बधाई संवादलाई कांग्रेससँग प्रधानमन्त्रीको बार्गेनिङ अस्त्र बनाउन खोजेको एमालेको आशंका – Nepal Press

बधाई संवादलाई कांग्रेससँग प्रधानमन्त्रीको बार्गेनिङ अस्त्र बनाउन खोजेको एमालेको आशंका

काठमाडौं । नेकपा एमालेले माओवादी अध्यक्ष प्रचण्डको सचिवालयले एमाले अध्यक्ष ओलीले सहकार्यको प्रस्ताव राखेको भनेर गठबन्धनमा बार्गेनिङको अस्त्र प्रयोग गरेको आरोप लगाएको छ ।

ओलीले चुनाव जितेकोमा प्रचण्ड र शेरबहादुर देउवालाई बधाई दिन औपचारिक टेलिफोन गरेबाहेक कुनै छलछाम नरहेको एमालेले जनाएको छ ।

माओवादी अध्यक्ष प्रचण्डलाई ओलीले सहकार्यको प्रस्ताव राखेको भनी एकपक्षीय ‘न्यारेटिभ’ स्थापित गर्न खोजिएको ओली निकट स्रोतले जनाएको छ । तत्काल माओवादीसँग कुनै पनि सहकार्यको सम्भावना नरहेको समेत एमालेको भनाइ छ ।

स्रोतले भन्यो- गठबन्धनको बहुमत आएको अवस्थामा प्रचण्डले प्रधानमन्त्रीको दाबी गर्ने र कांग्रेसले नदिए एमालेले दिन लाग्यो भन्ने भाष्य स्थापित गर्न खोजिएको हो । यसअघि पनि कांग्रेससँग सीट बाँडफाँटका बेला पनि यस्तै फण्डा सिर्जना गरेर बढीभन्दा बढी लिन खोजेको सबैले बुझेका छन् ।

एमाले उपमहासचिव विष्णु रिमालले नेताहरूले चुनाव जितेपछि एक अर्कालाई बधाई दिएको विषयलाई कतिपयले आफू अनुकूल मिडियाबाजी गरेको हुनसक्ने बताए ।

रिमालले भने- अध्यक्षज्यूले टेलिफोनबाट बधाई प्रचण्डजीलाई मात्र होइन शेरबहादुर देउवालाई पहिले नै दिनुभएको हो । देउवाजीलाई बधाई दिएको विषय मिडियाबाजी भएन । नेताहरूबिच बधाई साटासाट गर्ने कुरालाई राजनीतिकरण गर्नु जरुरी छैन ।

उनले चुनावको परिणाम नै आइ नसकेकाले एमालेले कुनै पनि निर्णय नलिएको समेत प्रष्ट पारे ।


प्रतिक्रिया

One thought on “बधाई संवादलाई कांग्रेससँग प्रधानमन्त्रीको बार्गेनिङ अस्त्र बनाउन खोजेको एमालेको आशंका

  1. प्रचण्डको प्रधानमन्त्री खाने महत्वकाँक्षालाई जनताको भोटले लात मारिदियो ।

Leave a Reply to ksp pyl Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर