कैलाली ४ : रैथाने भट्ट र ‘पाहुना’ बलायर, मुख्य प्रतिस्पर्धी दुई कमान्डर – Nepal Press

कैलाली ४ : रैथाने भट्ट र ‘पाहुना’ बलायर, मुख्य प्रतिस्पर्धी दुई कमान्डर

कैलाली । सुदूरपश्चिम प्रदेशका १६ निर्वाचन क्षेत्रमध्ये अहिले सबैभन्दा धेरै कैलाली क्षेत्र नम्बर ४ को चर्चा छ । यहाँ नेकपा एमाले र सत्ता गठबन्धन दुबैबाट पूर्वमन्त्रीहरु प्रतिस्पर्धामा छन् ।

नेकपा एमालेबाट पूर्वमन्त्री लेखराज भट्ट र सत्ता गठबन्धनबाट कांग्रेसका पूर्वमन्त्री वीरबहादुर बलायर प्रतिस्पर्धामा छन् । भट्ट एमालेका केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज हुन् । बलायर कांग्रेस प्रदेश सभापति हुन् ।

अघिल्लो पटक डोटीबाट एमाले उम्मेदवार प्रेम आलेसँग पराजित बलायर अहिले कैलाली क्षेत्र नम्बर ४ झरेका छन् । अघिल्लो पटक कैलाली ४ बाटै प्रतिनिधिसभामा निर्वाचित भट्ट फेरि जीत निकाल्ने तयारीमा छन् ।

२०७४ मा बलायर आलेसँग १ हजार ६३२ मतले पराजित भए । आले ३२ हजार ५१० मत पाएर विजयी हुँदा बलायर ३० हजार ८७८ मा रोकिएका थिए ।

भट्ट २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा पहिलोपटक माओवादीबाट यसै क्षेत्रमा विजयी भएका थिए । २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा भने उनी कांग्रेस नेता दीर्घराज भाटसँग पराजित भए । २०७४ को निर्वाचनमा भट्टले कांग्रेसका सुनिलकुमार भण्डारीलाई हराए । भट्ट ३१ हजार ३५९ मतसहित विजयी हुँदा भण्डारीले २० हजार ९६० मतमात्रै पाए ।

डोटीमा दुई पटक पराजय र एक पटक जीत निकालेका बलायर र कैलाली ४ मा दुई पटक जितेर एक पटक हारेका भट्टबीचको प्रतिस्पर्धामा कसले बाजी मार्ला ? यसै भन्न सकिने अवस्था छैन । सत्ता गठबन्धनभित्रको मतभारले बलायरलाई ढुक्क बनाएको छ । सत्ता गठबन्धनभित्रको असन्तुष्टिले भट्टलाई सहज देखिन्छ ।

पटक–पटक मन्त्री भएका सुदूरपश्चिम प्रदेशकै शीर्ष नेता भट्ट ‘व्यक्तिगत प्रभाव’ले तेस्रो पटक जीत निकाल्ने दाउमा छन् । यता बलायर भने भट्टको प्रभाव भत्काएर आफू स्थापित हुने रणनीतिमा छन् ।

स्थानीय तहमा वडाध्यक्षले पाएको मतको आधारमा यस क्षेत्रमा कांग्रेस सबैभन्दा बलियो अवस्थामा छ । त्यसैमाथि नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रको पनि साथ बलायरले पाएका छन् । ‘उहाँ (वीरबहादुर बलायर) निर्वाचन जित्नुहुन्छ’, कांग्रेस कैलाली जिल्ला सभापति नारायणदत्त भट्ट भन्छन्, ‘त्यो त्यसै पनि कांग्रेसको गढ हो । त्यसमाथि सबै मिलेका छौं । यहाँ उहाँले नजित्ने त कुरै भएन ।’

स्थानीय तहमा वडाध्यक्षले पाएको मतमा यहाँ कांग्रेसको २२ हजार ९९७, एमालेको २० हजार ८१, माओवादीको १० हजार १२३, नेकपा एसको ४ हजार २९ र राप्रपा ३ हजार २३४ मत छ ।

मतभारका कारण कांग्रेस उम्मेदवार जित्ने दाबी गरिरहेका बेला एमालेले भने क्षेत्र नम्बर ४ मा विकास, समृद्धि र राष्ट्रियताको मुद्दाका कारण भट्टको सहजै जीत हुने दाबी गरेको छ ।

‘उहाँ (लेखराज भट्ट)कै पहलमा गेटा मेडिकल कलेज बन्दै गरेको छ । अहिलेको सरकारले त्यसलाई रोक्यो । धनगढी दिपायल सडक, अत्तरिया धनगढी औद्योगिक कोरिडोर, सुख्खा बन्दरगाह, औद्योगिक क्षेत्रलगायतका कामहरु अझै पूरा गर्न बाँकी छ’, एमाले कैलालीका उपसचिव लोकेन्द्र शाही भन्छन्, ‘अहिलेसम्म भइरहेका विकास निर्माणलाई गति दिन पनि उहाँले जित्नुहुन्छ भन्नेमा हामी ढुक्क छौं ।’

एमाले र कांग्रेसका नेता तथा कार्यकर्ताहरूले आ-आफ्नो पार्टीका उम्मेदवारहरूले जित्ने दाबी गरे पनि मतदाताहरू भने यहाँको निर्वाचनलाई रोचक रुपमा बुझेका छन् ।

यी कुराले बलायरलाई सकस

यहाँ सत्ता गठबन्धनमा कांग्रेस र नेकपा एकीकृत समाजवादीमात्रै समेटिएको छ । प्रतिनिधिसभामा कांग्रेसका बलायर उम्मेदवार बन्दा प्रदेश १ मा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी र २ मा कांग्रेसकै प्रकाश बम उम्मेदवार छन् ।

गठबन्धनमा जसले अघिल्लो पटक जहाँ जितेको हो त्यही पार्टीका उम्मेदवार बन्ने सहमति हुँदा पनि यहाँ त्यो सहमति लागू भएन । अघिल्लो पटक यहाँ तत्कालीन माओवादीबाट भट्ट विजयी भएका थिए । तर, अहिले उक्त क्षेत्रमा माओवादीले कुनै पनि सीट पाएन । त्यसले पनि बलायरलाई जोखिम हुनसक्ने विश्लेषण गरिएको छ ।

कैलाली क्षेत्र नम्बर ४ मा निर्वाचन हुनुभन्दा अघिसम्म सुनिल भण्डारी नै उम्मेदवार बन्ने चर्चा थियो । अघिल्लो पटक पराजित भण्डारी यसपटक आफ्नो जीत सुनिश्चित भएको बताउँदै टिकटको दाबी गरेका थिए । भण्डारीसहित, नैनसिंह महर, प्रकाश बम, भोजराज भट्ट, प्रदीपराज जोशी, डा. लक्ष्मीराज पाठकको नाम पनि सिफारिस गरिएको थियो ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाका समकक्षी भएकाले भण्डारीको सम्भावना बढी रहेको विश्लेषण गरिएको थियो । तर, अन्तिम समयमा सबैलाई पाखा लगाउँदै बलायरले टिकट लिए । टिकटका आकांक्षीहरूले टिकट नपाएर यस पटक गठबन्धन बचाउन डोटीबाट कैलाली ४ आएका बलायरले टिकट पाएपछि पार्टीभित्रै असन्तुष्टिसमेत बढेको थियो ।

बलायरमाथि पाहुना नेताको आरोप लागेको छ । यही कारण पार्टी छोड्ने मुडमा पुगिसकेका भण्डारीले केही दिनअघि पत्रकार सम्मेलन गरेर पार्टी नछोड्ने तर, गलत प्रवृत्तिविरुद्ध लड्ने भनिसकेका छन् ।

यी दुई कारणबाहेक राजधानीका विषयमा बलायरले दिएका अभिव्यक्ति पनि अहिले उनैलाई समस्यामा पारेको छ । प्रदेशसभाबाट गोदावरी राजधानी तोकिँदै गर्दा बलायरले त्यसको विरोध गर्दै डोटीमा राजधानीको लागि भाषणमात्रै गरेनन्, आन्दोलन पनि गरे । अहिले त्यही तोकिएको राजधानी भएको क्षेत्रबाट चुनाव लड्दै गरेका बलायर अघिल्लो पटकका आफ्ना अभिव्यक्तिबाट वेलावेलामा चर्चामा आउने गरेका छन् ।

दुवै नेताको आ-आफ्नै दाबी

सत्ता गठबन्धनका साझा उम्मेदवार बलायर र एमाले नेता भट्टले आफैंले जित्ने दाबी गरेका छन् । ‘मैले प्रारम्भिक राजनीतिक जीवन बिताएको र आफन्त तथा इष्टमित्र बस्ने ठाउँ भएकाले पनि पार्टीले यहाँ पठाएको हुनसक्छ’, बलायर भन्छन् ।

उनले आफू डोटीबाट कैलाली आउँदा उत्पन्न राजनीतिक परिस्थिति आफ्नो कारणले नभएर पार्टीको निर्णय भएकाले सबैले स्वीकार्ने विश्वाससमेत व्यक्त गरे ।

पार्टीभित्रको अन्तर्विरोधले चुनावमा समस्या नपार्ने दाबी गर्दै बलायरले कैलाली ४ बाट विजयी हुने बताए । ‘कसैलाई विस्थापित गरेर म आएको होइन । यो पार्टीको निर्णय हो’, उनी भन्छन्, ‘पार्टीभित्रको अन्तर्विरोधले खासै समस्या गर्दैन ।’

बलायरका प्रतिस्पर्धी एमालेका भट्ट भने समग्र सुदूरपश्चिमको विकास र समृद्धिका लागि आफ्नो उम्मेदवारी भएको बताउँदै विगतमा जस्तै यहाँको जनताले साथ दिने विश्वास गर्छन् ।

‘मैले सुरु गरेका दोधारा चाँदनीको सुख्खा बन्दरगाह, गेटा मेडिकल कलेज, हरैया विशेष व्यापार क्षेत्र, धनगढी गोदावरी औद्योगिक क्षेत्र, सेती लोकमार्ग, खुटिया दिपायल द्रूत मार्गलगायतका दीर्घकालीन योजनाहरूको काम अधुरै छ’, भट्टले भने, ‘यी योजना पूरा गरेर यहाँको विकास र औद्योगीकरणमा फड्को मार्नुपर्ने भएकाले मेरो उम्मेदवारी हो । मलाई सम्पूर्ण विचारसँग जोडिएका आम जनताले सहयोग र समर्थन गर्दै जिताउनेमा विश्वस्त छु ।’

पार्टीभित्र सुनिएका असन्तुष्टिका स्वरहरू निर्णय कार्यान्वयनमा गइसकेपछि मत्थर हुँदै जाने बताउँदै भट्टले अहिले कुनै पनि नेता कार्यकर्तामा द्विविधा नभएकाले एमाले एकढिक्का भएर चुनावमा होमिसकेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *