विरोधको निरन्तर जितयात्रामा उनकै चेलाको अवरोध – Nepal Press

विरोधको निरन्तर जितयात्रामा उनकै चेलाको अवरोध

हेटौँडा । नेपाली संसदीय राजनीतिका चर्चित नाम, मकवानपुरे राजनीतिका चतुर खेलाडीको उपमा पाएका नेकपा एकिकृत समाजवादीका स्थायी कमिटि सदस्य बिरोध खतिवडाको जितको इतिहासमा ब्रेक लागेको छ ।

बहुदल स्थापनापछि भएका चारवटा प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेबाट जित निकालेका खतिवडाको संसदीय राजनीतिमा ब्रेक लगाउने उम्मेदवार अरु कोही नभएर उनकै चेला हुन् ।

नेकपा एमालेबाट विभिाजित भएर निर्माण भएको नेकपा एकिकृत समाजवादीमा लागेर सत्ता गठवन्धनको तर्फबाट उम्मेदवार बनेका खतिवडालाई एमालेका युवा नेता तथा अनेरास्ववियुको केन्द्रीय उपाध्यक्ष छाडेर संसदीय राजनीतिमा पहिलो पटक प्रतिस्पर्धामा उत्रिएका महेशकुमार बर्तौलाले पराजित गरे ।

२०४८ को आम निर्वाचन, २०५१ को मध्यावधि निर्वाचन, २०५६ र २०७४ को प्रतिनिधिसभामा उम्मेदवार बनेर शतप्रतिशत जित दर्ता गरेका खतिवडाले उनकै शब्दमा भन्दा जीवनको अन्तिम चुनावमा भने पराजय बेहोर्नु पर्यो ।

खतिवडा समाजवादीमा प्रवेश गरेसँगै उनलाई ३१ वर्षसम्म मत दिएर विजयी बनाईदिएका एमालेका कट्टर कार्यकर्ताहरु खतिवडासँग रिसाएका थिए । एक थान मन्त्रीको लागि समाजवादीमा लागेको भन्दै उनीप्रति स्थानीय कार्यकर्ता रुष्ट बनेका थिए भने अर्कोथरी ‘न्यूटल’ भोटरको लागि एमालेका उम्मेदवार बर्तौला ‘फ्रेस’ तथा युवा ‘क्यान्डिडेट’ थिए । यी कारणहरु पनि खतिवडा हारको कारक बन्न पुग्यो ।

नेकपा एमालेका बागमती प्रदेश सह–सचिव समेत रहेका बर्तौला २०६० सालमा अनेरास्ववियुको अध्यक्ष हुँदै २०६२/०६३ आन्दोलनमा अग्रणी मोर्चामा रहे । दुई पटक जिल्लाकै सबैभन्दा ठुलो क्याम्पसको रुपमा रहेको मकवानपुर बहुमुखी क्याम्पसका स्ववियु सभापतिमा विजयी भएका उनले स्ववियु काउन्सिको अध्यक्ष भएर देशभरका स्ववियुको नेतृत्व समेत गरे ।

अनेरास्ववियुको केन्द्रीय उपाध्यक्षबाट बिदा भएर मुलधारको राजनीतिमा प्रवेश गरेको करिब १ वर्षको अन्तरालमा बर्तौलाले प्रतिनिधिसभामा अवसर पाए र सधै जितको मात्र इतिहास लेखेका र आफ्नै राजनीतिका गुरुलाई पराजित गरिदिए ।

पटक–पटक सांसद भएर पनि मकवानपुरको लागि उल्लेख्य योगदान गर्न नसकेको आरोपबीच पाँचौ पटक उम्मेदवार बनेका खतिवडाले यो पटक करिब २६ हजार मत बढि रहेको गठबन्धनबाट जित्ने सहज आंकलन गरेका थिए । तर यो पटक मकवानपुर–२ का मतदाताले खतिवडाको आंकलनलाई फेल बनाईदिए ।

बर्तौलाले निर्वाचन प्रचारको क्रममा ठूला–ठूला विषय भन्दा मकवानपुर–२ को जनताको सबालका कुराहरु धेरै उठाए । चेपाङ बाहुल्य क्षेत्रको विकास, तामाङ समुदायको विकास, त्यहाको धर्म, संकृतको विषयहरु उनले मसिनो ढंगबाट मतदातालाई बुझाए ।

पटक–पटक माननीय हुनेहरुले अहिलेसम्म विकास नगरेको पीडामा रहेका मकवानपुर–२ को नागरिकले यो पटक युवा उम्मेदवारलाई विश्वास गर्दा गठवन्धनले स्थानीय तहमा ल्याएको मतको आकलन अनुसारको विश्लेषण फेल खायो र बर्तौलाले खतिवडाको जितको इतिहासलाई ब्रेक लगाइदिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर