रास्वपाका यी १० समानुपातिक उम्मेदवार, जो सांसद बन्ने लाइनमा अगाडि छन् – Nepal Press

रास्वपाका यी १० समानुपातिक उम्मेदवार, जो सांसद बन्ने लाइनमा अगाडि छन्

काठमाडौं । भर्खरै खुलेको राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी नतिजाले धेरैलाई अचम्मित पारिरहेको छ । निर्वाचनअघि ठूला दल र उम्मेदवारले जित सुनिश्चित जस्तै मानेका क्षेत्रमा रास्वपाका उम्मेदवारले सरप्राइज जित निकालेका छन् । राजधानी काठमाडौंमै प्रत्यक्ष चुनावमा ४ सिट जित्नु चानचुने सफलता होइन ।

अहिलेसम्मको अवस्था हेर्दा १६५ प्रत्यक्ष सिटमध्ये नेपाली कांग्रेस पहिलो पार्टी र नेकपा एमाले दोस्रो पार्टी बन्ने बलियो सम्भावना देखिन्छ । तेस्रो र चौंथोमा क्रमशः नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी आउन सक्छन् । प्रत्यक्षतर्फ खासै आशा नगरेको रास्वपाले ७ सिट जितिसकेको छ भने थप एक–दुई सिटको आशा राखेको छ ।

प्रत्यक्षतर्फ मोटामोटी रूपमा पार्टीहरूको सीट संख्याको हिसाबकिताब निस्किए पनि समानुपातिक सांसदको सिट संख्या भने यकिन भइसकेको छैन । ६१ प्रतिशत अर्थात् एक करोड नौ लाख हाराहारी मत खस्दै गर्दा अहिलेसम्म नेकपा एमालेले ६ लाख मत कटाएको छ भने कांग्रेस ६ लाखको नजिक रहेको छ । तेस्रो स्थानमा रहेको रास्वपाले ३ लाख मत कटाएको छ भने माओवादी ३ लाखको नजिक नजिक छ ।

११० समानुपातिक सिट दलहरूले ल्याउने लोकप्रिय मतको आधारमा निर्क्याैल हुने भएकाले पनि समानुपातिक मत अर्थपूर्ण हुनेछ । तर, कति पार्टीले थ्रेसहोल्ड कटाउँछन्, त्यसले पनि समानुपातिक सिट बाँडफाँडमा असर गर्नेछ । तीन प्रतिशत थ्रेसहोल्ड नकटाउने दलहरू समानुपातिक सिट बाँडफाँडमा समावेश नै नहुने भएकाले अहिले नै कुन दलले कति सिट पाउँछन् भनेर अहिल्यै भन्न सकिन्न ।

लामो विरासत बोकेका पुराना दलहरूसँगै पाँच महिनाअघि खोलिएको रास्वपाले समानुपातिकतर्फ निकै राम्रो मत बटुल्ने आँकलन गरिएको छ । अहिलेसम्म मत संख्यामा तेस्रो स्थानमा रहेर अगाडि बढिरहेको रास्वपाले ८ देखि १२ प्रतिशतसम्म मत ल्याउने प्रक्षेपण चुनाव लक्षित विभिन्न रिपोर्टहरूले देखाएका थिए । तर, ती रिपोर्टहरूभन्दा अघि बढेर रास्वपाले १५ प्रतिशतभन्दा बढी मत प्राप्त गरिरहेको छ ।

यदि अहिलेको अनुपातलाई रास्वपाले अन्तिम गणनासम्म कायम राख्न सक्यो भने १६/१७ सांसद पाउनेछ । त्यो भनेको सरकार गठन गर्न चाहिने १३८ सांसदका लागि निर्णायक संख्या हो । किनभने प्रत्यक्ष सहित जोड्दा रास्वपा २३/२४ सांसद सहित संसद् भवन छिर्नेछ ।

रास्वपाका केन्द्रीय सदस्य तथा प्रेस संयोजक गणेश कार्की भन्छन्, ‘यति नै सांसद हाम्रो पार्टीको हुनेछ भनेर यकिन गरिहाल्ने अवस्था बनिसकेको छैन । हामीले राम्रो मत खस्ने अपेक्षा गरेको ठाउँमा खासै राम्रो खसेन । हामीले अपेक्षा नै नगरेको ठाउँमा राम्रो मत खसेको छ ।’

अहिलेको चुनावी मत परिणामलाई विश्लेषण गर्दा रास्वपा संसद् भवनमा निर्णायक शक्तिको रूपमा रहने पक्का भइसकेको छ । साथै रास्वपाले प्राप्त गरेको समानुपातिक मतअनुसार कोको सांसद बन्नेछन् त ? हामीले विभिन्न क्लस्टर अनुसार सांसद बन्ने पक्का जस्तै भएका समानुपातिक तर्फका उम्मेदवारहरूको सूची निकालेका छौँ ।

दलहरूले ३३ प्रतिशत महिलाको संख्या पुर्‍याउनैपर्ने संवैधानिक प्रावधान छ । अहिलेसम्म डा. तोसिमा कार्की र सोविता गौतम गरी दुई महिला सांसद रास्वपाबाट निर्वाचित भएका छन् । यदि रास्वपाले अहिले पाइरहेको समानुपातिक मतको अनुपात गणनाको अन्त्यसम्म कायम रहेमा २३/२४ सांसदमध्येबाट आठ जना महिला पर्नेछन् । दुई जनाले प्रत्यक्षमा जितेकाले बाँकी ६ जना समानुपातिकतर्फबाट सांसद बनाएर कोटा पुर्‍याउनुपर्ने हुन्छ ।

रास्वपाको बन्दसूचीमा आदिवासी जनजातिबाट समाजसेवी इन्दिरा राना मगर पहिलो नम्बरमा छिन् । मगर लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गरिरहेकी छिन् । बन्दी सहायता नामक संस्थाको संस्थापक समेत रहेकी मगरले अभिभावक गुमाएका हजारौँ बालबालिकालाई सेवा दिइरहेकी छन् । उनी रास्वपाको समानुपातिक सूचिबाट सांसद बन्ने प्रबल सम्भावना देखिन्छ ।

दलित महिलाको पहिलो नम्बरमा समाजसेवी कल्पना रोका पहिलो नम्बरमा छिन् । खस–आर्य महिलाको सूचिमा चिकित्सक प्रा.डा. चन्दा कार्की पहिलो नम्बरमा छिन् । थारु महिला कोटा अन्तर्गत पहिलो नम्बरमा व्यवसायी सविना महतो छिन् । मधेसी महिलाको पहिलो नम्बरमा सामाजिक अभियान्ता लक्ष्मी तिवारी पहिलो नम्बरमा छिन् भने दोस्रो नम्बरमा समाजसेवी निशा मेहता छिन् ।

त्यस्तै खस–आर्य महिलाको सूचिमा तेस्रो दोस्रो नम्बरमा व्यवसायी निशा डाँगी छिन् । आदिवासी जनजातिको सूचिमा दोस्रो नम्बरमा परामर्शदाता सुमना श्रेष्ठ छिन् । दलित महिलाको दोस्रो नम्बरमा रुपा शंकर छिन् । मुस्लिम महिलाको सूचिमा पहिलो नम्बरमा सामिना मियाँ छिन् । अब रोका, कार्की, महतो, तिवारी, मेहता, डाँगी, श्रेष्ठ, शंकर र मियाँमध्येबाट ३३ प्रतिशत महिलाको कोटा रास्वपाले पुर्‍याउनुपर्नेछ ।

हरेक दलहरूले २८.७ प्रतिशत आदिवासी जनजातिको संख्या पुर्‍याउनै पर्ने व्यवस्था छ । यस हिसाबले सूचिमा आदिवासी जनजातिबाट पहिलो नम्बरमा डा. ढाकाकुमार श्रेष्ठ छन् । पेशाले चिकित्सक श्रेष्ठपछि दोस्रो नम्बरमा रहेका व्यवसायी मेघ बहादुर आलेको पनि पहिलो पटक संसद् भवन छिर्ने सम्भावना देखिएको छ । तेस्रो नम्बरमा भने उद्यमी विष्णुकुमार श्रेष्ठ रहेका छन् । यद्यपि ३३ प्रतिशत महिलाहरूको व्यवस्थापन रास्वपाले कसरी गर्छ, त्यसले ढाका, मेघ र विष्णुको संसद् भवनको यात्राको निर्क्याैल गर्नेछ ।

३१.२ प्रतिशत खस आर्य सूचिको पहिलो नम्बरमा पार्टी उपसभापति डोलप्रसाद अर्याल छन् । उनी पेशाले व्यवसायी हुन् । दोस्रो नम्बरमा रहेका सामाजिक अभियान्ता गणेश कार्की छन् । सूचिको तेस्रो नम्बरमा पूर्वसञ्चारकर्मी दीपकराज बोहरा छन् । महिलाको सूचीमा चिकित्सक प्राडा कार्की र डाँगी छन् । रास्वपाले महिलाको कोटाको व्यवस्थापन गरिसकेपछि पनि अर्याल र कार्कीको सम्भावना तुलनात्मक रूपमा अन्य उम्मेदवारको भन्दा बढी देखिन्छ ।

६.६ प्रतिशत थारु सूचिमा प्रमुख दाबेदार व्यवसायीद्धय सविना महतो र अरुण कुमार चौधरी छन् । त्यसपछि समाजसेवी पुष्पाकुमारी चौधरी र व्यवसायी प्रेमलाल चौधरी छन् । १३.८ प्रतिशतको सूचिमा लेखक तथा अभियान्ता सन्तोष परियार र समाजसेवी कल्पना रोका प्रमुख दाबेदार छन् भने सँगै शिव नेपाली र रुपा शंकरको पनि सम्भावना देखिएको छ ।

१५.३ प्रतिशत मधेसीको कोटा अन्तर्गत लेखक तथा राजनीतिक विश्लेषक मनिष झालक्ष्मी तिवारी प्रमुख दाबेदारको रूपमा रहेका छन् । यदि तिवारी महिलाको कोटा अन्तर्गत परेको खण्डमा झाको संसद् भवनको यात्रा पक्का जस्तै छ । साथै सामाजिक अभियान्ता इं तोपेश्वर यादव समाजसेवी निशा मेहताको सम्भावना पनि मरिसकेको छैन । अर्कातिर ४.४ प्रतिशत मुस्लिमको कोटामा निर्देशक असिम शाह र सामिना मियाँ प्रमुख दाबेदार छन् ।

तर, समानुपातिक सांसद कोके बन्नेछन् भनेर अहिले नै यकिनका साथ भन्न नसकिने रास्वपाका एक पदाधिकारीले बताए । अब हुने केन्द्रीय कमिटीको बैठकले पनि सांसद कोको बन्नेछन् भनेर टुंगो लगाउने ती पदाधिकारीको भनाइ छ । उनले भने, ‘अब छिट्टै केन्द्रीय कमिटीको बैठक बस्दैछौं । त्यसले पनि कोको सांसद बन्दैछन्, त्यसको निर्क्याैल गर्नेछ । तर मोटामोटी रूपमा भने संसद् बन्नेहरूको नामावली पक्का जस्तै भएको अवस्था छ ।’

यदि रास्वपाले अहिलेको समानुपातिक प्रतिशत कायम राखेको खण्डमा उल्लेखित उम्मेदवारमध्ये धेरै उम्मेदवारहरू संसद् भवन छिर्ने सम्भावना प्रबल देखिन्छ । तर रास्वपा सरकारमा सहभागी हुने वा नहुने विषय चाहिँ परिस्थितिले निर्क्याैल गर्ने केन्द्रीय सदस्य कार्कीले बताए ।

उनले भने, ‘सरकारमा जाने नजाने भन्दा पनि हाम्रो पोजिसन कहाँ रहँदा ठीक हुन्छ, त्यस अनुसार अगाडि बढ्छौँ । हामीले सार्वजनिक गरेको वाचापत्रमा सहमत भएर आउने जोसुकैसँग सहकार्य हुनसक्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर