गण्डकीका यी १५ उम्मेदवार : जसले आफैँलाई भोट हाल्न पाउने छैनन् – Nepal Press

गण्डकीका यी १५ उम्मेदवार : जसले आफैँलाई भोट हाल्न पाउने छैनन्

पोखरा । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिँदो छ । उम्मेदवारहरू अहिले चुनावी अभियान थालिसकेका छन्, मतदाताकहाँ मत माग्न धाइरहेका छन् ।

निर्वाचन नजिकिँदा मतदातासँग मत मागिरहेका गण्डकीका १५ उम्मेदवारहरूले भने आफैँलाई मत हाल्न पाउने छैनन् । आफ्नो क्षेत्र छाडेर अर्को क्षेत्रको चुनावी प्रतिस्पर्धामा गण्डकीका १५ उम्मेदवार छन् ।

गण्डकीमा आफैँलाई मत हाल्न नपाउने सबैभन्दा हेभिवेट उम्मेदवार हुन्, पुष्पकमल दाहाल ‘प्रचण्ड’ । चितवनका प्रचण्ड अहिले चुनाव लड्न गोरखा २ आइपुगेका छन् ।

यसअघि पनि विभिन्न निर्वाचन क्षेत्र सरिसकेका प्रचण्ड यो चुनावमा गोरखा रोजेका हुन् । गोरखा २ बाट यसअघि चुनाव लडेका दुई प्रतिस्पर्धी बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले क्षेत्र खाली गर्दै प्रचण्डलाई गोरखा ल्याएका हुन् । प्रचण्डको भिडन्त चुनावमा नेकपा एमालेका अब्दुस मियाँसँग हुँदै छ ।

पाँच दलीय गठबन्धनका अर्का नेता राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि रुपन्देहीबाट मतदाता नामावली सारेका छैनन्, यस कारण उनले पनि यो चुनावमा आफैँलाई मत हाल्न पाउने छैनन् । बागलुङ १ बाट निर्वाचनमा होमिएका केसीको भिडन्त नेकपा एमालेका सूर्य पाठकसँग हुँदै छ ।

शिक्षामन्त्री देवेन्द्र पौडेल पनि यस निर्वाचनमा आफ्नो क्षेत्रबाट उम्मेदवार छैनन् । पौडेलको क्षेत्र बागलुङ १ हो, जहाँ जनमोर्चाका केसी उम्मेदवार छन् । बागलुङ नगरपालिका १२ अमलाचौरका पौडेल बागलुङ २ मा एमालेकी मञ्जु शर्मा चालिसेसँग भिड्ने छन् ।

नेपाली कांग्रेसका उप-सभापति धनराज गुरुङ र नेकपा एमाले सचिव पद्मा अर्यालको चुनावी भिडन्तलाई रोचकताका साथ हेरिएको छ । अर्जुनचौपारी गाउँपालिकाका स्थायी गुरुङ अहिले स्याङ्जा २ मा उम्मेदवार बनेकाले गुरुङले पनि आफैँलाई मत हाल्न पाउँदैनन् ।

तनहुँ २ बाट निर्वाचनमा होमिएका कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले आफैँलाई मत हाल्न पाउने छैनन् । उनको क्षेत्र तनहुँ १ भएपनि सो क्षेत्रमा कांग्रेसकै नेता रामचन्द्र पौडेल उठ्ने भएपछि भण्डारीले ठाउँ सरेर तनहुँ २ मा आएका हुन् । भण्डारीको प्रतिस्पर्धा यसपटकको निर्वाचनमा नेकपा एमालेका नेता किरण गुरुङसँग हुँदै छ ।

कास्की २ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका श्रीनाथ बरालले पनि आफैँलाई मत हाल्न पाउने छैनन् । मतदाता नामावलीमा बरालको नाम कास्की १ मा छ । सत्ता गठबन्धनमा सिट बाँडफाँटका क्रममा कास्की १ नेपाली कांग्रेस र कास्की २ नेकपा एकीकृत समाजवादीको भाग परेको थियो । सोही अनुसार कास्की २ बाट अहिले बराल नेकपा एसबाट उम्मेदवार बनेका हुन् ।

कास्कीमा सत्ता गठबन्धनको तर्फबाट कास्की १ (१) मा उम्मेदवार बनेका दीपक कोइराला पनि अहिलेको चुनावमा आफूलाई मत हाल्न पाउँदैनन् । कास्की १ (२) का स्थायी कोइराला अहिले १ (१) मा नेकपा एमालेका स्थायी कमिटी सदस्य खगराज अधिकारीसँग चुनाव लड्दैछन् ।

नेपाली कांग्रेसबाट गण्डकी प्रदेशका आगामी मुख्यमन्त्रीका रूपमा हेरिएका सुरेन्द्रराज पाण्डेले पनि आफैँलाई मत भने हाल्न पाउने छैनन् । गोरखा २ ९१० का पाण्डे यस निर्वाचनमा गोरखा २ ९२० बाट उम्मेदवार बनेका छन् । पाण्डेको चुनावी भिडन्त नेकपा एमालेका वसन्त गुरुङसँग हुनेछ ।

कास्की ३ (१) मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका माओवादीका दुर्गादत्त भण्डारी पनि आफैँलाई मत हाल्न नपाउने उम्मेदवारमध्ये एक हुन् । भण्डारीको चुनावी प्रतिस्पर्धी नेकपा एमालेका गणेशमान गुरुङ हुन् । कास्की ३ (२)० का स्थायी भण्डारीले ३ (२) मा चुनाव लड्न नपाएपछि ३ (१) लागेका हुन् । कास्की ३ (२) मा नेपाली कांग्रेसका प्रकाश बराल उम्मेदवार बनेका छन् । माओवादीबाटै कास्की २ (१) मा उम्मेदवार बनेका विश्वप्रकाश लामिछानेले पनि आफैँलाई मत हाल्न पाउँदैनन् । माओवादीबाट गोरखा १ (१) मा उठेका कृष्णप्रसाद धितालले पनि क्षेत्र सरेका छन् । गोरखा १ (२) का स्थायी धिताल सत्ता गठबन्धनबाट चुनाव लड्न १ (१) मा गएका हुन् ।

स्याङ्जा २ (१) का उम्मेदवार नेकपा एकीकृत समाजवादीका रामचन्द्र भट्टराई, बागलुङ २ (१) मा उम्मेदवारी दिएका नेपाली कांग्रेसका जित शेरचन, नेकपा एसबाट नवलपुर २ (२) मा उठेका गोपाल खनालले पनि आफैँलाई मत हाल्न पाउने छैनन् ।

तनहुँमा माओवादी नेता तथा गण्डकी प्रदेशका पूर्व कानून मन्त्री हरिबहादुर चुमानसँग चुनाव लड्न होमिएका नेकपा एमालेका पूर्ण गुरुङ पनि आफैँलाई मत हाल्न नपाउने उम्मेदवार हुन् ।

‘पार्टीले उठ् भनेपछि जुन क्षेत्र भएपनि उठ्नुपर्छ’

आफैँलाई मत हाल्न नपाउने उम्मेदवारहरुको एकै स्वर छ– पार्टीले उठ् भनेपछि उठ्नुपर्छ ।

तनहुँ २ मा नेपाली कांग्रेसका उम्मेदवार शंकर भण्डारी लोकतन्त्रमा एक मतले पनि अन्तर पार्ने भएता पनि पार्टीले उठ्न भनेपछि जहाँ पनि उठ्न तयार हुनुपर्ने बताउँछन् । आफैँलाई मत हाल्न नपाउँदैमा चुनावै लड्दिनँ भन्नु तार्किक नहुने उनले जोडे । ‘जुन क्षेत्रको भएपनि पार्टी संगठन, कार्यकर्ता र आम जनताले मत हालेर जित्ने हो र मैले जित्छु भन्ने लाग्छ,’ उनले भने, ‘ पार्टीले उठ् भनेपछि उठ्नै पर्छ ।’

कास्की २ मा उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका श्रीनाथ बराल जुन क्षेत्र भएपनि पार्टी संगठन र उम्मेदवारको योगदानले जित्ने भएकाले क्षेत्र हेर्न नहुने बताउँछन् ।

आफ्नो उदाहरण दिँदै उनले भने, ‘मैले राजनीतिक रूपमा कास्की १ मा जत्तिकै काम कास्की २ मा गरेको छु । यहीँबाट आन्दोलन गरेको छु, पक्राउ परेको छु । यही ठाउँ बुझेको छु, जुनै क्षेत्र भएपनि आफ्नो योगदानले जित्ने हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *