डडेल्धुरामा प्रहरी र सागर ढकालबीच चर्काचर्की (भिडिओ) – Nepal Press

डडेल्धुरामा प्रहरी र सागर ढकालबीच चर्काचर्की (भिडिओ)

ढकाल भन्छन् : बोल्न पाउने अधिकार कुण्ठित भयो

कैलाली । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेर बहादुर देउवाको गृह जिल्लामा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकाल र प्रहरीबीच आज भनाभन भएको छ ।

आफ्नो प्रचार गरिरहेका बेला प्रहरीले आचारसंहिता उल्लङ्घन गरेको भन्दै रोक्न खोजेपछि दुबै पक्षबीच विवाद भएको थियो । प्रहरीले ढकाललाई माइकिङ गर्ने रोक लगाएको थियो ।

ढकालले आचार संहिता उल्लङ्घन गरेको प्रहरीले आरोप लगाएपछि उनका पक्षमा रहेकाहरूले प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको कार्यक्रममा आचारसंहिता उल्लंघन भए नभएको बारे प्रहरीलाई प्रतिप्रश्न गरेका थिए । उनीहरुले प्रहरीलाई अन्य गाडीहरूमा पनि झन्डासहित प्रचारप्रसार भइरहेको भन्दै रोक्नु पर्ने बताएका थिए । त्यसपछि प्रहरीले आफूलाई प्रचार प्रसार गर्न नदिएको भन्दै ढकालले सामाजिक सञ्जालमा पनि गुनासो गरे ।

ढकालले भनेका छन्, ‘मलाई जोगाइदिनुस् मलाई अब प्रचार प्रसारमा डडेल्धुरामा रोक लगाइएको छ । शेरबहादुरले खुलमखुल्ला नियम कानुन उल्लङ्घन गर्दा आँखा बन्द गरेको प्रशासन आज मैले हर्क साम्पांङ जस्तो गरी माइकिङ गर्न पनि दिएको छैन ।’

ढकालले सामाजिक सञ्जाल मार्फत प्रहरी प्रशासनमा रोक लगाएको आरोप लगाए लगत्तै जिल्ला प्रशासन कार्यालय डडेल्धुराले पनि यस विषयमा प्रष्टीकरण दिएको छ । प्रशासकीय अधिकृत हेम प्रसाद ढकालले विज्ञप्ति जारी गर्दै निर्वाचन आचार संहितमा रहेर गरिएको प्रचारप्रसारमा कुनै अवरोध नभएको जनाइएको छ ।

भिडिओ:

आचारसंहितमा रहेर प्रचार गर्ने राजनैतिक दल र उम्मेदवारलाई आवश्यक सुरक्षाको व्यवस्था पनि रहेको उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यता ढकालले भने प्रशासनले पूर्वाग्रही भएर आफूलाई अवरोध गरेको आरोप लगाएका छन् । ‘मैले मेरो बिचार राख्दै आइरहेको थिए । मबाट डराएर मलाई हस्तक्षेप गरिएको छ’ उनले नेपाल प्रेसलाई भने, ‘मेरो बोल्न पाउने र आफ्ना विचार राख्न पाउने अधिकार कुण्ठित गरिएको छ ।’

आफ्नो जित सुनिश्चित भएपछि त्यसबाट डराएर आफू विरुद्ध प्रहरी प्रशासनलाई प्रयोग गरेको ढकालले बताए ।


प्रतिक्रिया

One thought on “डडेल्धुरामा प्रहरी र सागर ढकालबीच चर्काचर्की (भिडिओ)

  1. डडेलधुरा की जनता सागर ढकालको साथ छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर