बाबुको ह्याट्रिक सपना तोडेका प्रेमलाई हराएर छोरा योगेश बने सांसद – Nepal Press

बाबुको ह्याट्रिक सपना तोडेका प्रेमलाई हराएर छोरा योगेश बने सांसद

पोखरा । मुस्ताङमा कांग्रेसको राजनीतिमा रजगज जमाएका रोमी गौचन थकालीले यस पटकको निर्वाचन नलड्ने घोषणा गरे । उनले नेपाली कांग्रेसको समानुपातिक सूचीमा बस्न अस्वीकारमात्रै गरेनन्, प्रत्यक्षकै टिकट लिन मानेनन् ।

उनले आफ्ना २९ वर्षीय छोरा योगेश गौचनलाई अघि सारे । कांग्रेसका शीर्ष नेताहरुलाई फकाएर उनले आफ्ना छोरामा राजनीतिक विरासत सार्ने योजना बनाए । रोमीका छोरा योगेश पनि मुस्ताङमा चिनिएकै नाम हो । उनी लेते गाविसको कांग्रेस सभापति भइसकेर अहिले कांग्रेस गण्डकी प्रदेश समितिमा छन् ।

यता नेकपा एमालेले मुस्ताङमा पूर्वसांसद प्रेम तुलाचनलाई उठायो । नेपाली कांग्रेसमा विद्रोह गरेर नेकपा एमाले आएका तुलाचनले २०७४ को प्रतिनिधिसभा निर्वाचनमा रोमीलाई हराएर संसदको यात्रा गरेका थिए । रोमीले मुस्ताङको राजनीतिमा एकछत्र राज गरेर नयाँ मान्छे अघि नसारेको भन्दै तुलाचन एमालेमा गएका थिए । तर तुलाचन कांग्रेसका नयाँ अनुहारबाटै यसपटकको निर्वाचनमा पराजित भए ।

योगेश र प्रेमबीच खास प्रतिस्पर्धा नहुने एमालेजनको विश्लेषण थियो । पोखरामा एमाले नेताहरु मुस्ताङमा प्रेमले ‘स्योर एन्ड सर्ट’ जितेर आउने आँकलन गरेका थिए । तर, आइतबारको निर्वाचनको नतिजा भने ठ्याक्कै उल्टो आयो ।

एमालेले शतप्रतिशत जित्ने भनेको क्षेत्रमा २९ वर्षे योगेशले प्रेमलाई ९१४ मतान्तरले हराए । नातामा साला-भेना पर्ने योगेश र प्रेमको निर्वाचन राजनीतिक सँगसँगै पारिवारिक पनि थियो । रोमीको सांसदमा ह्याट्रिक गर्ने सपनामा पानी छरेका प्रेम अहिले सांसदमा दोहोरिने दाउमा थिए । तर, सफल हुन सकेनन् ।

भारतमा स्नातकोत्तर पढेर आएका योगेश पर्यटन व्यवसायी हुन् । उनी पर्यटन व्यवसायीहरुको संगठन नाटा गण्डकीका सदस्य हुन् । उनले त्रिथुंगा ट्राभल्स एण्ड टुर, कालोपानी गेष्ट हाउस सञ्चालन गरेका छन् ।


प्रतिक्रिया

One thought on “बाबुको ह्याट्रिक सपना तोडेका प्रेमलाई हराएर छोरा योगेश बने सांसद

  1. बाउले जन्मदिनको उपहार दिएजस्तो गरि टिकट दिएर जित्नेले मुलुकको लागि गर्लान कि बाउको लागि ?

Leave a Reply to ksp pyl Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर