प्रकाश दूतराजको ‘आत्महत्या प्रयास’ : भूमिका गिरीको विवादास्पद भूमिका – Nepal Press

प्रकाश दूतराजको ‘आत्महत्या प्रयास’ : भूमिका गिरीको विवादास्पद भूमिका

काठमाडौं । गायक प्रकाश दूतराजले अष्ट्रेलियामा आत्महत्या प्रयास गरेकोसम्बन्धी घटना अन्योलपूर्ण देखिएको छ । उक्त घटनाको विवरण बाहिर ल्याएकी गायिका भूमिका गिरी आफैँले अहिले समाचार खण्डन गरेकी छन् ।

अष्ट्रेलियामा रहेका गायक दूतराजले आइतबार राति आफू बसेको फ्ल्याटमा आत्महत्या गर्न खोजेको समाचार हिजो नेपाल प्रेसले प्रकाशित गरेको थियो । त्यसपछि अन्य अनलाइन पोर्टलहरूमा पनि लगातार समाचार आएका थिए । उक्त समाचारका विषयमा गायक दूतराजले आज सामाजिक सञ्जालमार्फत प्रतिक्रिया व्यक्त गरेका छन् । उनले ठाडै समाचारको खण्डन नगरी आफूबारे ‘गलत बुझाइ भएको’ प्रष्टीकरण दिएका छन् ।

‘म केही छिन हराउनु म मर्नु होइन नि,’ दूतराजले फेसबुकमा लेखेका छन्, ‘गलत बुझाई तथा सूचनाको आधारमा प्रकाशित समाचारहरूले मलाई माया गर्नुहुने सदा आशीर्वाद दिनुहुने हजुरहरू सबैमा पर्न गएको असरप्रति क्षमा माग्छु ।’

दूतराजले आफू कहिले बन्द कोटाभित्र घण्टौँसम्म थुनिएर बस्ने स्वभाव वा रोग रहेको पनि उल्लेख गरेका छन् । यही कारण आफूले आफैँलाई दुखी बनाएको उनको अनुभूति छ ।

गायिका गिरिले पनि स्टाटसमार्फत घटना ‘सामान्य’ भएको बताएकी छन् । समाचारमा आएका सबै कुरा वास्तविक नभएको उनको भनाइ छ ।

हेर्नुस् स्टाटस

प्रकाश दूतराज र भूमिका गिरीले गाएको ‘देउराली…’ बोलको गीत केही दिनअघि मात्रै युट्युबमा आएको छ । यसअघि दुई वर्षअघि उनीहरूले गाएको ‘चोली मैलै भो…’ बोलको गीत सुपर हिट भएको थियो । यही गीतले भूमिकालाई चर्चामा ल्याएको हो । अहिले दूतराज र भूमिका अष्ट्रेलियाका विभिन्न शहरमा कन्सर्ट गरिरहेका छन् । उनीहरू गत २० अक्टोबरमा अष्ट्रेलिया प्रस्थान गरेका थिए ।

अष्ट्रेलिया टुरका क्रममा ब्रिस्बेनमा रहँदा सो घटना भएको हो । भ्रमणका लागि निम्त्याएका आयोजकले उनीहरूलाई एउटै फ्ल्याटमा राखेको थियो । राति २ बजे दूतराजले आफ्नै कोठाभित्र झुन्डिने प्रयास गरेको र आफूले थाहा पाएर बचाएको भूमिकाले मिडियाहरूलाई बताएकी थिइन् । के कारणले दूतराजले ‘आत्महत्या प्रयास’ गरे भन्ने खुलेको छैन । तर, आफैँ समाचार फैलाउने र अहिले अहिले आफैँ खण्डन गर्ने भूमिकाको भूमिका विवादास्पद देखिएको छ ।

दूतराज र भूमिका दुवै अविवाहित गायक–गायिका हुन् । आजको स्टाटसमा भूमिकाले दूतराजलाई ‘भाइ’ सम्बोधन गरेकी छन् । समाचार बाहिर आएपछि आफूलाई अप्ठेरो परेको गुनासो दूतराजले गरेपछि भूमिकाले यो स्टटास लेखेको बुझिएको छ । तर, त्यस रात उनीहरुबीच भएको के थियो र किन दूतराजले गलत कदम चाल्न खोजे भन्ने चाहिँ उनीहरूले नै बताउन सक्छन् । सिड्नीमा कार्यक्रम सकेपश्चात् केही दिनमा उनीहरू स्वदेश फर्किने कार्यक्रम छ ।

हामीले भूमिकासँग आज कुराकानी गर्न खोज्दा उनी उपलब्ध भइनन् । उनको भाइवर नम्बर रिसिभ भएन भने फेसबुक म्यासेन्जरमा पनि रेस्पोन्स गरिनन् ।

को हुन् दूतराज र भूमिका ?

दूतराज म्याग्दीका हुन् भने भूमिका दाङकी हुन् । उनीहरू दुवै दोहोरी साँझमार्फत सांगीतिक क्षेत्रमा प्रवेश गरेका थिए । दूतराज ‘घर कता हो बैनीको…’ गीत हिट भएपछि चर्चामा आएका हुन् । त्यसअघि पनि उनले थुप्रै गीतहरू गाइसकेका थिए । ‘चोली मैलै भो’ र ‘जाम भो माइली’ जस्ता गीतले उनलाई थप सफलता दिएको छ ।

दूतराजसँग गाएको चोली मैलै भो गीतले भूमिकालाई पनि चर्चामा ल्याइदियो । उनीहरूले दुई साताअघि नयाँ गीत ‘देउराली’ ल्याएका छन् । त्यसलाई पनि राम्रो रेस्पोन्स मिलिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *