शंकर पोख्रेलः अब्बल नेतृत्वकर्ताको पहिचान – Nepal Press

शंकर पोख्रेलः अब्बल नेतृत्वकर्ताको पहिचान

नेकपा एमालेका महासचिव शंकर पोख्रेल नेपालका राजनीतिक नेताहरुमध्ये एक बौद्धिक र दृष्टिकोणमा स्पष्ट व्यक्ति हुन् । उनी अहिले दाङ निर्वाचन क्षेत्र २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार छन् । हरेक विषयमा गहिरो ज्ञान राख्ने, अध्ययनशील, थोरै बोल्ने, बोलेको कुरामा अडिग रहने, तर्क र तथ्यसहित आफ्ना विचार प्रस्तुत गर्ने उनका सकारात्मक पक्ष हुन् ।

आर्थिक रुपमा पारदर्शी, सुशासन कायम गर्न किञ्चित अप्ठेरो नमान्ने, चरित्रवान, आजसम्म कसैबाट अनैतिक काम गरेको आरोप नलागेका बेदाग नेता हुन् शंकर । अवसर पाएर पनि राज्यको स्रोतलाई दुरुपयोग नगर्ने उनको अर्को विशेषता हो ।

लुम्बिनी प्रदेश सरकारका संस्थापक मुख्यमन्त्री शंकर पोख्रेलको सरकार असमयमै तुहाइयो । सरकारबाट बाहिरिनुपूर्व उनले थोरैमात्र चलखेल गरेको भए सरकार सहज ढंगले टिक्ने थियो । हरेक पार्टीमा लोभीपापीहरु हुन्छन् नै । एमाले पनि अछुतो रहने कुरै भएन । तर, उनले यति पनि पत्तो पाएनन् । दाङ २ (२) बाट निर्वाचित अमर डाँगी शंकरका खास व्यक्ति थिए । उनको ठूलो माग थिएन । एकजना प्रदेशसभा सदस्यसँग उनले गुनासो गर्दै भनेका थिए- म उमेरले वृद्व भए । जिल्लाबाट बुटवल आउजाउ गर्न सार्वजनिक बसमा सकस हुन्छ । मलाई गाडी पाइने कुनै समितिको सभापति वा यस्तै अरु केही दिए हुन्थ्यो ।

नवलपरासी बर्दघाट सुस्ता पश्चिम १ (१) बाट निर्वाचित अजय शाहीको चाहना मन्त्रीको झण्डा हल्लाएर जिल्ला आउजाउ गर्ने थियो । कपिलवस्तु २ (१) बाट निर्वाचित दृगनारायण पाण्डेमा यस्तै पदको उत्कट चाहना थियो । दाङ ३ (१) बाट निर्वाचित उत्तरकुमार वलीकी श्रीमती विमला ओलीको कुरै नगरौं । उनका पछिल्ला गतिविधिले चारित्रिक विचलन आएको संकेत गर्दछ । यसको व्यवस्थापन गर्न सकिँदैनथ्यो पनि । तर, अरु दुई जनालाई सहज ढंगले व्यवस्थापन गर्न सकिन्थ्यो । यसका लागि कतिपय एमालेकै नेता कार्यकर्ताहरुले सुझाव दिएका पनि हुन् । तर, शंकर सहमत भएनन् । उनले सबैलाई आफूजस्तै सम्झे ।

आर्थिक रुपमा पारदर्शी, सुशासन कायम गर्न किञ्चित अप्ठेरो नमान्ने, चरित्रवान, आजसम्म कसैबाट अनैतिक काम गरेको आरोप नलागेका बेदाग नेता हुन् शंकर ।

शंकर ७ सदस्यीय मन्त्रिमण्डललाई बढाउन चाहँदैनथे । त्यसो गर्दा प्रदेशको खर्च बढ्छ । विकास बजेट कटौती हुन्छ । जनताका पक्षमा थोरै भए पनि गर्न सकिने काम गर्न सकिँदैन भनेर बारम्बार भन्थे । कुरा यतिमात्र हैन, विभिन्न मन्त्रालयमा क्षमतावान कार्यकर्तालाई कैयौं नियुक्ति दिएर कामलाई अलि प्रभावकारी बनाउन सकिन्थ्यो सायद । तर, उनी खर्च बढाउनु हुँदैन भन्ने अडानमै रहे । उनको विश्वास थियो- मौजुदा कर्मचारीबाटै काम गराउनुपर्छ । बरु उनीहरुलाई सेवा सुविधा थप्न सकिन्छ ।

उनीसँग काम गरेका यस प्रदेशका प्रमुख सचिव तथा अन्य सचिव एवं कर्मचारीहरु शंकरको कार्यशैलीबाट असाध्यै प्रभावित थिए । सुरुमा शंकर अलि बढी वैचारिक भएकाले कडा होलान् भन्ने लागेकाहरु पछि प्रशंसा गर्दथे । अर्थात् संरचनात्मक सुधार गर्नुपरे गर्ने तर, तिनलाई हस्तक्षेप गर्नु हुँदैन भन्ने मान्यतामा उनी दृढ थिए ।

यहाँसम्म कि कर्मचारीको सरुवा-बढुवामा प्रायः नेपाली नेताहरु फस्ने गर्छन् । तर, शंकरले त्यस्तो पनि कहिल्यै गरेनन् । सबैलाई थाहा छ कर्मचारीतन्त्र राजनीतीकरणले ग्रस्त छ । तर, उनी विधिभन्दा बाहिर जान नमानेपछि आफ्नै कर्मचारीबाट पनि आलोचित बने ।

उनको कार्यकाल सातवटै प्रदेशको तुलनामा सफल रहेको थियो । विनियोजित बजेट खर्च गर्ने मामलामा सात वटै प्रदेशलाई उनले उछिने । शत प्रतिशत खर्च गर्नु नेपालको सन्दर्भमा सामान्य विषय हैन । कुनै पनि प्रदेश र संघीय सरकारले पनि त्यस रुपमा खर्च गर्न सकेका छैनन् । यस अर्थमा कर्मचारीलाई सक्रिय बनाएर खर्चमा उनले जे सफलता प्राप्त गरे, त्यो सफलताको प्रमुख सूचक हो ।

शंकर नेतृत्वको सरकार गिरेपछि बनेको सरकारले अर्थतन्त्र ध्वस्त नै पार्‍यो । कुलप्रसाद केसी नेतृत्वको सरकार बनेपछि आएका एकजना असाध्यै अनुभवी कर्मचारीले पंक्तिकारलाई भनेका थिए- शंकरको पालामा यो प्रदेश असाध्यै व्यवस्थित रहेछ, केसी आएपछि दुई नम्बर प्रदेशभन्दा खराब भएछ । बेथितिका चाङ लागेको र दिनहुँजसो समाचार आएको विषयलाई हेर्दा पनि त्यस्तो अवस्था देखिन आउँछ । आफ्नालाई पोस्ने नाममा प्राइभेट कम्पनीलाई अनुदान बाँड्ने, असंख्य नियुक्ति दिएर स्रोतको दोहोलो काढ्ने मामलामा अहिलेको केसी सरकार सर्वत्र आलोचित नै छ ।

उनी समानुपातिक विकासका पक्षपाती थिए । हरेक भाषणमा, निर्देशनमा यो विषयलाई उच्च महत्व दिन्थे ।

लुम्बिनी प्रदेशको जग बनाउने काम शंकरले नै गरे । प्रदेशको आवधिक योजना बनाउने कामलाई प्राथमिकता दिएर योजनामा आधारित बजेट विनियोजन गर्ने परम्परा सुरु गरे । उनी समानुपातिक विकासका पक्षपाती थिए । हरेक भाषणमा, निर्देशनमा यो विषयलाई उच्च महत्व दिन्थे ।

कानून निर्माणमा यो प्रदेश पहिलो स्थानमा थियो । कोभिड नियन्त्रण र रोकथामका लागि स्थानीय तहसँग सहकार्य र समन्वय गरी अन्य सेवा प्रभावित नहुने गरी यस प्रदेशले गरेका कामलाई केन्द्र सरकारले अवलम्बन गरेको थियो । नेपालगञ्ज, बुटवल, भैरहवा र दाङमा गरी चार कोभिड विशेष अस्पताल र प्रयोगशाला स्थापना गरेर शंकर सरकारले संवेदनशीलता प्रकट गरेको थियो ।

प्रदेशको समृद्धिको आधार कृषिको व्यवसायीकरण र पर्यटन पूर्वाधार विकास हो भन्नेबारेमा उनी स्पष्ट थिए । बजेट विनियोजनमा यही कुरालाई प्राथमिकता दिन्थे । साना र टुक्रे बजेटको विरोधी थिए । विडम्बना प्रदेशका भन्दा केन्द्रका साना योजना हुन्थे ।

कृषिको व्यवसायीकरणका लागि स्मार्ट कृषि कार्यक्रम, पकेट क्षेत्र, मिसन कार्यक्रम, कृषिमा यान्त्रीकरणको प्रयोग र अनुदानको वडो गजब संयोजन गरेका थिए । यो कुरा अर्कै हो कि कतिपय नीतिगत निर्णयलाई पनि मन्त्रीहरुले नै कार्यान्वयन गर्न सक्दैनथे । उनी सधैंजसो परिणाममुखी योजनाका कुरा गर्थे । पर्यटनको क्षेत्रमा पूर्वाधार विकास गरिदिएपछि निजी क्षेत्रले नै उकास्छ भन्ने सोच थियो जुन सत्य कुरा नै हो ।

उनी विपन्न र सीमान्तकृत नागरिकलाई आत्मनिर्भर बनाउन र आवासको व्यवस्था गर्न कस्सिएका थिए । आफ्नो तीन वर्षे कार्यकालमा ३ हजार ३४९ घर बनाएर विपन्न र सीमान्तकृत नागरिकलाई सुरक्षित आवासको व्यवस्था गरेका थिए भने उनीहरुलाई मूल प्रवाहमा ल्याउन मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सञ्चालन गरेका थिए ।

खासमा उनी विषयवस्तुलाई राजनीतिक ढंगले प्रस्तुत गर्न सक्दथे । उनको सो प्रतिभालाई देखेरै क. मदन भण्डारीले भारत प्रवासबाट सीधै ल्याएर अखिलको अध्यक्ष बनाएका थिए ।

२०५१ सालको संसदीय निर्वाचनमा दाङ क्षेत्र नं ३ बाट निर्वाचित पोख्रेल ३२ वर्षको उमेरमै पहिलोपटक सांसद बनेका थिए । तत्पश्चात् २०५६ र २०७० मा पराजित भए भने २०६४ मा समानुपातिकबाट संविधानसभा सदस्य बने । पछिल्लोपटक प्रदेशसभा निर्वाचन, २०७४ मा दाङ निर्वाचन क्षेत्र नं २ (१) बाट प्रदेशसभामा विजयी बनेर लुम्बिनी प्रदेशको संस्थापक मुख्यमन्त्री बनेका हुन् ।

विद्यार्थी आन्दोलनमार्फत् २०३५ सालदेखि राजनीतिमा संलग्न उनी पहिलोपटक २०३७ सालमा जेल परेका थिए । उनी अनेरास्ववियुको अध्यक्ष (२०४७-५०), पार्टीको राप्ती अञ्चल इन्चार्ज र उपत्यका कमिटी सचिवको जिम्मेदारी निर्वाह गर्दै राजनीतिमा उदाएका हुन् । त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका पोख्रेल त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापतिसमेत भए । भू-राजनीति र अर्थ-राजनीतिका जानकार हुनुका साथै पार्टीभित्र बौद्धिक, वैचारिक तथा राजनीतिक क्षमता र संगठनात्मक कार्य कुशलतामा उदाहरणीय मानिन्छन् । उनी अध्यक्ष हुँदा सँगै काम गरेका तत्कालीन विद्यार्थी नेताहरु त्यतिवेला अखिलको हैसियत नै फरक रहेको स्मरण गर्दछन् ।

खासमा उनी विषयवस्तुलाई राजनीतिक ढंगले प्रस्तुत गर्न सक्दथे । उनको सो प्रतिभालाई देखेरै क. मदन भण्डारीले भारत प्रवासबाट सीधै ल्याएर अखिलको अध्यक्ष बनाएका थिए । सार्वजनिक बहसमार्फत् जुनसुकै विषयमा एकजना विज्ञकै रुपमा प्रस्तुत हुनसक्नु उनको सवल पक्ष हो । दृष्टिकोणका मामलामा उनमा कुनै अलमल छैन र हुँदैन । उनी अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनका संस्थापक अध्यक्ष हुन् । बहुदलीय जनवादको संश्लेषण गर्ने, व्याख्या गर्ने र औचित्य पुष्टि गर्ने काममा उनले विशेष योगदान दिएको मानिन्छ ।

उनको पुस्ताका समकालीन नेताहरुमा सम्भवतः यति कुशलतापूर्वक व्याख्या गर्नसक्ने अर्को नेता छैन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ल्याउने हरेक विचार, सोच र कार्यक्रमलाई सैद्वान्तिकीकरण गर्ने काममा उनी अब्बल छन् । यही कारणले नै उनी पार्टीको महासचिवको रुपमा निर्वाचित हुनसके । पार्टीभित्र उनकै समकालीनले पनि उनलाई नेता मान्ने गर्छन् । अहिले पनि प्रायः नेताहरु आ-आफ्ना क्षेत्रका कुरा गर्छन् । तर, उनले संसद विघटनको औचित्य पुष्टि गर्नेदेखि अबको सरकारले गर्ने कामसम्मका फेहरिस्त सुनाउने गर्छन् ।

पार्टीभित्रको संस्थागत मान्यतामा अविचल रहने पोख्रेल फरक मत राखेर पनि वेलाबखत चर्चामा आएका छन् । उनी संविधानसभाको पक्षमा त थिए नै त्यसबाहेक संविधानसभामार्फत राज्यको पुनर्संरचना आवश्यक भन्दै पार्टीमा राज्य पुनर्संरचनासम्बन्धी लिखित दस्तावेजसमेत प्रस्तुत गरेका थिए । पार्टीको जनकपुर महाधिवेशनमा संविधानसभाको पक्षमा फरक मत पेश गरेर अलग पहिचान त्यतिवेलै दिएका थिए ।

अहिले एमालेभित्र भविष्य भएका नेता भनेर उनकै नाम अग्रपंक्तिमा आउने गर्छ । उनलाई भावी अध्यक्षको रुपमा धेरैले नाम लिने गर्छन् । विधानतः उमेरका कारण सबैजसो नेताहरु रिटायर्ड हुने भएकाले पनि उनी अध्यक्षका लागि सुरक्षित छन् । सरकार बनाउने अवस्थामा महत्वपूर्ण मन्त्रालय नै उनको भागमा पर्ने निश्चित छ । अर्थात् उनले चाहेको मन्त्रालय पाउने अवस्था छ ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ल्याउने हरेक विचार, सोच र कार्यक्रमलाई सैद्वान्तिकीकरण गर्ने काममा उनी अब्बल छन् । यही कारणले नै उनी पार्टीको महासचिवको रुपमा निर्वाचित हुनसके ।

जिल्लाको हकमा प्रदेश राजधानीको निर्णय गरेपछि दाङवासीका साझा नेता बनेका छन् । राजनीतिक रुपले फरक मत राख्ने कुरा अलग विषय हो । तर, जिल्लाको विकासका लागि शंकर अनिवार्य बनेको कुरामा सबैजसो सहमत देखिन्छन् । उनले भनेका पनि छन्, ‘दाङको विकासको चाहना बहुआयामिक छ । यहाँको आर्थिक र सामाजिक विकास, स्वाभीमान वृद्धिको आधार म तयार गर्न सक्छु ।’

भालुवाङजस्तो स्थानमा राजधानी तोकेर राजनीतिक चातुर्यताको उदाहरण पनि बनेका छन् । यस मामलामा पार्टीभित्र ओली र प्रचण्डलाई एक ठाउँमा ल्याउन सक्नु र केन्द्रबाटै ह्वीप जारी गराउन सक्नु उनका लागि सुरक्षित अवतरण थियो । एक महिना ढिला भएको भए पार्टी नै टुटफुटमा गएकाले राजधानी तोक्ने काम नहुन सक्थ्यो । त्यो अवस्थामा पूर्ण रुपले असफल मुख्यमन्त्री उनको पहिचान बन्न सक्थ्यो । जसलाई सहज ढंगले उनले चिरे । उनै शंकर पछिल्लो कालखण्डमा पार्टी फुट हुने अवस्थामा प्रचण्ड र माधव नेपालका कोठाकोठामा गएर घनीभूत वार्ता गर्न र मिलाउन प्रयासरत थिए । एकपटक जुटिसकेको पार्टी विभाजन हुनु हुँदैन भन्ने पक्षमा उनले व्यापक कसरत गरेका थिए । लुम्बिनीको मुख्यमन्त्री भएर पनि धेरैजसो काठमाडौं गएकोमा केही आलोचना पनि हुन्थ्यो । तर, उनी आफ्नो मिसनमा थिए । पार्टीको मिसनमा चलेका थिए, कुनै व्यक्तिगत स्वार्थ थिएन ।

हो, उनका केही कमजोर पक्ष पनि छन् । जनता, कार्यकर्तासँग सहज ढंगले खुल्न नसक्ने, कम बोल्ने, औपचारिकताका लागि र अपनत्व ग्रहण गराउन पनि प्रायः कसैसँग सुझाव सल्लाह नलिने कारणले आलोचनामुक्त छैनन् । तर, सवल पक्षका अगाडि यी गौण विषय हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *