अन्तर्घातको चोटलाई भोटमा बदल्दै लयमा फर्कियो कास्की एमाले, तीनै सीटमा शानदार जित – Nepal Press

अन्तर्घातको चोटलाई भोटमा बदल्दै लयमा फर्कियो कास्की एमाले, तीनै सीटमा शानदार जित

पोखरा । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पोखरा महानगरपालिकामा एमाले उम्मेदवार कृष्ण थापा पराजित बने । चुनावी सरगर्मीका बीच एक अडिओ क्लिप भाइरल भएको थियो । फोनकल रेकर्ड गरिएको उक्त क्लिपमा एकजना एमाले कार्यकर्ताले कृष्ण थापालाई हराउन ‘डिल’ गरेको सुनिन्थ्यो ।

पछि पोखरामा फेरि चर्चा चल्यो- एमालेका पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारीको टक्करले कृष्ण थापा हारे । पीएसको रोजाइका दीपक पौडेलले टिकट नपाएपछि खगराजनिकटका कृष्ण हराइए भनेर गुरुङविरुद्ध नाराबाजीसमेत भयो । यो विषयमा छानबिन गर्न एमाले नेतृत्वसँग प्ररस्तावसमेत राखियो ।

हराइएको भनिएका खगराजनिकट कृष्ण थापाको हारलाई खगराज भने आजसम्म अन्तर्घात भएको मान्दैनन् । गठबन्धन भएका बेला पूर्वएमाले नेता धनराज आचार्य उठेपछि आफूहरू हारेको उनको बुझाइ छ । पृथ्वीसुब्बासँगको टक्करले आफ्ना उम्मेदवार हारे भनेर दुईजनाबीच फाटो ल्याउँ हौवा फिँजाइएको उनी बताउँछन् । पृथ्वीसुब्बा पनि खगराजसँग आफूले कटुता साँध्नुपर्ने कुनै आधार नै नरहेको बताउँदै आएका छन् ।

पोखरा महानगरका मेयरमा पराजित कृष्ण थापा पनि यसबारे खुल्न चाहँदैनन् । मेयर बन्न प्रदेशसभा सदस्यबाट राजीनामा गरेका थापा अहिले भने कास्कीमा एमालेका उम्मेदवार जिताउने अभियानमा थिए ।

नेपाल प्रेससँग थापाले भने, ‘मलाई अन्तर्घातले हराइयो भन्ने चर्चा चलाएका हुन् । त्यसलाई बिर्सिनुपर्छ, गौरवशाली तरिकाले ३ सीट नै प्रतिनिधिसभामा जितायौं । यो सबै विवेक नभएकाले गर्ने तर्कमात्र हो ।’

महानगरमा पराजित हुँदाको चोट खेपेको एमाले प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावबाट लयमा फर्किएको छ । एमालेले प्रतिनिधिसभा निर्वाचनमा कास्कीका ३ वटै सीट निकालेको छ । कास्की १ बाट एमाले जिल्ला अध्यक्ष मनबहादुर गुरुङ, २ बाट विद्या भट्टराई र ३ बाट दामोदर पौडेल ‘बैरागी’ निर्वाचित भएका छन् ।

कास्की १ मा एमाले जिल्ला अध्यक्ष र कांग्रेस जिल्ला सभापति किशोरदत्त बरालको भिडन्त थियो । गुरुङले बराललाई २ हजारबढी मतले हराए । कास्की २ मा एमालेकी विद्या भट्टराईले नेकपा एसकाश्रीनाथ बराल र ३ मा दामोदर पौडेलले गण्डकीका अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’ लाई पराजित गरे ।

६ प्रदेशसभामध्ये ४ सीटमा एमालेका उम्मेदवारहरू गणेशमान गुरुङ, खगराज अधिकारी, वेदबहादुर गुरुङ ‘श्याम’ र भीमबहादुर कार्की निर्वाचित भए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर