‘समृद्ध नेपाल, सुखी नेपाली’ केन्द्रित अर्जुनदृष्टि : समवेत दृष्टि – Nepal Press
पुस्तक समीक्षा

‘समृद्ध नेपाल, सुखी नेपाली’ केन्द्रित अर्जुनदृष्टि : समवेत दृष्टि

पछिल्लो समय बजारमा आएको पुस्तक हो, ‘समवेत दृष्टि’ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न कालखण्डमा दिएका मन्तव्यहरूको सारग्राही सङ्ग्रह हो, ‘समवेत दृष्टि’ । लोग्शरी कुँवर र सञ्जय खड्काले संयुक्त रुपमा संकलन तथा सम्पादन गरेको यस पुस्तक ओलीले सार्वजनिक रुपमा राखेका विचार तथा अभिव्यक्तिको मुख्य अंशको दस्तावेजीकरण हो ।

अनौपचारिक माध्यमबाट सङ्कलन गरिएको यो सङ्ग्रह मूलतः ६ खण्डमा वर्गीकृत छ । पहिलो खण्डमा ओलीद्वारा रचित कविता तथा गीत छन् । दोस्रो खण्ड ओलीका सूक्तिहरूको एकत्रीकरण हो । जसलाई ‘भनाइ’ भन्ने शीर्षक दिइएको छ ।

सूक्तिका विषयवस्तु वा यसमा निहित सन्देशहरू दुनियाँका ज्ञात अज्ञात स्रष्टाका उत्पादन र कृतिभित्र परेका हुन सक्दछन् । तर, ती विषयवस्तुहरू मन्तव्यका क्रममा आफ्नै मौलिक शैलीमा प्रकट भएका हुन् । तेस्रो र चौथो खण्डमा ओलीले आफ्ना भाषणमा प्रयोग गरेका ‘दृष्टान्त’ र ‘कथा’ छन् ।

पाँचौं खण्डमा छ, ‘मेरो आकाङ्क्षा : समृद्ध नेपाल, सुखी नेपाली’ । देशको समृद्धि र विकास, देश र देशभक्ति, कृषि, पर्यटन, सुरक्षाकर्मी, जनप्रतिनिधि, महिला, युवा, शिक्षा, खेलकुद, स्वास्थ्य, विज्ञान र प्रविधि, कला, साहित्य र संस्कृति जस्ता विभिन्न २१ विषयवस्तुमा ओलीका भावना, दृष्टिकोण र चिन्तनलाई छैटौं खण्ड ‘विचार’मा समेटिएको छ । पुस्तकमा पाद–टिप्पणी राखिएको छ । जसका कारण दृष्टान्त, कथा तथा विचार कुन परिवेशमा, कुन अर्थमा बोलिएको हो भन्ने कुरा पाठकलाई बुझ्न सहज हुन्छ ।

देशको समृद्धि र विकास, देश र देशभक्ति, कृषि, पर्यटन, सुरक्षाकर्मी, जनप्रतिनिधि, महिला, युवा, शिक्षा, खेलकुद, स्वास्थ्य, विज्ञान र प्रविधि, कला, साहित्य र संस्कृति जस्ता विभिन्न २१ विषयवस्तुमा ओलीका भावना, दृष्टिकोण र चिन्तनलाई छैटौं खण्ड ‘विचार’मा समेटिएको छ ।

हुन त नेपालमा न नेताको कमी छ न त आश्वसन र भाषणको । यद्यपि ओलीका भाषण फगत शब्दको भण्डारमात्र नभएर देशको समृद्धिका लागि मुर्छित सपनालाई जगाउनेमा केन्द्रित छन् । राष्ट्र र राष्ट्रियताका निम्ति नागरिकलाई अभिप्रेरित गर्ने खालका छन् ।

पुस्तकमा समाहित केही भनाइ यस्ता छन् :

  • ‘वास्तवमा सपना बेच्ने कुरा होइन, जगाउने कुरा हो । मेरो काम मुच्र्छित सपनाहरूलाई जगाउनु हो ।’
  • ‘मानिसको समयको सीमा हुन्छ, आयुको सीमा हुन्छ । क्षमता, सामर्थ्य तथा ज्ञानको पनि सीमा हुन्छ । तर, इमानदारिताको सीमा हुँदैन ।’
  • ‘नेपाल भूपरिवेष्टित देश हो । तर, एउटैमात्र देशवेष्टित होइन । देश भूगोलमा, जनसङ्ख्यामा ठूलो सानो हुनसक्छ । तर, देशको सार्वभौमसत्ता बराबर हुन्छ ।’
  • ‘साइन्स एण्ड टेक्नोलोजीको प्रयोगविना हामी बारी खन्ने, हलो समाउने कामभन्दा माथि जान सक्दैनौं ।’

यस्ता भनाइले जनताको मनोबल उँचो बनाउने तथा मुर्छित सपनाहरूलाई जगाउने काम गरेको आभाष हुन्छ । नेपाली जनताले प्रस्ट रूपमा बुझ्ने गरी बोल्नु, विभिन्न कथा, दृष्टान्त तथा उपमा, उपमेयको प्रयोग गर्नु, हाँस्य रसको प्रयोगसँगै कुनै पनि विषयवस्तुको गहिराइसम्म पुग्नु ओलीका मन्तव्य तथा भाषणका प्रमुख विशेषता हुन् । उनको यही विशेषताले यो पुस्तकलाई जिवन्त बनाएको छ ।

दृष्टान्तमार्फत् व्यंग्य गर्ने ओलीको यो कला बडो अद्भूत छ । कतिले त्यस कलालाई हाँसो ठट्टाको विषय बनाउँछन् । तर, सबैमा त्यो कला हुँदैन । उनले आफ्ना भाषणमा प्रयोग गरेका दृष्टान्तका केही अंश :

माकुराको जालोमा झिँगा पर्ने हो, भैंसी पर्दैन ।

(एमालेका विरूद्ध घेराबन्दी, जालझेल र कपट भए तापनि नेकपा एमाले नेपाली जनताको साथ सहयोग लिएर राष्ट्रियता र समृद्धिको सवालमा अगाडि बढ्ने बताउँदै)

एउटा बाख्राको पाठालाई बोर्डिङ हाल्दिनुस्, पाँच वर्ष बोर्डिङमा पढाउनुस्, म्याँभन्दा माथितिर गर्दैन । किनभने त्यसका पुर्खाले गर्न सकेको थिएन, ‘जेनेटिक मेमोरी’ उसले त्यही म्याँमात्रै पाएको छ ।

(हाम्रा विद्वान पुर्खाहरूको जेनेटिक मेमोरी हामी सबैमा भएकोले अब नेपाली पछाडि पर्न नसक्ने बताउँदै)

नेपाली जनताले प्रस्ट रूपमा बुझ्ने गरी बोल्नु, विभिन्न कथा, दृष्टान्त तथा उपमा, उपमेयको प्रयोग गर्नु, हाँस्य रसको प्रयोगसँगै कुनै पनि विषयवस्तुको गहिराइसम्म पुग्नु ओलीका मन्तव्य तथा भाषणका प्रमुख विशेषता हुन् ।

नेपाललाई स्थिरताको बाटोमा जान नदिन सबभन्दा लोभी पाठो देखाएर हरियो घाँस देखाउने काम भयो । दाहिने हातमा लिएको खुकुरी नदेख्ने, देब्रे हातमा लिएको हरियो घाँस देख्ने, म्याँ म्याँ गरेर पछाडि लाग्ने ।

(माओवादी पदपन्थ, लोभपन्थ भएको टिप्पणी गर्दै)

हावा भरिएको बेलुनजस्तो आकारमात्र ठूलो भएर हुँदैन, तौल पनि चाहिन्छ । रूक्मांगत नामको छेस्कोले के घोचेको थियो, फ्यास्स हावा खुस्कियो ।

(माओवादी आफ्नै उत्ताउलोपनले अप्ठेरोमा परेको र उसको आकार अस्थायी भएको बताउँदै)

कांग्रेस-माओवादीको मोर्चाबन्दी हात्तीविरूद्ध स्यालको बथानमात्र हो । जतिसुकै स्यालहरूको बथान भए पनि हात्तीको सिकार गर्न सक्दैन । सिकार त के, हात्तीको छेउमा आउन पनि सक्दैन । पर परबाट कराउनेमात्रै हो ।

(कांग्रेस र माओवादी केन्द्रको मोर्चा एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने दाबी गर्दै)

नेपाली कांग्रेसले पोहोर परार धेरै बाली जोत्यो होला । तर, अब यति बुढो भो कि जुवा पनि बोक्दैन, हलो त के तान्छ र ! नेपाली कांग्रेस लुब्रिकेन्ट सिद्धिएको ट्रयाक्टरको मेसिनजस्तो ख्यारख्यार, ख्यार ख्यार भ’को छ ।

ओलीले आफ्नो अभिव्यक्तिलाई सरल र सहज तरिकाले बुझाउन कथाको प्रयोग गरेका छन् । यस पुस्तकमा उनका भाषणमा अभिव्यक्त विभिन्न कथाहरु समेटिएका छन् । कथा पाठअन्तर्गतका केही अंश हेरौं :

  • उहिले म सानो थिएँ, चार वर्षको । कानमा कन्सुत्लो पसेछ । धेरै दुखायो । त्यसलाई त्यहाँ मार्न औषधि हाल्दिएको यस्तो टोकेर, चिथोरेर त्यसले त उधुमै मच्चायो । त्यसलाई दबाइ हाल्दिएपछि त त्यो सिद्धियो । यो अतिवाद भनेको पनि त्यस्तै हो । हत्तपत्त सिद्धिन मान्दैन । त्यसैले कानमा कन्सुत्लो पसेपछि औषधि हाल्दा उपद्रो गर्छ, चिथोर्छ । अहिले कन्सुत्लोलाई औषधि हालेजस्तै भएको छ । एमाओवादी, कानमा पसेको कन्सुत्लोलाई औषधि हालेपछि छट्पटाएजस्तै अवस्थामा छ ।
  • एकपटक एक जनाले घरमा गौंथली बस्यो भनेर घरमा आगो लगायो अरे ! अनि गौंथलीको घर हुर हुर जलेपछि गौंथली त बाहिर निस्केर उड्न थाल्यो । गौंथली घरविहीन भएर त्यहाँबाट निस्किएर बाहिर उड्न थालेपछि घर मालिक मादल निकालेर गीत गाउँदै नाच्न थालेछ । ‘अब कहाँ बस्छौ गौंथली ? घुम्छौ बादलमुनि मायालु’ भन्दै नाच्न थालेछ । गौंथलीको घर गयो भनेर दङ्ग परेर नाच्न थालेछ । आफ्नै घर जलेको चाहिँ उसलाई थाहा छैन । हामीले गौंथलीको घर भनेर आफ्नै घर जल्ने स्थिति नहोस् । (रचनात्मक र सकारात्मक आलोचना गरिनुपर्नेमा जोड दिँदै)

विभिन्न विषयमा अभिव्यक्त उनका गहकिला तथा भिजनरी विचारले ओलीलाई एक अध्ययनशील नेताको रुपमा अब्बल सावित गरेको छ ।

विचार खण्डमा विभिन्न विषयवस्तुहरु समेटिएका छन् । जसका कारण ओलीको विचार, चिन्तन र आकांक्षालाई एकै ठाउँमा अध्ययन गर्न पुस्तकले सहज बनाइदिएको छ । जुनसुकै विषयमा पनि ओजपूर्ण भाषण गर्नसक्ने दक्षता राख्ने ओलीको राजनीति, दर्शन, समाज, धर्म संस्कृति, खेलकुद, ज्ञानविज्ञान, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, जडीबुटी, वन वातावरण, डिजिटल युगलगायतका क्षेत्रमा गहन अध्ययन देखिन्छ । विभिन्न विषयमा अभिव्यक्त उनका गहकिला तथा भिजनरी विचारले ओलीलाई एक अध्ययनशील नेताको रुपमा अब्बल सावित गरेको छ ।

विचार खण्डमा अभिव्यक्त विचार ‘समृद्ध नेपाल, सुखी नेपाली’ केन्द्रित छ । आफ्ना मन्तव्यमार्फत उनले जनताका मुर्छित सपनाहरूलाई जगाउने काम गरेका छन् । त्यस्ता सपनाहरू जुन नेपाल र नेपालीको विकास र समृद्धिका लागि आवश्यक छन्, अनिवार्य छन् र सम्भव पनि छन् ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ अन्तर्भावित तथा समाविष्ट भएको ओलीको आकाङ्क्षित दृष्टि हो ‘समवेत दृष्टि’ । जहाँ उनका दशकौंको अनुभवमा आधारित चिन्तन-मनन मुखरित भएको छ । पुस्तकमा ओलीका चिन्तनले नेपाली समाजको वस्तुगत विश्लेषण गर्नुका साथै नेपाल र नेपालीको समृद्धिका लागि भावी योजना रूपी मार्गदर्शन तथा दिशानिर्देश पनि प्रस्तुत गरेको छ । यो सङ्ग्रहले विभिन्न समसामयिक विषयवस्तु बुझ्न तथा केपी शर्मा ओलीका विचार, दृष्टिकोण र चिन्तन बुझ्न मद्दत पुग्छ ।

३८० पृष्ठको पुस्तकको मूल्य ७५० रुपैयाँ राखिएको छ । वर्तमान र भावी पुस्तालाई उत्साह दिनुका साथै राष्ट्र, राष्ट्रियता र जनताको हितका लागि काम गर्न मार्गनिर्देश गरी चिन्तक भई चिन्तनीय हुन प्रेरित गर्ने ‘सम्पूर्ण किताब’ काठमाडौंले प्रकाशन गरेको यो कृति पठनीय र सङ्ग्रहणीय छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *