गण्डकी प्रदेश : गणना जारी ठाउँमा कांग्रेस अगाडि, अन्य दलको कहाँ-कहाँ लिड ? – Nepal Press

गण्डकी प्रदेश : गणना जारी ठाउँमा कांग्रेस अगाडि, अन्य दलको कहाँ-कहाँ लिड ?

पोखरा । आइतबार भएको आम निर्वाचनको मतगणना जारी छ । गण्डकीका केही क्षेत्रको नतिजा आइसकेपनि धेरै क्षेत्रमा मतगणना भइरहेको छ ।

मनाङमा कांग्रेसका टेकबहादुर गुरुङले जितेका छन् । उनले एमालेका पोल्देन छोपाङ गुरुङलाई तीनसय बढीको मतान्तरले पराजित गरे । मुस्ताङको एक प्रतिनिधिसभामा पनि कांग्रेसले बाजी मारिसकेको छ । कांग्रेसका योगेश थकाली गौचनले एमालेका प्रेम तुलाचनलाई पराजित गरे । तुलाचनले २९९२ मत पाउँदा कांग्रेसका गौचनले ३०७८ मत ल्याए । मनाङ र मुस्ताङको प्रतिनिधिसभा निर्वाचन क्षेत्रको नतिजा सोमबार राति नै आइसकेको थियो ।

लमजुङको प्रतिनिधिसभा निर्वाचन क्षेत्रको मतगणना बाँकी नै छ । ८० हजार ९१७ मत खसेको यस क्षेत्रमा २३ हजार ८७० मत गणना भएको छ । यहाँ एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले ११ हजार ६१७ मत ल्याएर अग्रता कायम गरेका छन् । उनलाई माओवादी केन्द्रका महासचिव देव गुरुङले ९ हजार ७९७ मत ल्याएर पछ्याइरहेका छन् ।

तनहुँका २ वटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस अगाडि छ । क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका रामचन्द्र पौडेलले २ हजार ४३५ मत ल्याएर अग्रता कायम राखेका छन् भने नेकपा एमालेका एकबहादुर रानाले २ हजार ३४५ मत ल्याएका छन् । तनहुँ २ मा नेपाली कांग्रेसका शंकर भण्डारीले १९ हजार २२१ मत ल्याउँदा नेकपा एमालेका किरण गुरुङका १५ हजार ६९० मत ल्याएका छन् ।

गोरखा १ मा पनि नेपाली कांग्रेस नै अगाडि छ । ८९३ मत गन्दासम्म कांग्रेसका राजेन्द्र बजगाईंले ६६४ मत ल्याएका छन् भने नेकपा एमालेका रामशरण बस्नेतले ११६ मत मात्र ल्याएका छन् ।

गोरखा २ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतान्तरले अगाडि छन् । १० हजार ४३६ मत गन्दा प्रचण्डको ५ हजार ९८१ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका कबिन्द्र बुर्लाकोटीको १६ सय ८४ र नेकपा एमालेका अब्दुस मियाँको १४ सय ३८ मत छ ।

बागलुङ १ मा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले अग्रता लिएका छन् । उनले ३ हजार ८३४ मत ल्याउँदा नेकपा एमालेका सूर्य पाठकले ३ हजार ५२८ मत ल्याएका छन् ।

बागलुङ २ मा माओवादी केन्द्रका देवेन्द्र पौडेल अगाडि छन् । पौडेलले ६ हजार १७ मत ल्याएका छन् भने नेकपा एमालेकी उम्मेदवार मञ्जु शर्मा चालिसेले ४ हजार ७५४ मत प्राप्त गरेकी छन् ।

म्याग्दीमा भने अहिले मतगणना स्थगित भएको छ । एउटै वडाको १ सय ४ मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएपछि मतगणना स्थगित छ । पछिल्लो मत परिणामअनुसार म्याग्दीमा नेपाली कांग्रेसका खम्बिर गर्बुजाले ५ हजार ३७० मत ल्याएर अग्रता राखेका छन् भने उनलाई नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ४ हजार ६४९ मत सहित पछ्याइरहेका छन् ।

कास्की १ मा नेकपा एमाले अगाडि छ । अहिले त्यहाँ मतगणना भने स्थगित भएको छ । मादी ५ को वडाबाट मुचुल्कामा भएको भन्दा एक मत बढी भेटिएको भन्दै अहिले मतगणना स्थगित छ । यहाँ एमालेका मनबहादुर गुरुङले नेपाली कांग्रेसका किशोरदत्त बराललाई पछि पारेका छन् ।

कास्की २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका माधव कँडेल अगाडि छन् । उनले ३ हजार ५४९ मत ल्याउँदा नेकपा एमालेका विद्या भट्टराईले ३ हजार ३९९ मत प्राप्त गरेकी छन् । नेकपा एसका उम्मेदवार श्रीनाथ बरालले २ हजार ३८८ मत पाएका छन् ।
कास्की ३ मा नेकपा एमाले अगाडि छ । एमालेका दामोदर पौडेल बैरागीले ४ हजार ८५१ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले ४ हजार ४०७ मत पाएका छन् । माओवादी उम्मेदवार रामजीप्रसाद बराल जीवनले ३ हजार २०७ मत ल्याएका छन् ।

स्याङ्जा १ मा नेपाली कांग्रेसका राजु थापाले अग्रता कायमै राखेका छन् । उनले दुईहजार ४५५ मत ल्याएर नेकपा एमालेका नारायण मरासिनीलाई दुईसय मतको अन्तरले पछि पारेका छन् । स्याङ्जा २ मा भने मतगणना सुरु हुन सकेको छैन । नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले गठबन्धनले धाँधली गरेको भन्दै पुन मतदान गराउन माग गर्दै आयोगलाई निवेदन दिएका थिए ।

पर्वतमा पनि नेपाली कांग्रेस नै अगाडि छ । पर्वतमा कांग्रेस उम्मेदवार अर्जुन जोशीले ६ हजार ३९१ मत ल्याउँदा एमाले पदम गिरीको ५ हजार ८९४ मत छ ।

नवलपुरका दुवै क्षेत्रमा कांग्रेस नै अगाडि छ । नवलपुर १ मा नेपाली कांग्रेसका शशांक कोइरालाले ७ हजार ८ मत ल्याएका छन् भने नेकपा एमालेका कृष्ण पौडेलले ६ हजार ३८९ मत पाएका छन् । नवलपुर २ मा पनि नेपाली कांग्रेसका विष्णु कार्की नै अगाडि छन् । कार्कीले ५ हजार ९५१ मत पाउँदा एमालेका तिलक महतले ४ हजार ८४५ मत ल्याएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर