सुदूरपश्चिमका १५ सीटको नतिजामा संघ र प्रदेश दुवैमा कांग्रेस पहिलो, माओवादी संघमा शून्य – Nepal Press

सुदूरपश्चिमका १५ सीटको नतिजामा संघ र प्रदेश दुवैमा कांग्रेस पहिलो, माओवादी संघमा शून्य

कैलाली । सुदूरपश्चिम प्रदेशका १६ प्रतिनिधिसभा क्षेत्रमध्ये १५ वटाको मत परिणाम आइसकेको छ । बाजुरामा मतगणना अनिश्चित छ । अन्य सबै जिल्लाका निर्वाचन क्षेत्रमा मतगणना भइसकेको हो ।

मत गणना सम्पन्न भएका क्षेत्रमध्ये ७ क्षेत्रमा कांग्रेस विजयी भएको छ । सत्तागठबन्धनमा कांग्रेसलाई ९ क्षेत्र भाग परेको थियो । एक क्षेत्रमा पराजय भोगेको छ । बाँकी एक क्षेत्रमा मत गणना हुन सकेको छैन ।

कांग्रेसबाट कैलाली ४ मा वीरबहादुर बलायर, ५ डिल्लीराज पन्त, कञ्चनपुर २ मा एनपी साउद र ३ मा रमेश लेखक विजयी भएका छन् । डडेल्धुरामा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा,अछाम २ मा पुष्प शाह र दार्चुलामा दिलेन्द्र बडू निर्वाचित भइसकेका छन् ।

यहाँ नेकपा एकीकृत समाजवादीलाई तीन क्षेत्र भागमा परेको थियो । तीनै क्षेत्रमा नेकपा एस विजयी भएको छ । डोटीमा प्रेम आले, अछाम १ मा शेरबहादुर कुँवर र बझाङमा भानुभक्त जोशी विजयी भएका छन् ।

नागरिक उन्मुक्तिबाट कैलाली १ मा रन्जिता श्रेष्ठ र ३ मा गङ्गा चौधरी निर्वाचित भएका छन् । २ मा नागरिक उन्मुक्तिका अरुण चौधरी भारी मतसहित अग्रता बनाइरहेका छन् । उनको जीत करिब निश्चित छ ।

सुदूरपश्चिमका १५ स्थानमा उम्मेदवार खडा गरेको एमालेले प्रतिनिधिसभा तर्फ २ स्थानमा मात्र जीत निकाल्न सक्यो । एमालेबाट कञ्चनपुर १ मा तारा लामा तामाङ र बैतडीमा दामोदर भण्डारी निर्वाचित भएका छन् ।

बाजुरामा एमालेका कर्ण थापा र कांग्रेसका बद्री पाण्डे निर्वाचनमा छन् । थापाले जिते एमालेको संख्या प्रदेशमा ३ पुग्ने छ भने पाण्डेले जिते कांग्रेसको संख्या ८ पुग्नेछ ।

प्रदेशमा को अगाडि ?

सुदूरपश्चिमका ३२ प्रदेशसभा सीटमध्ये एमालेले ३० स्थानमा उम्मेदवार खडा गरेको थियो । कैलाली र कञ्चनपुरको एक÷एक क्षेत्र खाली राखेर ३० स्थानमा दिएको उम्मेदवारीमध्ये एमालेले कैलाली ५ (१) बाहेक ३ क्षेत्रमात्रै जितेको छ । यहाँ एमालेका उम्मेदवारले अग्रता बनाइरहेका छन् । त्यसबाहेक एमालेले डोटी, बैतडी र कञ्चनपुरको एक एक क्षेत्र जितेको हो । डोटीमा एमालेका चक्र मल्ल, बैतडीमा सुरेन्द्र पाल र कञ्चनपुरमा वीरबहादुर थापा पाताल विजयी भएका छन् ।

सत्ता गठबन्धनमा माओवादी केन्द्रले प्रतिनिधिसभातर्फ एक क्षेत्र पनि जित्न सकेन । तर, उसले प्रदेशसभामा ८ सीट जितिसकेको छ । प्रदेशसभामा सत्ता गठबन्धनमा माओवादीलाई १२ क्षेत्र भाग लागेको थियो ।

कैलालीबाट रमेश धामी, डडेल्धुरामा खगराज भट्ट, कञ्चनपुरमा ओमविक्रम भाट, बझाङमा भीमबहादुर भण्डारी, डोटीमा शिवसिंह ओली, अछाममा झपटबहादुर साउद र अक्कल रावल, दार्चुलामा मानबहादुर धामी विजयी भएका छन् ।

सत्ता गठबन्धनमा कांग्रेसलाई १८ क्षेत्र भाग लागेको थियो । कांग्रेसले प्रदेशमा ११ क्षेत्रमा जीत हासिल गरेको छ । कैलालीमा कमल शाह, प्रकाश बम, प्रकाश देउवा विजयी हुँदा कञ्चनपुरमा बेलबहादुर राना मगर, बहादुरसिंह थापा, देवानसिंह विष्ट विजयी भएका छन् ।

दार्चुलामा विक्रम धामी, बझाङमा पृथ्वीबहादुर सिंह, बैतडीमा शिवराज भट्ट र अछाममा मेघराज खड्का र मानबहादुर रावल विजयी भएका छन् ।

सत्ता गठबन्धनमा नेकपा एकीकृत समाजवादीलाई प्रदेशमा २ क्षेत्र भाग लागेको थियो । गठबन्धनमा भाग परेकोमध्ये कैलाली ४ (१) मा दीर्घ सोडारी विजयी हुँदा ३ (२) मा अमर साउद पराजित भए । कञ्चनपुर ३ (१) मा प्रकाश रावल मित्रवत प्रतिस्पर्धामा विजयी भए ।

सुदूरपश्चिममा नागरिक उन्मुक्तिले ५, नेकपा एकीकृत समाजवादीले २ र स्वतन्त्र एक उम्मेदवार पनि विजयी भएका छन् । नागरिक उन्मुक्तिका पाँचै जना कैलालीबाट विजयी भएका हुन् । नागरिक उन्मुक्तिबाट घनश्याम चौधरी, खुसीराम थारु, लक्ष्मणकिशोर चौधरी, कैलाश चौधरी र रामेश्वर चौधरी विजयी भए ।

यस प्रदेशमा स्वतन्त्र उम्मेदवार ताराप्रसाद जोशी पनि विजयी भएका छन् । डडेल्धुरा प्रदेशसभा २ नेकपा एसलाई भाग नदिएपछि उनले सत्ता गठबन्धनविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर