आक्रोश र निराशामा बारपाकका मतदाता : न प्रचण्डसँग आशा न त अब्दुशप्रति आकर्षण (भिडिओ) – Nepal Press
मतदातामाझ नेपाल प्रेस

आक्रोश र निराशामा बारपाकका मतदाता : न प्रचण्डसँग आशा न त अब्दुशप्रति आकर्षण (भिडिओ)

बारपाक । २०७२ सालमा आएको महाभूकम्पको इपिसेन्टरका रुपमा चर्चित छ गोरखाको बारपाक । अहिले यही स्थान देशको चुनावी इपिसेन्टर बनेको छ ।

बारपाक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उम्मेदवारी दिएको गोरखा क्षेत्र नम्बर २ मा पर्छ । यसअघि चितवनबाट उम्मेदवारी दिने तयारी गरेका प्रचण्ड अन्तिम समयमा गोरखातिर हाम फालेका थिए । त्यसयता चुनावी चासो यस क्षेत्रमा सोहोरिएको छ ।

एमालेले प्रचण्डको विरुद्धमा अब्दुस मियाँलाई उभ्याएको छ, जो पार्टीका नवआगन्तुक हुन् । पार्टी प्रवेशको केही दिनपछि नै मियाँले प्रचण्डविरुद्ध लड्न टिकट पाएका छन् । प्रचण्ड आफ्नो जीतमा निर्धक्क छन् । अब्दुश अन्तिम समयसम्म पासा पल्टाउन प्रयासरत छन् ।

करिब ६५ हजार मतदाता रहेको गोरखा २ मा २० हजार मतदाता बारपाक सुलिकोट गाउँपालिकाका छन् । यस पालिकाका ८ वटै वडा पुग्न नेताहरुलाई धौधौ छ । कारण, बाटोको समस्या । तर, मत माग्न उम्मेदवारहरु बारपाक पुग्ने क्रम सुरु भएको छ ।

हालै नेकपा एमालेका उम्मेदवार मियाँ बारपाक पुगेका छन् । माओवादी अध्यक्ष प्रचण्ड पनि गाउँ पुग्ने व्यापक चर्चा स्थानीयमा छ । बारपाकका स्थानीय भने अहिले नेताहरुसँग रुष्ट देखिन्छन् । उनीहरु कुनै पनि नेतासँग आशावादी छैनन् ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईको यस क्षेत्रमा गएर नेकपा एमाले अध्यक्ष केपी ओलीदेखि थुप्रै नेतासम्मले आश्वासन छरे । तर, आश्वासनअनुसार बाटो निर्माण नगरेको, गाउँमै स्वास्थ्य चौकीको गुणस्तर सुधार नगरेको, विद्यालय सुधारमा ध्यान नदिएको, सरसफाइ जस्ता सामान्य कुरा पनि पूरा नगरेको भन्दै बारपाकका स्थानीयमा आक्रोश र निराशा देखिन्छ ।

यस संवाददाता बारपाक पुग्दा बसपार्कमाथिको चिया पसलमा भेटिए ९१ वर्षीय सूर्यबहादुर थापा । थापा अहिले मत हाल्ने/नहाल्ने दोधारमा छन् । उनले मत हाल्नुपर्ने कारण नै नदेखेको बताए ।

‘चुनाव लागिरहेछ, भोट हालूँ कि नहालूँ भएको छ । हालेर के काम ? जसलाई हाले पनि कानै चिर्‍या जोगी आउने हो’, उनी निराश सुनिए । थापालाई गोरखा २ बाट प्रचण्ड उठेको जानकारी छ । एमालेका युवा उम्मेदवार मियाँ उनको घर पनि पुगिसके ।

तर, थापालाई न प्रचण्ड उठेकोमा उत्साह छ न त युवा उम्मेदवार घरमै पुगेकोमा । ‘यहाँ जो उठे पनि त्यही हो, आफैं गरेर खाने हो । उनीहरुले दिन्छौं भन्छन्, दिएर कहिलेसम्म पुग्छ ?’ उनले प्रश्न गरे ।

७ वर्ष इराक बसेर आएको बताउने ६० वर्षीय टेकबहादुर घले पनि उस्तै निराश सुनिए । भूपू गोरखा स्मृति भवन नजिकको चौतारामा भेटिएका घले चुनावबाट कत्ति पनि उत्साहित छैनन् । चुनाव आएपछि गाउँमा नेताहरु जनता ढाँट्न हिँडेको उनको बुझाइ छ ।

‘भोट नहालुन्जेल जे पनि भन्छन्, गएपछि केही गर्दैनन् । सोझा जनता ढाँट्न हिँड्छन् चुनावसम्म’, उनले भने । नेताहरु धनी बन्दै जाँदा जनताको अवस्था बिग्रँदो भएको उनले सुनाए ।

घले यो पटक युवा उम्मेदवारलाई जिताउन चाहेको बताउँछन् । तर, पुराना नेताहरु सबै हटिहाल्न नहुने उनको तर्क छ । ‘युवालाई जिताउने हो, म युवालाई नै मत हाल्छु’, घलेले भने, ‘तर, पुराना नेता हट्नुभएन । बुढाहरु पनि चाहिन्छ, उहिलेका कुरा खुइले भन्छन् । तर, पुराना कुरा पनि जान्यो भने फाइदै गर्छ ।’

अब यस क्षेत्रबाट जित्ने उम्मेदवारसँग घलेको ठूलो आशा केही पनि छैन । भन्छन्, ‘अरु केही गरिदिनुपर्दैन, न्याय हेरिदिनु पर्‍यो । आफ्नो चुलोमा आगो आफैं बाल्छौं ।’

बारपाकका स्थानीय अगुवा ७३ वर्षीय धनीराम घले युवालाई जिताउनुपर्ने र पछि खोज्दा पनि भेटिने नेतालाई जिताउन आग्रह गर्छन् । पूर्वसैनिक घले यसअघि २ पटक बाबुराम भट्टराईलाई मत हालेर पठाएको र प्रधानमन्त्रीसमेत बनिसक्दा यस क्षेत्रमा सडक, बिजुलीको समस्या अझै रहेको बताउँछन् ।

बाह्र किलोदेखि बारपाकको सडक पिच गर्ने भाषण दिए पनि ७ वर्ष बितिसक्दा पनि बाटो पिच नभएको उनको गुनासो छ । बिजुली लगातार आउने/जाने गर्दा विद्युतीय सामग्री बिग्रिसकेको उनले सुनाए ।

गाउँमा रहेको स्वास्थ्य चौकीमा वर्षाको समयमा एउटा सिटामोल पनि नपाइने घलेले बताए । ‘कोही बिरामी भएर स्वास्थ्य चौकी जाँदा भन्छन् सिटामोल नै छैन । असार साउनमा झाडापखला चलेको हुन्छ, त्यो वेला धेरै समस्या पर्छ’, उनले भने, ‘सरकारले कति वटा हो, औषधि निःशुल्क बनाएको छ रे, हामीले पाएका छैनौं ।’

प्रचण्ड यस क्षेत्रबाट उठेको उनलाई थाहा छ । तर, प्रचण्डलाई जिताएर फाइदा नहुने उनको तर्क छ । ‘बाबुराम आफैंले मुख्य इलाकामा काम गरे, वडावडामा गरेका छैनन् । के कारणले आफ्नो मित्र यहाँ हालिदिए थाहा भएन, प्रचण्डलाई त खोजेरै भेटिन्न’, उनले थपे ।

बारपाकका १९ वर्षीय कृष्ण मगर अहिले पहिलो पटक संसदीय निर्वाचनमा मत हाल्दैछन् । उनी आफैं युवा भए पनि युवा उम्मेदवारलाई भन्दा पुराना बुद्धिजीवी नेतालाई मत हाल्ने बताए ।

‘युवा पछिका लागि दह्रिलो खम्बा त हो, बुद्धिजीवीलाई भोट दिन्छु । तर, विकासका लागि सोच्नुपर्‍यो’, उनले भने । बारपाकको सरसफाइमा अहिलेसम्म कुनै नेताले ध्यान नदिएको गुनासो गर्दै मगरले पहिला जितेर गएका नेताले गर्नुपर्ने जति काम नगरेको आफूलाई लागेको सुनाए ।

तर, ६० वर्षीया कुमारी सुनार भने गाउँमा भएको विकासबाट सन्तुष्ट देखिन्छिन् । ‘नेताहरुले काम गरेका छन् । बाटो बनाइदिए, पानी ल्याइदिए । सुविस्ता छ’, उनी छोटोमात्र बोलिन् ।


प्रतिक्रिया

One thought on “आक्रोश र निराशामा बारपाकका मतदाता : न प्रचण्डसँग आशा न त अब्दुशप्रति आकर्षण (भिडिओ)

  1. कहिं टिक्न नसकेर भाग्दैभाग्दै गोरखा आएर चुनाव लडदै गरेका चटकेको पछि नलाग्नुहोस् । यहाँका जनता सोझा छन् फस्ल्याङ् फुस्लुङ् पारौंला भनेर आएकालाई सवक सिकाउने मौका हो गोर्खाली दाजुभाइ दिदीबहिनीले । अर्का तपाईहरूले विश्वास गर्दै आएकाले छोरी जिताउन आफूले भ्रष्टाचारी काम नलाग्ने भनेको पार्टीको लागि तपाईहरूको भोट बेच्दैछन् । होशियार रहनुह‍ोला । दुवैको रिमोट एउटैको हातमा छ ।

Leave a Reply to ksp pyl Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर