त्यस घटनापछि म कम्युनिष्ट रहन सकिनँ: मदनमणि दीक्षित – Nepal Press
दस्तावेज

त्यस घटनापछि म कम्युनिष्ट रहन सकिनँ: मदनमणि दीक्षित

काठमाडौं । २०६९ को मध्य हिउँदमा म वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निवास कालिकास्थान पुगें । त्यसो त मेरी हजुरआमाको उमेरका उनीसँग मेरो प्रत्यक्ष भेटघाट पहिलो थिएन । तैपनि मैले उनीसँग राम्ररी कुराकानी गर्ने मौका पाएको थिइनँ । उनी एकेडमीमा हुँदा ससाना कुराका विवाद मैले पनि अखबारमा नकारात्मक समाचार बनाएर लेखेको थिएँ । र, म सम्पादक रहेको वन्दना साहित्यिक पत्रिकामा उनीविरुद्ध दाहाल यज्ञनिधिले लेखेको गाली छापेको थिएँ ।

ती सबैप्रति पश्चाताप त थिएन । तर, तिनै काम अलिक अनुसन्धानसहित गरेको भए राम्रो हुन्थ्यो भन्ने चाहिँ मलाई लागिरहेको थियो । पछिल्लो भेटघाटको समयमा म एउटा पत्रिकामा लेख्ने गर्थें । त्यहाँ अन्तर्वार्ता छाप्ने र दीक्षितसँग मन लागुञ्जेल कुरा गर्ने मेरो मनसाय थियो । नभन्दै अन्तर्वार्ताको दिन र त्यसपछि गरेर म पाँच पटक जति उनलाई भेट्न गएँ ।

९२ वर्षको उमेरमा हिँड्दै गरेका दीक्षित नेपाली साहित्य र पत्रकारिताका सर्वोच्च हस्तीमात्र होइनन्, एउटा महान चिन्तक पनि हुन् । ‘माधवी’ उपन्यासका कारण बौद्धिक र दार्शनिक छवि बनाएका यी चिन्तकलाई अहिलेका सतही र डिजिटल पाठकले पनि अखबारी लेखनका कारण राम्रैसँग चिनेका छन् । मुखले भनेर सहयोगीको सहारामा अखबारी र चिन्तन लेखनमा व्यस्त दीक्षित २०२२ सालदेखि नै डिक्टेट गराउने बानी परेका रहेछन् । पुराना वामपन्थी कार्यकर्तासमेत रहेका दीक्षित पञ्चायतकालमा समेत जेल बसेका थिए । तर, उनलाई पछि मण्डले भएको आरोप लाग्यो । राणाकालदेखिका अनेक राजनीतिक, सामाजिक र सांस्कृतिक उतारचढावका साक्षी यिनी दम्भ नदेखाई आफ्नो बौद्धिक क्षमताले अरूलाई प्रभाव पार्छन् ।

यिनीसँग अन्तर्वार्ता लिँदा र अरू केही पटक भेट्दा मलाई पत्रकारिताको एउटा धरहरा, साहित्यको महान साधक र पूर्वीय वैदिक दर्शनको विश्वविद्यालयमा छु भन्ने लागिरह्यो । वामपन्थी चिन्तनसँग सात दशकभन्दा लामो निकटता र चेतनाले भ्याएसम्म मूर्ति पूजा नगर्ने यिनको प्रण अहिलेसम्म डगमगाएको छैन । तर, यी कुनै अज्ञात शक्तिलाई मान्छन् र आजको मानव सभ्यतामा पूर्वीय सभ्यताले दिएको योगदानबारे फरक तथा गहन धारणा राख्छन् । यिनीसँगको कुराकानीपछि म एउटा निष्कर्षमा पुगेर फर्किएँ- नेपालमा मात्र हैन, यिनीसँग पूर्वीय दर्शनका विषयमा टक्कर लिन सक्ने मान्छे संसारमा सायदै होलान् । यी मान्छे हाम्रा गौरव हुन् र यिनीसँग संगत गर्न पाएकोमा मैले भाग्यमानी ठान्नुपर्छ ।

कार्यव्यस्तताले म यिनलाई भेट्न जान छाडेको केही सातामा थाहा भयो, मेरो एकताकाका सहकर्मी अशोक सिलवालले उनको पूरै जीवनी उतार्ने प्रयास गरेछन्, उनको दर्शनको निचोड पनि त्यसमा आउने गरी । पर्खाैं केही समय, उनको संगतबाट अरू कुन कुन बौद्धिक व्यक्तिले के के लिन सकेका रहेछन् ?

कल्पनाविहीन साहित्य रुखो र अरूचिकर हुन्छ । साहित्य यथार्थभन्दा फरक हुँदैन । तर, कल्पना यसमा जोडिन्छ ।

– आफैं लेख्न छोडेर डिक्टेट गराउन थाल्नुभएको कति भयो ?

वि.सं २०२२ सालमा ‘समीक्षा’ पत्रिका निकाल्दा मैले एउटा लेख पाएँ । विचार र अक्षर दुवै हिसाबले त्यो लेख एकदमै राम्रो थियो । उनलाई कसरी यति राम्रो अक्षर लेख्नुभएको भन्दा उनले मैले आफूले बोलेर लेखाएकोमात्र हूँ, लेखेको हैन भनेपछि मैले पनि त्यसैगरी सहयोगी पत्रकार शंकर लयाललाई डिक्टेसन गराएर लेख्न थालें । हातले लेख्दा पनि म अरूको नक्कल गर्दागर्दै सोझो डिको तान्दिनथें । पछि डिक्टेसन गराएर यसरी लेख्ने बानी नै पर्‍यो । अहिले त सबै नै यसैगरी लेख्छु, लेखाउँछु । बानी नै यस्तै भएपछि जे लेखे पनि यसैगरी लेख्नुपर्ने अवस्था छ । अहिले ४ वर्षयता त स्वास्थ्यका कारणले पनि आफैं लेख्न सक्दिनँ ।

– तपाईंले कुन उमेरमा र केबाट प्रेरित भएर लेख्न थाल्नुभयो ?

मेरो साहित्य लेखनको तीन चरण छ । सन् १९४९ मा बनारसमा भागवत गीताको पहिलो अध्यायको व्यंग्य अनुवाद गरेको थिएँ । त्यसपछि १९४३ मा हिन्दीमा अज्ञात प्रेमिकालाई सातवटा रसात्मक प्रेमपत्र लेखें । ती चिठी डरले च्यातेर फ्याँके पनि एउटा चिठी मेरी दिदीको हात परेछ । पछि त्यो चिठीले श्रीमतीसँग मेरो झगडा पनि गरायो । यसपछि १९४८ मा वीरगञ्जमा पढाउँदा मैले दासप्रथा उन्मूलनबारे ‘दासत्वमोचन’ भन्ने एकांकी नाटक लेखें । तर, राणाशासनको समयमा देखाउन चाहिँ पाइएन ।

यी तीन वटापछि चाहिँ मैले सन् १९५० मा पार्टीमा लागेपछि र पत्रकारिता थालेपछि लेख्ने र पढ्ने क्रममा आलोचना, राजनीतिक लेखन र अन्य साहित्य लेखें । जता गए पनि डायरीमा लेखेर बोकेर हिँड्ने गर्थें ।

– तपाईंको विचारमा साहित्यमा कति कल्पना र कति सत्य वा यथार्थ हुन्छ ?

साहित्यमा जे लेखिए पनि त्यसमा रसात्मकता थप्ने काम कल्पनाले गर्छ । कल्पनाविहीन साहित्य रुखो र अरूचिकर हुन्छ । साहित्य यथार्थभन्दा फरक हुँदैन । तर, कल्पना यसमा जोडिन्छ ।

२० वर्षअगाडि आएको उत्तर आधुनिकतावाद कता हरायो हरायो । त्यसैले म वादको पछि दौडिनँ ।

– साहित्यमा वाद वा विचारमा केन्द्रित हुनुभएन ?

जानेर विचारका पछाडि लाग्नु दिगो होइन भन्ने मलाई लाग्यो । अहिले पनि त्यस्तै लाग्छ । निकै चर्चामा आएको लीलालेखनसमेत अहिले सेलायो । अझ तेस्रो आयाम त कहाँ पुग्यो कहाँ ? २० वर्षअगाडि आएको उत्तर आधुनिकतावाद कता हरायो हरायो । त्यसैले म वादको पछि दौडिनँ ।

– पहिला छापिएको तपाईंको कृति चाहिँ कुन हो ?

२०२१ सालमा छापिएको ‘कसले जित्यो कसले हार्‍यो’ भन्ने आठवटा कथाको संग्रह हो । यसका कथामा ९४ सालमा बाजेसँग बुद्धिचाल खेल्दाको अनुभवलाई प्रतीक बनाएको थिएँ । मलाई यी कथाहरू निकै मन पनि परेका थिए । त्यसपछि ‘हाम्रा ती दिन’ भन्ने संस्मरण निकालें । त्यसपछि ‘माधवी’ निकालें ।

– ‘माधवी’ त साधारण पाठकका लागि हैन नि, हो र ?

यसको जवाफ दिन साहित्यबारेका दुईवटा विचारलाई हेनुपर्ने हुन्छ । पाठकको रुचिअनुसार नभएर समयको चित्र ल्याउने प्रयास ‘माधवी’मा गरेको कारण त्यसमा अहिलेको भाषा, शैली र प्रस्तुतिले काम गर्दैनथ्यो । वैदिक समयको भाषा र जीवन आउनुपर्ने भएकाले पनि त्यो किताबको लेखाइ जटिल भएको टिप्पणी आएका हुन् । यो स्वाभाविक नै हो ।

ऋग्वेद र वैदिक समयको भाषा र जीवन अहिले सबैले कहाँ बुझ्ने र ? मैले त्यो किताबका लागि कौटिल्यको अर्थशास्त्रबाट २५२ शब्द लिएको छु । अर्को कुरा, त्यो समयमा प्रयोग हुने वस्तु पनि त त्यसमा ल्याएको छु मैले । उदाहरणका लागि ‘माधवी’मा शिकारीले प्रयोग गरेको बञ्चरोको बनावटलाई लिन सकिन्छ । त्यहाँ ईशापूर्व १३ सयमा प्रयोग हुने बञ्चरो प्रयोग गरिएको छ । मैले सबै व्याख्या गर्ने कुरा भएन ।

मेरो विचारमा हरेक मुलुकको साहित्यको आफ्नै स्थान र महत्व हुन्छ । हिमालको उचाइ नापेजस्तो हुँदैन साहित्यमा । त्यसरी हेर्दा विश्व साहित्य भन्ने हुँदैन ।

– केही मान्छेले ‘माधवी’लाई दक्षिण एसियाली सभ्यताकै महान किताब पनि भनेका छन् । तपाईं आफैं पाठक बनेर हेर्दा चाहिँ कस्तो लाग्छ ?

समग्रमा भन्दा मलाई पनि ‘माधवी’ स्तरीय कृति हो भन्ने लाग्छ । मैले मराठी, बंगाली, हिन्दी भाषाका धेरै साहित्य पढेको छु । अंग्रेजीमा त यस विषयमा लेखिएको नै छैन । प्राचीन विषयमा लेखिएका धेरै किताब छन् । तर, ती सबै आधुनिक आँखाले हेरेर अहिलेकै भाषामा लेखिएका मात्र छन् ।

मैले प्रज्ञामा आफू रहेको समयमा भारत भ्रमणमा जाँदा भारतीय लेखक भीष्म साहनीको त्यही कथानकमा लेखिएको ‘माधवी’ नाटक पढेर उनलाई पनि ‘माधवी’माथि अन्याय गरेको कुरा भनें । उनलाई मैले ‘माधवी’लाई फ्रेन्च ‘सी फँ’ सारी लगाइदिएजस्तो भयो भन्दा उनले हाँस्दै साहित्यमा यस्तो भइहाल्छ नि भने । ‘माधवी’को पात्र गालव विश्वामित्रको चेला थियो । ऊ कोसी किनारबाट बाग्मती किनारसम्म आउँदा ठाउँ-ठाउँमा ऋतुदान गर्दै महिलालाई गर्भवती बनाउँदै हिंड्छ । बरु यसमा कसैले प्रश्न उठाएका छैनन् ।

– आफैं भनिदिनोस् न त त्यो वेला सेक्स त्यति फ्री थियो त ?

त्यो वेला विवाह पद्धति नै सुरु भएको थिएन । पारिवारिक प्रणाली त के त्यसको अवधारणा सुरु भएकै थिएन । मान्छे सुरक्षाका लागि मात्र घर र समाजमा बस्थ्यो ।

– नेपाली साहित्यको स्तर चाहिँ विश्व साहित्यसँग तुलना गर्दा कस्तो छ भन्ने लाग्छ तपाईंलाई ?

नेपाली साहित्यलाई विश्व साहित्यसँग तुलना गर्ने र अनेक टिप्पणी गर्ने गरेको पनि देखिन्छ । मेरो विचारमा हरेक मुलुकको साहित्यको आफ्नै स्थान र महत्व हुन्छ । हिमालको उचाइ नापेजस्तो हुँदैन साहित्यमा । त्यसरी हेर्दा विश्व साहित्य भन्ने हुँदैन । बालकृष्ण समका ‘चिसो चुल्हो’ र ‘प्रेमपिण्ड’ नेपाली मौलिकता पनि भएका निकै गतिला कृति हुन् । बालकृष्ण जतिको नभए पनि देवकोटा र उनको ‘मुनामदन’ पनि हाम्रा सम्पत्ति हुन् । नयाँ किताबमा चाहिँ मलाई निकै कमले मात्र छुन्छन् ।

हरेक नयाँ सभ्यता पहिलाको भन्दा माथि जान्छ र उन्नत हुन्छ भन्ने मलाई लाग्छ । तर, यो घुमेर फर्किएर आउने खालको हुँदैन ।

– तपाईं त हरेक कुरालाई दार्शनिक ढंगले हेर्नुहुन्छ होला । समय र सभ्यता गोलो अर्थात् फेरि फर्किएर आउने हुन्छ कि नफर्किने किसिमको हुन्छ ?

मलाई कति पत्रकार र जिज्ञासुहरूले हरेक कुरालाई दार्शनिक ढंगले हेर्नुहुन्छ होला भनेर विभिन्न प्रश्न पनि गर्ने गरेका छन् । समय र सभ्यता गोलो अर्थात् फेरि फर्किएर आउने हुन्छ कि नफर्किने किसिमको हुन्छ भन्ने प्रश्न केहीले गर्ने गर्छन् । यसबारे एर्नड टोयरुबी भन्ने लेखकले चाहिँ समय गोलो छ भनेका छन् । तर, म त्यसमा सहमत छैन । हरेक नयाँ सभ्यता पहिलाको भन्दा माथि जान्छ र उन्नत हुन्छ भन्ने मलाई लाग्छ । तर, यो घुमेर फर्किएर आउने खालको हुँदैन ।

– अहिले मानव सभ्यताको विनाशका कुरा पनि निकै जोडसँग आएका छन् । यस सन्दर्भमा भन्नुपर्दा…?

यो सौर्यमण्डलमा हुने परिवर्तनसँग सम्बन्धित कुरा हो । लाखौं वर्षमा यस्ता परिवर्तन भएका पनि छन् । तर, कहिले के हुन्छ भन्ने समय मानिसले तोक्न सक्दैन र मिल्दैन पनि । पाल्पा र रामदीको बीचमा २ हजार फिट अग्लो ठाउँको डाँडामा नदीले बगाएर ल्याएको शालिग्राम हेरेको छु म आफैंले । अर्को चाहिँ २०२१ सालमा तुलसी गिरी प्रधानमन्त्री हुँदा चितवन र नवलपरासीको सीमा क्षेत्र त्रिवेणी गुफा नजिकै डाँडामा हात्तीको ‘फोसिल’ देखियो । यस्ता सामान्य घटनाले म त्यस्तो निष्कर्षमा पुगेको हुँ । ती वस्तुहरू चुरे पहाडभन्दा पनि पहिलाका हुन् ।

– तपाईं त पूर्वकम्युनिष्ट कार्यकर्तासमेत हुनुहुन्छ । कम्युनिष्ट कसरी बन्नुभएको थियो ?

मैले कम्युनिष्ट नभए पनि सन् १९४२ देखि नै मूर्ति पूजा गर्न छाडेको थिएँ । मेरा भाइ महेशमणि चाहिं पहिला नै कम्युनिष्ट थिए । २००७ सालको पुसमा एक दिन उनलाई अस्पतालमा कुर्नुपर्दा राति उनीसँग तीनवटा किताब मागेर पढें र त्यसको भोलिपल्ट नै म कम्युनिष्ट भएँ । पछि म सक्रिय मार्क्सवादी भए पनि बीपी कोइरालाले नेपाली कांग्रेसमा बोलाउनुभयो । म नगएपछि मेरो ठाउँमा उहाँले तुलसी गिरीलाई राख्नुभयो । लामो समय लागेपछि २०४२ सालतिर मैले कम्युनिष्ट छाडें ।

हामी कम्युनिष्ट विचारधाराप्रति आकर्षित भएको समयमा राज्यले जे गरोस् भन्थ्यौं अहिले अमेरिकाले सबै त्यही गरिरहेको छ आफ्ना नागरिकप्रति । त्यसैले विकास र जनतालाई खुशी राख्ने प्रणाली आएमा जनतालाई व्यवस्था र नाम ठूलो कुरो होइन जस्तो लाग्छ ।

– कसरी र किन कम्युनिष्ट छाड्नुभयो ?

त्यो वेला एक दिन म हालका एक जना ठूला कम्युनिष्ट नेताको घरमा गएको थिएँ । त्यहाँ उनले छोराले लेखेको चिठी पढेर अनेकौं दुःख र गुनासो लेखिएको सुनाए । अर्का हालका माओवादी नेता हामीलाई भेट्न आउन लाग्दा ‘उसलाई अर्को कोठाबाटै फर्काउँछु है’ भन्दै चिठी त्यही छाडेर घरवाला नेता अर्को कोठामा गए । मैले अर्काको चिठी त्यसरी हेर्ने गरेको त थिइनँ । तर, त्यस दिन त्यो चिठी आफैं पढ्न मन लाग्यो । तर, मैले पढ्दा त्यहाँ त्यस्तो दुःखको कुरा एक शब्द पनि लेखिएको थिएन । यो बनावटी र पाखण्डी कुराले मलाई निकै दुःखी बनायो । ती नेतालाई मैले नै कम्युनिष्ट बनाएर सकेसम्म माथि उठाएको थिएँ । यो घटनापछि म कम्युनिष्ट रहन सकिनँ ।

– नेपालमा कम्युनिष्टहरू किन सधैं ‘हात्ती आयो हात्ती आयो फुस्सा’ भएका होलान् ?

मेरो विचारमा संघर्षले खारिएका मान्छे कम्युनिष्ट आन्दोलनमा नलागेकै कारण त्यसो भएको हो । त्यसबाहेक युवा जोशमा नाराबाट आकर्षित भएर कम्युनिष्ट बन्ने र पछि विचार नै छाड्ने कारणले पनि यस्तो अवस्था आएको होला । हामी कम्युनिष्ट विचारधाराप्रति आकर्षित भएको समयमा राज्यले जे गरोस् भन्थ्यौं अहिले अमेरिकाले सबै त्यही गरिरहेको छ आफ्ना नागरिकप्रति । त्यसैले विकास र जनतालाई खुशी राख्ने प्रणाली आएमा जनतालाई व्यवस्था र नाम ठूलो कुरो होइन जस्तो लाग्छ । कम्युनिज्म चाहिं निकै टाढाको विषय हो ।

– अनि, नारीप्रति तपाईंको दृष्टिकोण चाहिँ के हो ?

मेरो विचारमा नारी सक्रिय र सहभागी नभएको व्यवस्था र समाजमा भएको परिवर्तन दिगो हुँदैन । मैले गन्दा २०३६ सालको जनमतसंग्रहको समयमा कांग्रेसको कार्यक्रममा लागेका हजारौं मान्छेको जुलुसमा २१ जनामात्र महिला थिए । ६ महिनापछि पाल्पामा एउटा कार्यक्रमको सुरुमा १५ सय जना सहभागी भएकोमा साढे ६ सय महिला थिए । अहिले हरेक सार्वजनिक कार्यक्रममा नारीको संख्या लगभग बराबरी छ । नारी जाति क्रान्तिबाट पर बसेमा त्यो क्रान्ति पूरा हुँदैन ।

– नारीप्रति तपाईं बढी नै आशक्त हुनुहुन्छ भन्ने आरोप छ नि ?

(हाँस्दै) हैन, यो सरासर गलत आरोप हो ।

(प्रस्तुत अन्तर्वार्ता वर्ष १, अंक १, २०७० चैतमा प्रकाशित ‘पाण्डुलिपि’ साहित्यिक पत्रिकाका लागि पदम गौतमले लिएको हाे । ‘पाण्डुलिपि’ पत्रिका नवौं अंकसम्म प्रकाशित भएर बन्द भएको थियो ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर