‘मधेसका नाममा ठग्नेहरु जनताबाट तिरस्कृत भए, जातीय-क्षेत्रीय दल आवश्यक छैन’ – Nepal Press
नेपाल टक

‘मधेसका नाममा ठग्नेहरु जनताबाट तिरस्कृत भए, जातीय-क्षेत्रीय दल आवश्यक छैन’

पूर्वप्रदेश प्रमुख डा. राजेश अहिराज भन्छन् :  अब न गठबन्धन सुरक्षित रहन्छ न त तालमेल

 

काठमाडौं । निर्वाचनको मत परिणामले देखाएको प्रारम्भिक रुझानसँगै यसमाथि विभिन्न कोणबाट बहस र विश्लेषण हुन थालेका छन् । राष्ट्रिय राजनीतिमा रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले तरंग ल्याइरहँदा मधेसमा चाहिँ सीके राउतको चर्चा छ ।

के काठमाडौंलगायतका विभिन्न शहरमा रास्वपाको पक्षमा देखिएको लहर र मधेसमा सीके राउतको जनमत पार्टीप्रति आकर्षण उस्तै हो ? अहिलेको चुनावी परिणामले मधेसको राजनीतिलाई कता धकेल्ला ? अनि राष्ट्रिय राजनीति अब कुन दिशातर्फ जाला ?

मधेस मामलाका विज्ञ तथा पूर्वप्रदेश प्रमुख डा. राजेश अहिराजलाई हामीले यिनै प्रश्नहरु सोध्यौं । प्रस्तुत छ, उनीसँग भएको सवालजवाफः

– मधेसमा जनमत पार्टी र उन्मुक्ति पार्टीको उदयले के संकेत गर्छ ? के मधेसका परम्परागत पार्टीहरु कमजोर भएका हुन् ?

मधेसको नाममा खुलेका ती दलहरु मधेसमुखी नरहेको कारण जनतामा अलोकप्रिय हुँदै गएका थिए । केन्द्रमा आएर विचारको कुरा गर्ने र मधेसमा जातिवादी कुरा गर्ने कारणले मधेसमै कमजोर हुँदै गएका थिए तिनीहरु । सधैं पहिचानको र अधिकारको कुरा गरिरहने, ठूला दलको विरोध गरिरहने, तर जुन दलको विरोध गर्‍यो विजयी भएपछि सबै मत तिनै दललाई बुझाएर पालैपालो सरकारमा जाने । अनि मधेसले केही नपाउने ।

२०६२/६३ बाट मधेसले एउटा राम्रो बाटो पाएन । एउटा बूढानिलकण्ठजस्तो विद्यालय पाएन । एउटा धरानको जस्तो अस्पताल पाएन । समग्रमा मधेसले केही पाएन । अनि जनतामा एक खालको परिवर्तन चाहिन्छ भन्ने थियो । त्यसको प्रकट रुप नै अहिलेको नतिजा हो । मधेसमा पनि त्यही भयो । काठमाडौंमा पनि त्यही भयो । केन्द्रीय नेताहरुले मधेसको भावना नै बुझेनन् ।

राष्ट्रिय दलले रोल्पादेखि रौतहट, जनकपुरदेखि जुम्लाको मुद्दा बोकिदिनुपर्छ । ती दलको संरचनामा देश देखिनुपर्छ । आफूलाई राष्ट्रिय पार्टी भन्ने, राष्ट्रिय सोच नराख्ने अनि राष्ट्रिय मुद्दा पनि नबोक्ने कसरी हुन्छ ?

– मधेसभन्दा बाहिर घण्टीको लहर र मधेसमा जनमत पार्टीको लहर एउटै प्रवृत्ति हो ?

मधेसमा चाहिँँ एउटै प्रवृत्तिभन्दा पनि अलिकति फरक के देखियो भने कमिटमेन्ट गरेर पूरा नगरेका कारण असन्तुष्टि देखियो । यो चुनावमा पुराना दलका नेताहरुले जितिहाले पनि एकदमै झिनो मतान्तरले जित्छन् । महन्थ ठाकुरले जितिहालेमा एकदमै झिनो मतान्तर हुनेछ । राजेन्द्र महतोको पनि अवस्था उस्तै छ । त्यस्तो परिस्थिति निर्माण भइरहेको छ । मधेसी जनताले मधेसका नेताबाटै पटकपटक ठगी भएको अनुभूति गरे । ठूला दलले हामीलाई ठग्यो भनेर मधेस केन्द्रित दल खुले । तर, तिनै दलले ठग्न थालेपछि हामी आफ्नै नेताबाट ठगियौं भनेर यस्तो परिणाम आएको हो ।

विगतमा कृषिमन्त्री मात्रै मधेस केन्द्रित दलबाट आठजना भएका रहेछन् । स्वास्थ्यमन्त्री तीनजना भएका छन् । सञ्चारमन्त्री चारजना भएका छन् । मधेसी मूलकै मान्छे मन्त्री हुने, तर मधेसी जनताले केही नपाउने भएपछि यिनीहरु हुनु र नहुनुमा केही फरक देखिएन । जनता सचेत हुँदै गए । पटकपटक यिनीहरुबाट जनता ठगिएकाले परिवर्तन खोजेको हो ।

– सीके राउतको संसद प्रवेश करिब निश्चित देखिएको छ । यसलाई कस्तो रुपमा लिनुहुन्छ ? यो जोखिमको कुरा हो या खुशीको कुरा हो ?

म चाहिँ के भन्छु भने यस्ता बौद्धिकहरु, सीके राउत होऊन् वा स्वर्णिम वाग्ले होऊन्, बौद्धिक सम्पत्ति कुनै जात वा समुदायका लागि होइन, देशका लागि हुनुपर्छ । यी देशका सम्पत्ति हुन् । असन्तुष्टि व्यवस्थासँग होला । तर, देशसँग त होइन होला नि ! माटोले केही बिगारिदिएको छैन नि त !

– सीके राउत त विखण्डनको नारा बोकेर हिँडेका हुन् नि कुनै समय ?

अब पहिला के थियो भन्नुभन्दा पनि संविधान मानेर आइसकेपछि उनीसँग दुर्भावना राख्नु जरुरी छैन । उसको बौद्धिकता देशको हितमा प्रयोग हुनुपर्छ । उपेन्द्र यादव जस्तो पनि आउनुपर्छ । उनी पनि एक हदसम्म बौद्धिक नै हुन् । तर, उनको शैली चाहिँ राम्रो नभएका कारणले जनताबाट तिरस्कृत भए । जनता ठग्नु राजनीति होइन नि त ! जातीय राजनीति जुन थियो, त्यसले उहाँलाई कमजोर बनाइदियो । चारजना मन्त्री बनाइदिनु छ भने चारैजना यादव पठाउने । राष्ट्रियसभामा कसैलाई पठाउनु छ भने यादवै खोजेर पठाउने । अनि राजदूत पठाउनुपर्‍यो भने यादव नै खोज्ने । जातीय राजनीतिले उनी कमजोर भए । त्यही परिणति हो ।

हाम्रो जस्तो देशमा जातीय र क्षेत्रीय दल राम्रो होइन । त्यस्ता दलले नागरिकलाई दलसँग जोड्छन् । तर, देशसँग जोड्दैनन् । उनीहरुले उन्मादको राजनीति गर्छन् । सरकार बलियो बनाइदिन्छन् । तर, राज्य कमजोर हुन्छ । राज्यप्रतिको आशा घटाउँछ ।

– सीके राउत र उपेन्द्र यादवको बीचमा जुन विशाल मतान्तर छ, यो अपेक्षित थियो ?

अपेक्षित नै थियो । गत एक वर्षमा अहिलेको गठबन्धनमा गइसकेपछि मन्त्रीको चयन र प्रदेश २ मा भएका भ्रष्टाचारमाथि उपेन्द्रजीको मौनताले गर्दा स्वाभाविक रुपमा उनलाई असर गर्छ भन्ने मधेसलाई राम्रोसँग बुझेकाले अनुमान लगाइसकेका थिए । प्रदेश २ सरकारमा भ्रष्टाचारका ठूल्ठूला कुराहरु आए । तर, उनले पार्टीबाट कसैलाई कारबाही गरेनन् । कसैलाई मन्त्रीबाट हटाएनन् । त्यो नगर्दा उनी भ्रष्टाचारको निरन्तरतामा पो रमाउँदा रहेछन् भन्ने पर्‍यो । उनको जातिवाद, धार्मिक उन्माद र भ्रष्टाचारमाथिको मौनता हारको प्रधान कारण हुन् ।

– चुनावपछि मधेसको सबैभन्दा ठूलो शक्ति को हुनसक्छ ?

राष्ट्रिय संरचना भएको तर राष्ट्रिय चिन्तन नभएका दलहरुकै असक्षमताको कारणले जातीय र क्षेत्रीय दल जन्मन्छन् । ठूला दलहरुले नै मधेसको मुद्दा बोकिदिनुपर्छ । मधेस अलग देश होइन नि ! राष्ट्रिय दलले रोल्पादेखि रौतहट, जनकपुरदेखि जुम्लाको मुद्दा बोकिदिनुपर्छ । ती दलको संरचनामा देश देखिनुपर्छ । आफूलाई राष्ट्रिय पार्टी भन्ने, राष्ट्रिय सोच नराख्ने अनि राष्ट्रिय मुद्दा पनि नबोक्ने कसरी हुन्छ ?

हाम्रो जस्तो देशमा जातीय र क्षेत्रीय दल राम्रो होइन । त्यस्ता दलले नागरिकलाई दलसँग जोड्छन् । तर, देशसँग जोड्दैनन् । उनीहरुले उन्मादको राजनीति गर्छन् । सरकार बलियो बनाइदिन्छन् । तर, राज्य कमजोर हुन्छ । राज्यप्रतिको आशा घटाउँछ । त्यसकारण देशभक्तिको सवालमा जातीय, क्षत्रीय, धार्मिक, वर्गीय दलहरु हितकर होइन ।

– यो चुनावको परिणामले मधेसमा जुन खालको क्षेत्रीय राजनीति थियो, त्यसमा ब्रेक लाग्ने र राष्ट्रिय राजनीतिक दल नै हाबी हुने परिस्थिति देख्नुभएको छ ?

निर्वाचनको परिणामपछि ठूलो पक्ष असन्तुष्ट हुन्छ । खानका लागि नै जन्मिएर राजनीतिमा लागेका मान्छेहरुको असन्तुष्टिले निर्वाचनको परिणामलाई आन्दोलनतर्फ धकेल्छ । देशमा निर्वाचनको परिणामपछि विधिवत अशान्तिको प्रारम्भ हुन्छ ।

खानका लागि नै जन्मिएर राजनीतिमा लागेका मान्छेहरुको असन्तुष्टिले निर्वाचनको परिणामलाई आन्दोलनतर्फ धकेल्छ । देशमा निर्वाचनको परिणामपछि विधिवत अशान्तिको प्रारम्भ हुन्छ ।

– त्यो अशान्ति कसले निम्त्याउँछ ?

जो हार्छ, उसले आफूलाई गठबन्धनले धोका दिएको भन्छ । तालमेलमा बसेको मान्छे हार्‍यो भने तालमेलले धोका दिएको भन्छ । अनि निर्वाचनको परिणाम ठीक छैन, मान्दिनँ भन्छ । आयोग गठन गर भन्छ ।

जातीय, क्षेत्रीय विषय उठाइदिन्छ । क्रान्तिका विषय उठाइदिन्छ । परिवर्तन यस्तो भयो भन्छ । संघीयता धरापमा गयो भन्छ । संविधान जोगाउन आन्दोलनमा जानुपर्छ भन्छ । किनभने निर्वाचनको परिणाम नस्वीकारेर आन्दोलनमा जाने ठूलो जमात छ । यो परिणामपछि उनीहरु एक ढिक्का हुन्छन् । त्यसपछि न यो गठबन्धन सुरक्षित रहन्छ, न तालमेल सुरक्षित रहन्छ । देउवाजीको नेतृत्व पनि तलमाथि पर्छ, ओली नेतृत्वको तालमेल पनि तलमाथि पर्छ । कमल थापा हारेपछि उसले धोका दियो भन्न थाल्छ । यस्ता तालमेलमा असन्तुष्टिलाई उत्तेजनाको अवस्थामा लगेर आन्दोलनको वातावरण बनाउँछन् यिनीहरुले ।

– अबको संसदमा जुन खालको समीकरण देखिएको छ, परम्परागत शक्ति छँदैछन् । मधेसबाट नयाँ फोर्सको प्रवेश पनि भयो । अर्कोतिर रवि लामिछानेको उपस्थिति । राप्रपा पनि बलियो शक्तिको रुपमा आउँदैछ । यो संसदको समीकरण हेर्दा यसले देशलाई कता लैजाने अवस्था देख्नुहुन्छ ?

ठूला पार्टीहरु मिल्छन् । कांग्रेस र एमाले मिलिदिन्छन् । मिलेर फेरि यो विषयवस्तुलाई अगाडि लैजान्छन् । मेरो बुझाइ के हो भने सुरुमा देउवाको नेतृत्वमा सरकार बन्न संसदको तथ्यांकले दिँदैन । सत्तारुढ गठबन्धनको बहुमत आउँदैन । पछि केपी ओलीको नेतृत्वमा सरकार बन्न दिइँदैन ।

– कसले दिँदैन ओलीको सरकार बन्न ?

विभिन्न खालका शक्तिहरु सक्रिय छन् । अहिले दिइँदैन भन्नेमात्र बुझ्नुस । त्यसैले कि त दुईवटा मिल्नुपर्छ । नभए तेस्रो धार जन्मिन्छ । तेस्रो धार भनेको कि राष्ट्रपति सक्रिय गर्ने, कि त नागरिक सरकार बनाउने ।

निर्वाचनको परिणाम नस्वीकारेर आन्दोलनमा जाने ठूलो जमात छ । यो परिणामपछि उनीहरु एक ढिक्का हुन्छन् । त्यसपछि न यो गठबन्धन सुरक्षित रहन्छ, न तालमेल सुरक्षित रहन्छ । देउवाजीको नेतृत्व पनि तलमाथि पर्छ, ओली नेतृत्वको तालमेल पनि तलमाथि पर्छ ।

– समग्रमा मधेसको शक्ति केन्द्रीय राजनीतिमा कमजोर भयो ?

मधेसको शक्ति होइन, मधेसी नेताको संख्या कमजोर भयो । यो मुद्दा यति माथि उठिसक्यो कि ठूला पार्टीहरुले यसलाई नबुझिकन धरै छैन । जो उत्तेजनाको राजनीतिमा रमाइरहेका थिए, उनीहरुको संख्या कम भयो ।

– गणितीय हिसाबमा कति संख्यामा आउलान् मधेसी दलहरुका सांसद ?

म यो अहिले भन्न सक्दिनँ । किनभने जनता यति सचेत छन्, उनीहरु निर्वाचनको अवधिसम्म यसरी मौन थिए कि जित्छु भनेर ढुक्क भएकाहरुलाई पनि धूलो चटाइदिए । जनताको चेतनाको स्तर हेर्दा कति संख्या होला, को जित्ला वा नजित्ला अनुमानै लगाउन सकिन्न । लोसपा राष्ट्रिय पार्टी बन्दैन । जसपा मुस्किलले बन्ला । त्यो अवस्था हुनसक्छ ।

– पहिले जस्तो सरकार निर्माणमा मधेसी पार्टीको बार्गेनिङ पावर रहँदैन ?

वास्तवमा यो चाहिएकै होइन । सरकार निर्माणका लागि मधेसी पार्टी, जनजाति पार्टी, दलित पार्टी किन चाहियो ? गणतन्त्र त सबैका लागि हो नि ! जातीय पार्टीको औचित्य किन ? एकातिर गणतन्त्रको कुरा गर्ने, अर्कोतिर जातीय पार्टीको कुरा गर्न मिलेन । जातीय पार्टी भइराख्नु भनेको ठूला पार्टीको विचलन र असक्षमता हो भनेर मान्दा हुन्छ । उनीहरुले मुद्दा बोक्न, नेता व्यवस्थापन गर्न संरचनागत विभेदलाई न्यूनीकरण गर्न नसक्दा जातीय र क्षेत्रीय पार्टी जन्मिने हो । यो समग्रमा देश हितमा हुँदैन । जुनसुकै क्षेत्रको किन नहोस् । जातीय र क्षेत्रीय दलले देशभक्तिको पक्षलाई बलियो बनाउँदैन । यिनीहरुले सरकार बलियो बनाउलान्, राज्य कमजोर बनाउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर