जसपालाई सीट छाडेपछि बागी बनेर जितेका एमालेका योगी भन्छन्- पार्टीमा फर्किन जनताले भनेको मान्छु – Nepal Press

जसपालाई सीट छाडेपछि बागी बनेर जितेका एमालेका योगी भन्छन्- पार्टीमा फर्किन जनताले भनेको मान्छु

विराटनगर । विराटनगरसँग जोडिएको कटारीमा २५ वर्ष केही गर्ने जोशका साथ आए योगेन्द्र मण्डल । भरखर भरखर गैरसरकारी संस्थाको लहर चल्दै थियो । मण्डलले पनि जीवन विकास समाज नामक गैरसरकारी संस्था खोले ।

यही संस्थाले सानो सानो समूहमा बचत र ऋणको कारोबार गर्न थाल्यो । पछि मण्डलले जीवन विकास नामक लघुवित्त संस्था स्थापना गरे । मण्डल यी दुवै संस्थाको अध्यक्ष रहे ।

महिलाहरुको आर्थिक विकास र सशक्तिकरणमा उनले नेतृत्व गरेको संस्थाले काम मात्रै गरेन उनको संस्था पनि देश भरी फैलियो । जीवन विकास अहिले देशका अधिकांश जिल्लामा बचत तथा ऋणको कारोबार गर्ने गर्छ ।

यो संस्थाबाट तीन वर्ष अघि उनले अवकाश लिए । दुई वर्ष अघि उनी सक्रिय राजिनीतिमा आउने घोषणा गरे । घोषणा मात्रै गरेनन् करिब ५ हजारको संख्यासहित उनी एमाले प्रवेश गरे ।

मोरङको दक्षिणी क्षेत्रमा एमालेका प्रभाव नभएको अवस्थामा योगेन्द्र पार्टी प्रवेश गरेसँगै एमालेको माहोल बन्दै गयो । मण्डल आफैं पनि निर्वाचनमा उठ्ने तयारीमा लागेका थिए ।

एमाले अध्यक्ष केपी ओलीबाट पार्टी प्रवेश गरेका मण्डललाई टिकट दिने वचन दिइएको बताइने गरेको थियो । निर्वाचनमा उम्मेदवारका लागि उनको नाम सिफारिस भएसँगै एमालेबाट उनै उम्मेदवार बन्ने पक्का थियो । तर जसपासँग अन्तिम समयमा आएर तालमेलको कुरा भयो योगेन्द्रको टिकट एकाएक खोसियो ।

उनको ठाउँमा एमालेले जसपाका राजकुमार यादवलाई समर्थन गर्यो । पार्टीले टिकट नदिएपछि योगेन्द्र चुप लागेर बसेनन् । उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराए । उनलाई रोक्न एमाले गएन ।

अन्ततः पार्टीले टिकट नदिए पनि मण्डलले निर्वाचन जितेका छन् । उनले २१ हजार ८२० मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी माओवादीका शिवकुमार मण्डलले १७ हजार ४८६ मत पाए भने जसपाका उम्मेदवार राजकुमार यादवले १७ हजार ३९० मत पाएका छन् ।

‘राजनीतिक कुरा धेरै भएको छ । म राजनीतिक कुरा कम गर्छु र काम बढी गर्छु भन्दै जनतामा गएको हो । निर्वाचनमा उठिरहँदा मलाई विश्वास थियो मलाई जनताले जिताँउछ । जिताउनु भयो’, उनले भने । ‘नेपाली जनताले दल रोजे जस्तै आस्था राखे जस्तै मैले पनि एमालेमा आस्था राखेर हिँडेको हो । मलाई यो संविधानले दिएको अधिकार हो । मलाई टिकट दिएन भन्ने कुरा होइन । म उम्मेदवार भएँ । अहिले मेरो पार्टी नभएकाले कसले टिकट दियो दिएन भन्ने सरोकारको विषय नै भएन । म चुनाव लड्छु र म आवज उठाउँछु भन्ने थियो । विकास र परिवर्तनका लागि पार्टी चाहिन्छ भन्ने भएन लिडर चाहिन्छ । म लिडरसिपको लागि आएको हो ।’

अबको भूमिका के हुन्छ ? स्वतन्त्र रुपमा रहनुहुन्छ की राजनीतिक दलमा आवद्ध हुनुहुन्छ ? भन्ने नेपाल प्रेसको प्रश्नमा मण्डल भन्छन्, ‘मैले चुनावजमा विकास र परिवर्तनको मुद्दा उठाएको छु । यसका लागि योजनाहरु बनाएको छु । मेरो सोचमा र योजनामा जुन पार्टीले साहयोग गर्छ म त्यो पार्टीलाई सपोेर्ट गर्छु । यो होइन की म त्यो पार्टीमा प्रवेश गर्छु । त्यो कदापी होइन । यो राजनीतिक निर्णय हो । भोलि कुनै पनि राजीतिक निर्णय गर्दा मोरङ ५ का जनता मेरा शुभचिन्तक र अभियन्ताहरुको सल्लाह सुझावमा जे हुन्छ मेरो निर्णय त्यही हुन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर