अमेरिकाको न्युयोर्क सहरका मेयर र नेपालका ६ नगर प्रमुखबिच ‘भर्चुअल’ अन्तरक्रिया – Nepal Press

अमेरिकाको न्युयोर्क सहरका मेयर र नेपालका ६ नगर प्रमुखबिच ‘भर्चुअल’ अन्तरक्रिया

काठमाडौं । अमेरिकाको न्युयोर्क सहरका मेयर र नेपालका ६ नगरपालिका नगर प्रमुखबीच आपसी सम्बन्ध र नेपालको विकासबारे भर्चुअल सम्वाद कार्यक्रम सम्पन्न भएको छ ।

बुधवार बिहान न्युयोर्कका मेयर एरिक एडम्स र नेपालका आधा दर्जन मेयरहरू बिच द्विपक्षिय हित र साझेदारीका विषयमा भर्चुअल संवाद कार्यक्रम सम्पन्न भएको हो ।

न्युयोर्कमा रहेका अगुवा नेपाली समुदायको प्रयासमा भएको द्विपक्षीय संवादबाट नेपालका नगरहरू र न्युयोर्क सहरसँग भगिनी सम्बन्ध, शैक्षिक र सांस्कृतिक आदान प्रदानका लागि बाटो खुलेको नेपाली समुदायका अगुवाहरूले बताएका छन् ।

न्युयोर्कका मेयर एडम्ससँगको भर्चुअल संवादमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डे, दोलखाको भीमेश्वर नगरपालिकाका मेयर ईश्वरनारायण मानन्धर, उदयपुरको त्रियुगा नगरपालिकाका मेयर वसन्त बस्नेत, सिराहाको धनगढीमाई नगरपालिकाका मेयर शिव शंकर महतो र लमजुङको सुन्दरबजार नगरका मेयर कृष्ण प्रसाद कोइराला सहभागी थिए ।

द्विपक्षीय भर्चुअल संवादमा न्युयोर्कका मेयर एडम्सले नेपालसँग अमेरिका र न्युयोर्क शहरको भावनात्मक सम्बन्ध रहेको बताए । उनले कोरोना महामारीको समयमा न्युयोर्कमा रहेका नेपाली समुदायका अगुवाहरूले महामारी नियन्त्रणमा गरेको योगदान र सहयोगको खुलेर प्रशंसा गरेका थिए ।

कार्यक्रमको गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेले सहजीकरण गरेका थिए । उनले नेपालका नगरहरू र न्युयोर्क बिच भगिनी सम्बन्ध स्थापना तथा दीर्घकालीन रूपमा एक आपसमा हुनसक्ने व्यापार, सामाजिक, शैक्षिक तथा सांस्कृतिक आदानप्रदान लगायतका परियोजनाहरूमा साझेदारीका लागि भर्चुअल माध्यमबाट छलफल प्रारम्भ भएको सुनाए ।

न्युयोर्क चेम्बर अफ कमर्सका अन्तर्राष्ट्रिय परिषद् अध्यक्ष अमित शाहको अध्यक्षतामा चलेको बैठकमा नेपालका नगर प्रमुखहरूले द्विपक्षीय सम्बन्ध र नेपाली नगरहरूको विकास बारे आ–आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा न्युयोर्क शहरको मेयर कार्यालयका डेपुटी कमिसनर आईसाता कामरा, अन्तर्राष्ट्रिय सम्बन्ध कमिसनर एडवार्ड मर्मेलस्टेन, मेयरको कार्यालयका अर्का डेपुटी कमिशनार दिलीप चौहानले नेपालका नगरहरू सँगको द्धिपक्षिय सम्बन्ध, र सहकार्य बारे धारणा राखेका थिए ।

गिरिजा प्रसाद कोइराला (जिपिके) फाउडेसन अमेरिकाका उपाध्यक्ष सुवर्ण लामाले नेपालका नगरहरू र न्युयोर्क शहर बिच भगिनी सम्बन्ध र द्विपक्षीय सहकार्यका लागि ढोका खुलेको प्रतिक्रिया दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *