सत्यमोहन जोशीको प्रथम मदन पुरस्कार कथाः माधव घिमिरेले ऋण मागे, जोशीले दिएनन् ! – Nepal Press

सत्यमोहन जोशीको प्रथम मदन पुरस्कार कथाः माधव घिमिरेले ऋण मागे, जोशीले दिएनन् !

इटहरी । मदन पुरस्कारको प्रथम हस्तान्तरण २०१३ सालमा भएको थियो । तीन जनाले एकमुस्ट मदन पुरस्कार पाएका थिए । तीन जनामा एक अनुहार सत्यमोहन जोशीको थियो । जोशीको पुस्तक ‘हाम्रो लोकसंस्कृति’, चितरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा’ र बलराम जोशीको ‘अधिकविभव स्थिर विद्युत उत्पादन’ पुस्तकले मदन पुरस्कार पाएका थिए ।

जोशीका अनुसार उनले प्रकाशित पुस्तकको लागि नभएर पाण्डुलिपिको लागि प्रथम मदन पुरस्कार पाएका थिए । पुरस्कारपछि रत्न पुस्तक भण्डारले भारतमा उक्त पुस्तक प्रकाशन गरेको थियो । २०१३, २०१७ र २०२८ सालमा तीनवटा मदन पुरस्कार पाएर रेकर्ड बनाएका जोशीको २०१७ को पुस्तक ‘नेपाली राष्ट्रिय मुद्रा’को पुरस्कार पनि पुस्तक नभएर पाण्डुलिपिमै आएको थियो । २०२८ मा भने उनले ‘कर्णाली लोक संस्कृति इतिहास’ नामक पुस्तकका लागि पुरस्कार पाएका थिए ।

पहिलो मदन पुरस्कार रकमः खरिदारको तलबभन्दा १२० गुणा धेरै

पहिलो मदन पुरस्कार पाउँदा जोशी खरिदार तहको सरकारको नोकरी गर्थे । २००१ सालमा आईए पढाइ सकेर बीए पढ्दै गर्दा उनी भीमबहादुर पाँडे नेतृत्वको ‘औद्योगिक समाचार संकलन अड्डा’मा जोडिएका थिए । त्यही कामको सिलसिलामा उनले लमजुङ र तनहुँ जिल्लामा फिल्डमा खट्न पाए । त्यही खटाइका दौरान उनले आफ्नो जागिरमात्रै खाएनन्, गाउँघरका लोकभाकाहरुको मिहिन अध्ययन गरे । आनन्द लिए । सँगै भाकाहरु संकलनसमेत गरे ।

त्यो वेलाको समाजको मनोविज्ञान, चिन्तादेखि गोर्खा भर्तीका कथासम्म लोकभाकामा आएको जोशीले पाए । केही लोकभाकाका शब्द यस्ता थिएः

सुरेबुरे लाँकुरीको ढलिहाल्यो मुना
सौता ल्यायौ मेरो खसम सधैं मलाई रुन

……

रानीको वनमा डढेलो लाग्यो चैतको धुपले
यो वेलासम्म घरबार छैन के गर्नु रुपले

……

लाहुरेको काँधमै झोला
हान्छ क्यारे जर्मनले बमगोला

…..

गाई पाल्यो रेलीमाई वनको बाघलाई
छोरो पाल्यो रेलीमाई जर्मनको धावालाई

…..

चौतारीमा वर र पीपल पातै बराबरी
दिनले हुँला जेठी र कान्छी माया बराबरी

एकातिर जागिर खाने, अर्कोतिर आफ्नो रुचिको विषयमा खोज र संकलन गरे । त्यसैको प्याकेज संकलन थियो उनको ‘हाम्रो लोक संस्कृति’ जसलाई प्रथम मदन पुरस्कार दिइयो । मदन पुरस्कारको २०१३ सालको ६ हजार रकम थियो । त्यो समयमा एक खरिदारको तलब ५० रुपैयाँ भएको जमानामा मदन पुस्कारको रकम तलबभन्दा १२० गुणा धेरै थियो । जोशी आफैंले ५० रुपैयाँ तलबमा ८ रुपैयाँ सञ्चयकोषमा काटेको अनुभव गरेका थिएँ । त्यो जमानामा पैसाको भाउ अहिलेभन्दा धेरै थियो । यी सबैले त्यो बेलाको ६ हजार ज्यादै ठूलो रकम भयो । त्यो रकम घरमा आएपछि महोल नै अगल भयो । ऋण माग्नेहरु आए । घरजग्गा बेच्नेहरु आए । अरु त अरु कवि माधव घिमिरेले घर बनाउने ऋण पनि अप्रत्यक्ष रुपमा जोशीसँग मागेका थिए ।

यसबारेमा जोशीले गिरीश गिरीले संकलन गरेको पुस्तक ‘सत्यमोहन’मा खुलाएका छन् । उनले भनेका छन्, ‘त्यत्रो पैसा पाएको थाहा पाएपछि भर्खरै काठमाडौंमा घर बनाउने तयारीमा लागेका कविवर माधवप्रसाद घिमिरेले मेरा साथी नरकान्त अधिकारीमार्फत् सापटी मागेका थिए । अधिकारीले मलाई ‘भाइ कविवर घिमिरेले कपुरधारामा घर बनाउँदैछन् । उनलाई पैसाले साह्रै आपत् परेको रहेछ’ भनेर सुनाए । तर, मैले त्यो वेला उक्त पैसा घिमिरेलाई दिइनँ । त्यो पैसा मेरा बालाई दिइसकेको जवाफ दिए । सत्य पनि त्यही नै थियो ।’

मदन पुरस्कारको रकम पाएपछिको घरमा लागेको भीडभाडबारेमा जोशीले भनेका छन्, ‘पहिलो मदन पुरस्कार पाएपछि मसँग सापटी माग्नेमात्र नभई मेरा बालाई आफ्ना विभिन्न सम्पत्ति बेच्न खोज्नेहरुको पनि त्यो ताका मेरो घरमा लाइनै लागेको थियो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर