चुनावमा पराजित महेश बस्नेत विजय र्‍यालीमा ! भन्छन्- जनताले १-२ महिनामै हामीलाई मिस गर्न सक्छन् (भिडिओ) – Nepal Press

चुनावमा पराजित महेश बस्नेत विजय र्‍यालीमा ! भन्छन्- जनताले १-२ महिनामै हामीलाई मिस गर्न सक्छन् (भिडिओ)

काठमाडौं । भक्तपुर-२ मा पराजयका बाबजुद एमालेका चर्चित नेता महेश बस्नेत आज ‘विजयर्‍याली’ मा सहभागी भए । पार्टीका प्रदेश उम्मेदवारको विजय मनाउन तथा आफूलाई मत हाल्ने मतदाताहरुलाई धन्यवाद दिन र्‍यालीमा सहभागी भएको उनले बताए ।

बस्नेत विजयी उम्मेदवारकै शैलीमा अविर माला लगाएर मतदातालाई अभिवादन गर्दै र्‍यालीमा हिँडेका थिए । समर्थकहरुले पनि उनको पक्षमा नाराबाजी गरे ।

र्‍यालीका क्रममा सञ्चारमाध्यमसँग कुरा गर्दै बस्नेतले हारलाई सहजरुपमा स्वीकारेको बताए । एमालेविरुद्ध ६-७ वटा पार्टी एकजुट भएर आएपछि प्रतिस्पर्धा कठीन भएको उनको भनाई छ । उनले विजयी उम्मेदवार दुर्लभ थापालाई शुभकामना दिए । एक-दुई महिनामा नै जनताले आफूहरुलाई मिस गर्ने परिस्थिति निर्माण नगर्न पनि उनले सुझाव दिए ।

चुनावी परिणामबारे महेशको भनाइ यस्तो थियो:

‘यसपालीको चुनावी परिणाम हामीले सोचेभन्दा केही फरक आयो । हामीभित्र रहेका कमिकमजोरी समीक्षा गर्ने नै छौं । पाँच दल मात्र नभएर ६-७ दल नै एकजुट भएर आएपछि हाम्रो केही लागेन । तर गठबन्धनले आफ्नो भोट जोगाउन सकेको छैन । यहाँ गठबन्धनको ३१ हजार भोट छ । उसले त्यति भोट ल्याएन ।

हामीले आफ्नो भोट जोगाएका छौं । हाम्रो पक्षमा परिणाम नआउनुका पछाडि अनेक खालका गडबडी हुन सक्छन् । तर चुनाव हार्नु सामान्य कुरा हो । हामी हार्न तयार तर हार नखाने मान्छे हौं । भोलि पनि जनताको सेवामा सँधै रहनेछौं । हामीले टोलटोलमा गरेको विकास-निर्माण हेरेर जनताले हामीलाई याद गर्नेछन् ।

म नवनिर्वाचित जनप्रतिनिधिलाई सफलताको कामना व्यक्त गर्छु । उहाँले चाहनुभयो भने हरेक कुरामा सहकार्य हुन सक्छ । तर, एक महिना, दुई महनादेखि नै हामीलाई मिस गर्न सक्छन् जनताले । त्यो वातावरण नबनाउनुस । यसपाली महेशले जित्यो भने २० वर्ष हामीलाई उठ्न दिँदैन भनेर सबै दल मिले भन्ने कुरा पनि सुनिएको छ ।

त्यसमा मलाई आपत्ति होइन । फलेको हाँगालाई नै सबैले ढुंगा हान्ने हो । जसले ठूलो हाइट बनायो त्यसमै सबैको आँखा पर्छ । तर कतिपय वुद्धिजीवी महेशले २० वर्ष होल्ड गर्छ भन्ने नाममा भक्तपुरलाई २० वर्ष पछि धकेल्ने काम भयो पनि भनिरहेका छन् ।

हामीले सुरु गरेका थुप्रै विकासका कामहरुलाई निरन्तरता दिन मेरो समकक्षी दुर्लभ थापालाई आग्रह गर्छु । हामी हार्दा पनि, जित्दा पनि जनतासँगै छौं भनेर धन्यवाद दिन यो र्‍याली गरिएको हो । कृष्णजी आफू नलडिकन विनास्वार्थ पाण्डवलाई जिताउन लागे । कर्णजी हारिन्छ भन्ने जान्दा पनि हारिने टिममा लागे । एमालेको सिंगो पंति त्यही ढंगले चुनावमा लाग्यो । हामी हारेका छौं, हार खाएका छैनौं । 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर