रवि लामिछानेको परीक्षा : समानुपातिकमा उच्च महत्वाकांक्षा, प्रत्यक्षमा कहाँ-कहाँ बज्ला घन्टी ? – Nepal Press

रवि लामिछानेको परीक्षा : समानुपातिकमा उच्च महत्वाकांक्षा, प्रत्यक्षमा कहाँ-कहाँ बज्ला घन्टी ?

प्रवक्ता भन्छन् : समानुपातिमा पहिलो र समग्रमा तेस्रो शक्ति बन्छौं

काठमाडौं । पूर्वपत्रकार रवि लामिछानेले गठन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो आमनिर्वाचन लड्ने संघारमा पुग्दा उत्साहित देखिएको छ । खासगरी समानुपातिकतर्फ पार्टीले ‘नसोचेको’ परिणाम ल्याउने भविष्यवाणी नेताहरुले गरिरहेका छन् ।

संघीयताको विपक्षमा उभिएको स्वतन्त्र पार्टीले प्रदेशसभाको चुनावमा भागै नलिने निर्णय गरेको थियो । प्रतिनिधिसभातर्फ उसले देशका १३१ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ । तीमध्ये आधा दर्जन निर्वाचन क्षेत्रमा जीत हासिल गर्नसक्ने आन्तरिक मूल्यांकन गरिएको पार्टीका एक नेताले बताए ।

‘प्रत्यक्षतर्फ ५-६ वटा क्षेत्रमा हाम्रो स्थिति बलियो छ’, ती नेताले भने, ‘समानुपातिकमा १० देखि १५ सीटको अपेक्षा गरेका छौं ।’

पार्टीले चितवन २ मा उठेका सभापति रवि लामिछानेको जीत सुनिश्चित भइसकेको ठानेको छ । उक्त क्षेत्रमा रवि भारी अन्तरले जित्ने देखिएको ती नेताले बताए । यस्तै चितवन १ मा पनि आफूहरु अगाडि रहेको उनको दाबी छ ।

कहाँबाट चुनाव लड्ने भन्ने अन्योलमा देखिएका रविले अन्तिम समयमा चितवन २ रोजेका थिए । चुनावको मनोनयनपछि उनी त्यही एउटा भाडाको घरमा बसेर प्रचारप्रसार गरिरहेका छन् । यस क्षेत्रबाट गठबन्धनका तर्फबाट कांग्रेसले राज्यमन्त्री उमेश श्रेष्ठलाई उठाएको छ भने एमालेबाट कृष्णभक्त पोखरेल उम्मेदवार छन् । यी दुवै प्रतिस्पर्धीभन्दा रवि निकै अगाडि रहेको पार्टीको आन्तरिक मूल्यांकन छ ।

चितवन २ को माहोलले केही हदसम्म चितवन १ लाई पनि छोएको छ । यस क्षेत्रमा स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालले कांग्रेसका विश्व पौडेल र एमालेका सुरेन्द्र पाण्डेलाई तनाव दिइरहेका छन् । स्वतन्त्र पार्टीले चितवन १ मा पनि आफूलाई बलियो मान्न थालेको छ ।

काठमाडौंमा यस पार्टीले कम्तिमा दुई निर्वाचन क्षेत्र जित्ने लक्ष्य राखेको छ । काठमाडौं २ बाट स्वतन्त्र पार्टीकी सोविता गौतम चर्चामा छिन् । यही क्षेत्रबाट पूर्वसभामुख ओनसरी घर्ती सत्ता गठबन्धनकी उम्मेदवार हुन् भने एमालेले मणिराम फुँयाललाई उठाएको छ । काठमाडौंका मतदाताले पार्टीभन्दा पनि व्यक्ति हेरेर भोट दिने ट्रेन्ड भित्रिएकाले सोविताबाट स्वतन्त्र पार्टीले आशा राखेको हो । केही अन्तर्वार्ताहरुमार्फत सोभिताले असल छवि निर्माण गरेकी छन् । त्यसो त यसै क्षेत्रमा राप्रपाकी उम्मेदवार कुन्ती पोखरेलको प्रभाव देखिएको छ ।

काठमाडौंमा स्वतन्त्र पार्टीका विराजभक्त महर्जन पनि चुनाव जित्ने दिशामा रहेको पार्टी स्रोतको दाबी छ । विवकेशील पार्टीका पूर्वनेता महर्जन काठमाडौं ८ का उम्मेदवार हुन् । यस क्षेत्रमा गठबन्धनका तर्फबाट जीवनराम श्रेष्ठ र एमालेका शिवसुन्दर राजवैद्यले उम्मेदवारी दिएका छन् । यसबाहेक सुमन सायमी अर्का चर्चित उम्मेदवार हुन् ।

यस्तै ललितपुर ३ मा स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले दिनप्रतिदिन आफ्नो प्रभाव बढाइरहेकी छन् । उनले गठबन्धनको उम्मेदवार माओवादी नेतृ पम्फा भुसाललाई अत्याउने सम्भावना बढ्दो छ । तोसिमाले सरकारी सुविधा लिइरहेको भन्दै निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरिदिएको थियो । तर, अदालतले उक्त निर्णय उल्टाइदियो । आयोगले तोसिमाप्रति देखाएको पूर्वाग्रह नै उनका निम्ति बरदान बन्ने देखिँदैछ । आयोगकै कारण उनी चर्चामा आउन सफल भएकी हुन् ।

स्वतन्त्र पार्टीले मकवानपुरमा पनि आफूलाई बलियो मानिरहेको छ । मकवानपुर १ बाट सुरेश थापा र २ बाट भरत पराजुली स्वतन्त्र पार्टीका उम्मेदवार छन् । थापाले राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका दीपक सिंहको साथमा गठबन्धन उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना) जस्ता हस्तीहरुलाई पन्छाउनुपर्ने हुन्छ, जुन सहज देखिँदैन ।

क्षेत्र नम्बर २ मा स्वतन्त्र पार्टीका पराजुली प्रभावशाली देखिएका छन् । उनले गठबन्धनका उम्मेदवार नेकपा एसका विरोध खतिवडालाई अप्ठेरोमा पार्न सक्ने चर्चा भइरहेको छ ।

स्वतन्त्र पार्टीले आफूलाई बलियो मानेको अर्को जिल्ला नुवाकोट हो । जिल्लाको क्षेत्र नम्बर २ मा स्वतन्त्र पार्टीका उम्मेदवार सुमनविक्रम पाण्डे प्रभावशाली देखिएका छन् । गठबन्धनका अर्जुननरसिंह केसी र एमालेका नारायणप्रसाद खतिवडा उम्मेदवार छन् । उनीहरुमाथि आफ्ना उम्मेदवार हावी हुने स्वतन्त्र पार्टीको दाबी छ । पाण्डे पेशाले पर्यटन व्यवसायी हुन् ।

प्रवक्ता भन्छन् : समानुपातिकमा पहिलो हुन्छौं

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता डा. मुकुल ढकालले आफ्नो पार्टी समानुपातिकतर्फ सबैभन्दा ठूलो दल बन्ने दाबी गरे । समग्रमा देशकै तेस्रो शक्तिका रुपमा स्थापित हुने लक्ष्य रहेको उनी बताउँछन् ।

नेपाल प्रेससँग ढकालले भने, ‘हामी प्रत्यक्षतर्फ घटीमा १५ र समानुपातिकतर्फ २५ देखि ३० सीट ल्याएर तेस्रो शक्ति बन्ने लक्ष्यमा छौं ।’

ढकालका अनुसार स्वतन्त्र पार्टी बलियो रहेका क्षेत्रहरुमा झापा १, सुनसरी १ र २, मोरङ ५, मकवानपुर २, नुवाकोट २, काठमाडौं १, २ र ८ ललितपुर ३ तथा चितवनको १ र २ छन् । यस्तै, काठमाडौंका ६ र ७, मोरङ ६ तथा सल्यान, पाल्पा, बाँके, कास्कीलगायतका विभिन्न क्षेत्रमा पार्टीको अवस्था सुधारोन्मुख रहेको ढकालले बताए ।

‘हाम्रो पक्षमा माहोल अति राम्रो बन्दैछ । मान्छेलाई विश्वास बढ्दैछ । त्यसैले चुनावसम्म अझै मजबुत बन्ने अपेक्षा राखेका छौं’, उनले भने ।

समानुपातिकमा कांग्रेस र एमालेले २० देखि २५ सीट जित्ने तथा आफ्नो पार्टीले २५ भन्दा बढी सीट जित्ने आँकलन उनले प्रस्तुत गरे ।


प्रतिक्रिया

One thought on “रवि लामिछानेको परीक्षा : समानुपातिकमा उच्च महत्वाकांक्षा, प्रत्यक्षमा कहाँ-कहाँ बज्ला घन्टी ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर