तनहुँ २ : २८ वर्षदेखिको एमाले वर्चश्वमा कांग्रेसले लगायो ब्रेक – Nepal Press

तनहुँ २ : २८ वर्षदेखिको एमाले वर्चश्वमा कांग्रेसले लगायो ब्रेक

पोखरा । तनहुँ २ मा कांग्रेसले २८ वर्षपछि जित निकालेको छ । २०७० सम्म तनहुँ ३ रहेको यस क्षेत्रमा २०५१ यता निरन्तर जित्दै आएको थियो । यसपटक कांग्रेसका शंकर भण्डारीले एमालेको विजयी यात्रामा ब्रेक लगाएका छन् । शंकरले एमालेको एमालेका किरण गुरुङलाई पराजित गरेका छन् । भण्डारीले ३० हजार ६०४ मत प्राप्त गर्दा गुरुङ २५ हजार १३० मा रोकिए । अघिल्लो पटक शंकर एमालेका केदार सिग्देलसँग पराजित भएका थिए ।

यहाँ २०५१ मा कांग्रेसका अमरराज कैनीले एमालेका टुकराज सिग्देललाई हराएका थिए ।

२०४८ एमालेका किरण गुरुङले कांग्रेसका पदम आलेलाई १६ सय ६२ मतको अन्तरमा हराएका थिए । २०५६ मा एमालेका टुकराजले कांग्रेसका विष्णु बिरालेलाई २ हजारभन्दा बढीको मतान्तरमा हराए । २०६४ मा एमालेका किरण गुरुङ नै निर्वाचित भए ।

२०७० मा टुकराजले कांग्रेसका जितप्रकाशलाई पराजित गरे । ७४ को निर्वाचनमा पनि एमालेका केदार सिग्देलले कांग्रेका शंकर भण्डारीलाई हराए । त्यसबेला केदारले शंकरलाई ३२ सय ७९ को मतान्तरमा पाखा लगाएका थिए ।

अहिलेको निर्वाचनमा प्रतिनिधिसभा सदस्य कांग्रेसले जित्दा तनहुँ २ को प्रदेशसभा निर्वाचन क्षेत्र २ मा पनि कांग्रेसले नै बाजी मारेको छ । तनहुँ २ (२) मा कांग्रेसका जितप्रकाश आलेले एमालेका केदार सिग्देललाई हराएका छन् ।

यस क्षेत्रका एमाले नेता रामचन्द्र उपाध्याय तनहुँ २ मा सधैँ प्रतिस्पर्धाकै राजनीति रहेको र अहिले माओवादीले साथ छाड्दा एमाले हारेको बताउँछन् ।

‘यसअघिका चुनावमा माओवादीको आंशिक साथ हुन्थ्यो नै, अहिले त्यो भएन । माओवादी-कांग्रेस मिले,’ उनले भने ।

संघीयतापछि म्याग्दे, ऋसिङलाई पालिका बनाएर तत्कालीन तनहुँ ३, अहिलेको तनहुँ २ मा गाभेपछि पावर पोलिटिक्स ब्यालेन्स भएको उनको तर्क छ ।

‘ऋसिङ, म्याग्दे पनि यता थपिए जुन कांग्रेसको बलियो क्षेत्र हो,’ उनले भने ।

नेकपा माओवादीकी नेतृ आशा कोइराला २०७४ कै निर्वाचनमा एमाले माओवादी नमिलेको भए एमाले त्यतिबेलै हार्ने बताउँछिन् ।

‘म त्यतिबेला वाम गठबन्धनबाट उठेर प्रदीप पौडेललाई हराएँ । एमाले माओवादी नमिलेको भए पहिल्यै हारिसक्थे एमाले,’ उनले भनिन् ।

अहिले नेकपा एसमा रहेका पूर्वएमाले नेता प्रतापलाल श्रेष्ठ एमालेको कामबाट आजित भएर जनताले कांग्रेसलाई रोजेको तर्क गर्छन् ।

‘एमालेलाई यत्रा वर्ष जिताएर केही भएन भन्ने भावले अहिले कांग्रेसलाई जिताए, केपी ओलीले काम गरेको भए आफ्नै गढमा एमाले किन हार्‍यो’, उनको प्रश्न छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर