सातौं पटक उम्मेदवार बनेका शेरबहादुर देउवालाई कर्ण मल्लका सात प्रश्न – Nepal Press

सातौं पटक उम्मेदवार बनेका शेरबहादुर देउवालाई कर्ण मल्लका सात प्रश्न

कैलाली । प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा सातौं पटक निर्वाचनमा होमिँदैछन् । यसअघि २०४८, २०५१, २०४६, २०६४, २०७० र २०७४ मा निर्वाचनमा अपराजित देउवा यस वर्ष सातौं पटक निर्वाचनको मैदानमा छन् ।

देउवालाई छैटौं पटकसम्म साथ दिएका कर्ण मल्ल अहिले उनीविरुद्ध निर्वाचनमा खडा भएका छन् । नेपाली कांग्रेसबाट उम्मेदवार भएका देउवालाई कांग्रेस बीपीबाट मल्लले काउन्टर दिएका हुन् ।

सत्ता गठबन्धनअन्तर्गत माओवादी केन्द्रले देउवालाई समर्थन गरेको छ । सत्ता गठबन्धनकै नेकपा एकीकृत समाजवादीले मल्ललाई समर्थन गरेको छ ।

यसैबीच सातौं पटक निर्वाचनमा होमिएका देउवालाई मल्लले बुधबार सात प्रश्न गरेका छन् । डडेल्धुरामा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री डडेल्धुरा पुग्ने दिन मल्लले सात प्रश्न गरेका हुन् ।

पहिलो प्रश्नमा उनले देउवालाई २०४८ सालको निर्वाचन सम्झाए । ‘२०४८ साल वैशाख २९ गतेको निर्वाचनमा मतदातालाई सम्बोधन गर्दागर्दै काठमाडौंमा घर बनाए भने विवाह गरेर छोराछोरी विदेश पढ्न पठाए भने त्यो दिनबाट मलाई तपाईंसँग मत माग्ने अधिकार छैन । मलाई मत नदिनुहोला भन्नुभएको हो कि होइन’, उनले सोधे, ‘म ६ पटकसम्म मत मागेको र मत हालेको एउटा नागरिक पनि हो । यो प्रश्नको जवाफ चाहिएको छ ।’

मल्लको दोस्रो प्रश्न थियो, ‘त्यही आमसभामा तपाईंले सबैभन्दा ठूलो विश्वविद्यालय गाउँ रहेछ । पीडामा रहेका जनताको लागि सिकाइ गाउँ बस्ती रहेछ भन्नुभएको थियो । गाउँ विश्वविद्यालय मान्नुभएको हो भने ५ वर्षमा डडेल्धुरामा कुन गाउँमा कति पटक जानुभएको छ ? अब मत माग्ने अधिकार छ ?’

तेस्रो प्रश्नमा मल्लले भष्ट्राचारको प्रसङ्ग निकाले । उनले सोधे, ‘घुस खाने र घुस लिने दुबै धमिरा हुन् भन्नुभएको थियो । तपाईंले गीतालाई साझी राखेर एउटा रुपैयाँ पैसा घुस खाएको छैन, खाने सोचमा छैन भन्न सक्नुहुन्छ ?’

मल्लले देउवामाथि मेडिकल कलेज र एयरपोर्टको नाममा भ्रममा राखेकोसमेत आरोप लगाए । ‘मेडिकल कलेज र एयरपोर्ट म बनाउँछु भन्दै हुनुहुन्छ । यो बनाउने तपाईंको अवधारणा थिए ? तारा जोशी र गोविन्द केसीको थियो यसको उत्तर छ ?’, मल्लले सोधे ।

उनले प्रधानमन्त्री तथा पार्टी सभापतिविरुद्ध हिन्दू धर्म कि धर्म निरपेक्षताको पक्षमा रहेको भन्ने प्रश्नसमेत गरेका छन् । उनले प्रश्न थियो, ‘तपाईं हिन्दूवादी कि धर्म निरपेक्षता ? अब पाएको मतका आधारमा नेपाललाई हिन्दू राष्ट्र बनाउन सक्नुहुन्छ ?’

पटक-पटक निर्वाचनमा आएर विकास दिन्छु भनेको तर त्यसपछि चासो नदिइको भन्दै मल्लले सोधे, ‘तपाईं यो पटक यहाँको सिंचाइ बनाउँछु, खानेपानी बनाउँछु, कालोपत्रे सडक बन्नेछ, पुल बन्नेछ भन्नु भएको थियो । अहिले ती गाउँमा ती विकास भएका छन् ?’

उनले आफूले सोधेको प्रश्नको जवाफ प्रधानमन्त्रीबाटै आउनुपर्ने बताए । ज्योतिषले देउवालाई सात पटकसम्म प्रधानमन्त्री बन्छ भनेको प्रसङ्ग निकाल्दै मल्लले आफूमा पनि अहिले देउवालाई हराउने योग रहेको बताए ।

‘उहाँले नै उत्तर दिनुपर्नेछ । अभिभावकको दृष्टिकोणमा पनि उत्तर दिनुपर्नेछ’, उनले भने, ‘मेरो ज्योतिषले पनि मलाई तिम्रो ग्रहदशाले शेरबहादुर देउवालाई हराउने छौं भनेको छ ।’

प्रधानमन्त्री रहेको सभामा आफूलाई ५ मिनेट समय दिनसमेत उनले माग गरेका छन् । पत्रकार सम्मेलनमा उनले कांग्रेसलाई प्रचण्ड कांग्रेस, सानेपा कांग्रेस भनेर सम्बोधन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर