गठबन्धन संस्कृति निष्ठाको नियोजन – Nepal Press

गठबन्धन संस्कृति निष्ठाको नियोजन

निष्ठा, सिद्धान्त, प्रतिबद्धता, विश्वसनीयता, जवाफदेही र कर्तव्यबोध राजनीतिका आधारभूत तत्त्व हुन् । आजको राजनीति, आजका दलहरू यी मूलभूत विषय छोडेर चुनाव जित्ने एकसूत्रीय एजेण्डा बोकेर निस्केका छन् । पार्टीहरू चुनाव जित्ने सर्तमा नीति, नैतिकता र नियमको तिलाञ्जली दिएर नीतिहीन दौड र प्रतिस्पर्धामा देखिन्छन् । गठबन्धनको नाममा लोकतान्त्रिक पद्धतिमाथि धावा बोलिएको छ । लोकतन्त्र नेतातन्त्र होइन । तर, यसको हुर्मत काढिएर गणतन्त्रलाई नेतातन्त्रको रूपमा अनुवाद गरिएको छ, गरिँदैछ । जसको परिणति अकल्पित निस्कन सक्छ ।

गठबन्धनले पार्टी सङ्गठन कमजोर बन्छ

संसदमा सरकार बनाउन गठबन्धन आवश्यक गणित हो । यद्यपि सरकार गठनको सवालमा पनि विचारको सामिप्यता हुनेसँग गठबन्धन नैतिक मानिन्छ । विचार सिद्धान्तको निकटताविनाको सत्ता गठबन्धन फगत कानूनी बाध्यतामात्र हो । चुनावमा गठबन्धन लोकतान्त्रिक चरित्र होइन । सदा गठबन्धनले लोकतन्त्र सवल र सक्षम बन्दैन । चुनावमा स्वस्थ र सरल प्रतिस्पर्धा लोकतान्त्रिक मानिन्छ ।

तर, यहाँ गठबन्धनको नाममा चुनाव अनावश्यक बनाइँदैछ । राष्ट्रको बृहत हितको लागि सबै दल एक हुनुपर्छ, यसमा फरक मत हुँदैन । आफ्नो पार्टी सङ्गठन र नीतिलाई अनौचित्य सावित गर्दै चुनाव लड्न पनि गठबन्धनको सहारा लिएका छन् । जुन दलीय व्यवस्थाको दुर्भाग्य हो । जसको परिणति पार्टी सङ्गठनहरू ध्वस्त बन्नेछन् । कार्यकर्ता अल्छी र असैद्धान्तिक हुनेछन् । पार्टीहरूमा रचनात्मक व्यवहारिक र अनुशासित भएर जनता रिझाउनुपर्छ ।

पार्टीमा सङ्गठित सदस्य थप्नुपर्छ भन्ने प्रतिस्पर्धात्मक भावना भुत्ते हुनेछ । पार्टीहरू फरक-फरक हुनुको भेद मेटिनेछ । सैद्धान्तिक पक्ष निर्वल बन्नेछ । पार्टीहरूका विविध भ्रातृ सङ्गठनहरूको औचित्य समाप्त हुनेछ । झन् अखिल र नेविसंघ जस्ता पार्टीका नर्सरी सङ्गठनको उपादेयता रहन्न । तरुण दल, युवा संघ, युथ फोर्स, योङ कम्युनिस्ट लिग जस्ता लडाकू संस्थाको महत्त्व कम हुनेछ । वैचारिक खुराक दिने मार्क्सवादी स्कुल अफ थट र डेमोक्रेटिक स्कुल अफ थट जस्ता वैचारिक कारखाना भुत्ते हुनेछन् । बीपी विचार र पुष्पलाल विचारको अध्ययन केन्द्र शिथिल बन्नेछन् ।

अब पार्टी सङ्गठन र पार्टी शुद्धीकरणभन्दा कुन पार्टी रिझाउँदा र नजिक हुँदा आफूलाई फाइदा हुन्छ त्यतैतिर जान्छ नेताहरूको ध्यान र मन । अनि कसले गरोस् पार्टीमा निर्मलीकरणको प्रयास ।

प्रतिस्पर्धाको भावना हटेर कसरी मिल्ने र कोसँग मिल्दा दिगोपन रहन्छ त्यता ध्यान जानेछ । पार्टी पद्धति निरीह रहनेछ । पार्टीहरू नाममात्रका रहनेछन् । दलका साङ्गठनिक ऊर्जामा खिया लाग्नेछ । दलीय सङ्गठनमा खिया नलागोस् पनि कसरी जबकि एउटा पार्टीको अध्यक्षसमेत अर्काे पार्टीको चुनाव चिह्न लिएर चुनावमा जान्छ ।

अब पार्टी सङ्गठन र पार्टी शुद्धीकरणभन्दा कुन पार्टी रिझाउँदा र नजिक हुँदा आफूलाई फाइदा हुन्छ त्यतैतिर जान्छ नेताहरूको ध्यान र मन । अनि कसले गरोस् पार्टीमा निर्मलीकरणको प्रयास । उसै पनि बदनाम बन्दैछ दलीय व्यवस्था । अब झन गठबन्धन संस्कृतिले बेथितिको पहाड उभ्याउनेछ । मेजोरोटी पुर्‍याउन सके सबै खतबात माफी हुनेछ । चुनावमा गठबन्धनको संस्कृति पार्टी प्रणालीअनुसार होइन यो फोहोरी चाला हो । मिलेर नै देश चलाउने चुनाव जित्ने तर्क गर्ने हो भने थरिथरि दल, सिद्धान्त, विचार किन आवश्यक पर्‍यो र ? निर्दलीय उम्मेदवार बनेर मिलेर चुनावमा गए भयो ? के यो दलीय व्यवस्थामा सम्भव छ ? सिद्धान्त, विचार, दृष्टिकोणमा समता भएका पार्टीहरूबीच एकता, सहकार्य र गठबन्धन स्वाभाविक मान्न सकिन्छ । तर, यी सब कुरा पर छोडेर स्वार्थको लागि गठजोड, चुनावी प्रयोजनको लागि गठजोड अप्राकृतिक कुरा हुन् । केही अपवाद हुन्छन् । तर, अपवाद नियम र नियमित हुँदैनन् । जसको प्रतिवाद र खण्डन मण्डन दुवै गर्न सकिन्न ।

यस्तो गठजोड एमालेले राप्रपाका कमल थापासँग गरेको भए पनि या परिवार दलका एकनाथ ढकालसँग या उपेन्द्र यादवसँग ? त्यस्तै कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जनमोर्चाका चित्रबहादुर केसी जोसँग जसले घाँटी जोडे पनि यो रसायनिक जोडजाड होइन । विचार, सिद्धान्त र कार्यक्रम र नीतिको मेल भन्न सकिन्न । सत्ता स्वार्थको हिसाब मिलानमात्रै हो । मुख्य मुख्य दलहरू आफ्नो सिद्धान्तबाट स्खलित भएपछि समग्र देशको हालत कस्तो हुन्छ त्यसको ताजा उदाहरण नेपालको सत्ता राजनीति र चुनावी अभियान बनेको छ ।

चुनावमा गठबन्धनको संस्कृति पार्टी प्रणालीअनुसार होइन यो फोहोरी चाला हो । मिलेर नै देश चलाउने चुनाव जित्ने तर्क गर्ने हो भने थरिथरि दल, सिद्धान्त, विचार किन आवश्यक पर्‍यो र ?

निष्ठा, आस्था र विश्वासमा निरन्तर विचलन हाम्रो राजनीतिको मूल समस्या हो । अनैतिक नेताहरू, अपारदर्शी कार्यकर्ताहरू र अन्धभक्त समर्थकहरू तथा नेताले जे बोले पनि त्यसको पक्षमा तर्क गरिदिने, आलोचना गर्न डराउने बुद्धिजीवी राजनीतिलाई विषाक्त बनाउने कारक तत्त्वहरू हुन् । आफ्नो र कुनै अमुक पार्टीको अनुकूलतामात्र लोकतन्त्र होइन । लोकतान्त्रिक आदर्श र आचरण गर्दा पार्टी र नेताहरू हार्न र विस्थापित हुनसक्छनु । तर, चुनावमा हार्नु र असफल हुनु नै लोकतन्त्र बिग्रनु र बिगार्नु होइन । जसरी पनि र जहिल्यै नेताहरूले जित्नैपर्ने धारणा लोकतान्त्रिक होइन । हारजीत लोकतन्त्रका एकै सिक्काका दुई पाटा हुन् । यसरी निर्वाचनलाई बुझ्न सकियो भने नाजायज सम्झौता र सिद्धान्तहीन सौदाबाजी गर्न पर्दैन ।

निष्ठाको नियोजन होइन राजनीति

फाइदाको लागि गर्ने पेशा व्यवसाय भनेको व्यापारमात्र हो । व्यापारमा पनि न्यूनत्तम नैतिकता, सीमा, कर्तव्य र कानून रहन्छन् । नाफाको पनि सिद्धान्त हुन्छ । राजनीति विशुद्ध समाजसेवा हो । जसलाई व्यापारिक र नाफामूलक क्षेत्र भनेर बुझ्नु र तदनुकूल व्यवहार गर्नु हाम्रो राजनीतिको निकम्मापन हो । निष्ठाको नियोजन होइन राजनीति । तर, निष्ठा क्रयविक्रयको क्षेत्र बनाइँदैछ राजनीतिलाई । अनैतिक क्षेत्र कुन भन्यो भने सबैले औंलो तेर्साउने स्थल बनेको छ राजनीति । सबै विकृतिको जड राजनीति भएको छ । राजनीति धन हुनेको, बल हुनेको लागि आकर्षक क्षेत्र बनेको छ ।

जबकि राजनीति निःस्वार्थ र नैतिकताको क्षेत्र बन्नुपर्ने हो । नीतिहरूको राजा राजनीति हुनुपर्नेमा कूटनीतिको तीर्थस्थलमा रूपान्तरित छ । निष्ठा र नैतिकता क्षयको राजनीति गर्नेले अरूलाई नीति र नैतिकता सिकाउने सामथ्र्य राख्दैनन् । अतः राजनीतिको स्वच्छता अत्यावश्यक छ । अझ रमाइलो कुरा के छ भने हाम्रो देशका कुनै पनि पार्टी ती ७५ वर्ष अघिदेखि क्रियाशील भएका हुन् या भर्खरै गठन भएर अस्तित्वमा आएका ? तिनले आफूलाई व्यवस्थापन गर्न सकिरहेका छैन । पार्टीभित्र मतान्तर र विवाद सैद्धान्तिक हुन्छ ।

तर, व्यक्तिगत टसलको कारण पार्टी विभाजनमा जाने अवस्था सबै दलका फुटका कारण बनेका छन् । एकै सिद्धान्त र नीति अनि संगठनभित्र मारामार गरिरहेका छन्, टुटफुटको श्रृंखलामा छन्, उनीहरू गठबन्धनको दुहाइ दिएर हिंडेका छन् । तसर्थ, आफ्नो पार्टीको कुशल व्यवस्थापन गर्न नसक्ने पार्टीहरूको गठबन्धन व्यवस्थित र दिगो होला र ? पार्टी स्वयं दुर्घटनामा परिरहेको वेला गठबन्धन जुनसुकै वेला दुर्घटनाग्रस्त बन्नसक्छ । गठबन्धन संस्कारको रूपमा नभएर कुसंस्कारको रूपमा आएको छ । आफ्नो सामर्थ्य र बुताले लड्ने र अडिने पार्टी नबनेसम्म पार्टी राजनीतिमा विकृति र विसंगतिको थुप्रो लागिरहन्छन् । ओली, प्रचण्ड, देउवा, कमल थापादेखि चित्रबहादुर केसीसम्म सबै पार्टीलाई जोगाउन र थाम्न नसक्ने राजनीतिज्ञ हुन् । यसर्थ यिनले गठबन्धन बलियो बनाउँछन् भन्नु मूर्खता शिवाय केही होइन । मूर्खता पुरस्कृत होइन दण्डित हुने विषय हो ।

अनैतिक नेताहरू, अपारदर्शी कार्यकर्ताहरू र अन्धभक्त समर्थकहरू तथा नेताले जे बोले पनि त्यसको पक्षमा तर्क गरिदिने, आलोचना गर्न डराउने बुद्धिजीवी राजनीतिलाई विषाक्त बनाउने कारक तत्त्वहरू हुन् ।

यसो किन भयो ?

राजनीति व्यापक उद्देश्यसहितको स्वार्थको व्यवस्थापन गर्ने पद्धति हो । जसमा देश प्रेम र मातृत्वको निष्ठा हुन्छ । तर, नेपालको राजनीति स्वार्थको सानो घेरामा रुमल्लिएको छ । आफ्नो स्वार्थ, आफ्नाको स्वार्थ अनि केही आफ्ना आसेपासेको स्वार्थको कारण दलहरू बृहत राष्ट्रिय उद्देश्यबाट खुम्चेर संकुचनमा परेका छन् । विधि, पद्धति र प्रणालीको भ्रम छरेर नेतृत्वमा रहेका व्यक्तिको लहडमा कुनै पनि निर्णय हुन्छ । राष्ट्रिय बहसको मुद्दामा पार्टीको बैठक बसेर सामूहिक धारणा बन्दैन, व्यक्तिको लहडले कुनै पनि विषयको उठान र बैठान हुन्छ ।

जस्तो एमाले र माओवादी एकता गर्दा ओली र प्रचण्डको आदेश फरमानमा चुनावी मोर्चादेखि पार्टी एकतासम्म भयो । दुई नेताले आआफ्नो पार्टीमा कुनै सैद्धान्तिक र व्यवहारिक छलफलको खाँचो देखेनन् । नेकपाबाट फुट्दा प्रचण्ड, माधव र झलनाथले विशाल पार्टी पङ्क्तिको सल्लाह लिन मन्जुर गरेनन् । सीमित नेता बसेर ओलीलाई निष्काशन गरेको हुकुम जारी गरे बस पुग्यो । त्यतिमात्र होइन, एमालेबाट नेकपा एकीकृत समाजवादी बन्दा माधव-झलनाथ र केही नेताले चाहना गरे, पार्टी फुट्यो । नेकपा एकीकृत समाजवादीका १४ सांसद र सभामुख अग्नि सापकोटाको विरोध गर्दै ओलीले करिब नौ महिना संसद अवरुद्ध गर्न लगाए । तर, त्यसको उचित निकास र राजनीतिक प्रबन्धविना संसद खुल्यो । यसमा ओलीको मर्जी बन्द गर्न र खोल्न हावी रह्यो । तर, पार्टीमा छलफल गरेर उचित कारण कहिल्यै भनिएन ।

आफ्नो सामर्थ्य र बुताले लड्ने र अडिने पार्टी नबनेसम्म पार्टी राजनीतिमा विकृति र विसंगतिको थुप्रो लागिरहन्छन् । ओली, प्रचण्ड, देउवा, कमल थापादेखि चित्रबहादुर केसीसम्म सबै पार्टीलाई जोगाउन र थाम्न नसक्ने राजनीतिज्ञ हुन् ।

नेपाली कांग्रेसले स्थानीय निर्वाचनमा अरू दलसँग गठबन्धन गरेर चुनावमा जाने निर्णय गर्‍यो । तर, यो निर्णयमा पार्टी सभापति देउवाको इच्छा बलियो भयो । पार्टीसँग विशेष र खास छलफल भएन । यसरी नेताहरू मनमौजी ढङ्गले चल्ने र हुँदा पार्टीको सामूहिक नेतृत्वको भूमिका गौण र व्यक्तिको भूमिका गहन बन्छ । यस्तो प्रक्रिया पार्टी प्रणालीको लागि घातक हो । पार्टीको सामूहिक दृष्टिकोण, मापदण्ड र अवधारणाविना बाँडिने अवसरमा निहित स्वार्थ केन्द्रित बन्छ । अवसरको समुचित बाँडफाँट हुँदैन । गत स्थानीय तह चुनावदेखि अहिले संसद र प्रदेशको चुनावसम्ममा टिकट दिने सवालमा हरेक पार्टीमा विधि, पद्धति अर्धमुर्छित र नेताहरूको निर्णय, चाहना र इच्छा हावी भएको छ । सीमित नेताको भागबन्डा पेवा र बपौती बनेको छ पार्टी । फलस्वरूप पक्षपात, एकांकी र गलत निर्णय हुन्छन् । आफ्ना मान्छे तानिन्छन् । आफ्ना नलाग्नेहरू छोडिन्छन् ।

दुवाली थुन्दा र शिकार खेल्दा मिल्नेहरु अक्सर माछा र बिलो भाग लगाउने बेला झगडा गर्छन् । गठबन्धन पनि त्यस्तै हो । एमाले र माओवादीहरू पनि बिलो भागमा बराबर नभएको कारण फुटेका हुन् । अनैतिक, असैद्धान्तिक र अनीतिले राजनीति ध्वस्त छ । चुनावी गठबन्धनको संस्कृतिले पार्ने प्रभाव र देखिने असर आजै र अहिल्यै नदेखिएला यो उकुच पल्टेको घाउ र क्यान्सरको कारण भएर प्रकट हुनेछ । यद्यपि राजनीतिमा निष्ठा, समर्पण, निरन्तरता, कर्तव्यबोध र दूरदर्शी भएका नेता देखिए भने निष्ठाको दियोमा तेल थपिनसक्छ । अन्यथा सुसंस्कृत र व्यवस्थित राजनीति भड्खालोमा जाने निश्चित छ । राम ! राम ! भनौं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *