५४७ ल्याउँदा नेकपा एसको ७४ हजार ७०४ पुगेको छ ।

प्रत्यक्षमा १० सीट जिते पनि नेकपा एस राष्ट्रिय दल बन्ने सम्भावना कमजोर बनेको छ । प्रत्यक्षतर्फ कम्तिमा एक सीट जितेर समानुपातिकतर्फ खसेको मतको तीन प्रतिशत कटाएपछि मात्रै राष्ट्रिय दल बन पाउने कानूनी व्यवस्था छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर