पूर्वसहयोद्धासँगको प्रतिस्पर्धाबारे गौरीशङ्कर भन्छन्- उहाँ पाहुना हो, मेरो जीत निश्चित छ – Nepal Press
नेपाल टक

पूर्वसहयोद्धासँगको प्रतिस्पर्धाबारे गौरीशङ्कर भन्छन्- उहाँ पाहुना हो, मेरो जीत निश्चित छ

कैलाली । कैलाली क्षेत्र नम्बर ३ मा अहिले पूर्वसहयोद्धाहरू एक-अर्काविरुद्ध चुनावी प्रतिस्पर्धामा छन् । सत्ता गठबन्धनबाट कृष्णकुमार चौधरी कुन्दन र एमालेबाट गौरीशङ्कर चौधरी चुनावी मैदानमा आमनेसामने भएका हुन् ।

२०६४ सालमा माओवादीबाट संविधानसभा सदस्यमा कुन्दन विजयी हुँदा सोही क्षेत्रमा २०७० सालको दोस्रो संविधानसभामा माओवादीबाटै गौरीशङ्कर विजयी भएका थिए । २०७४ सालमा बाम गठबन्धनबाट गौरीशङ्कर पुनः विजयी हुँदा कुन्दनले माओवादी छोडिसकेका थिए । उनी नयाँ शक्तिबाट प्रदेशसभाको उम्मेदवार भए । नयाँ शक्तिबाट जसपा हुँदै केही महिनाअघि माओवादी केन्द्र प्रवेश गरेका कुन्दन र माओवादीबाट एमाले गएका गौरीशङ्करबीचको चुनावी प्रतिस्र्धा रोचक हुने देखिएको छ । यहाँ नागरिक उन्मुक्तिबाट गंगा चौधरी चुनावी मैदानमा छन् । कुन्दन र गौरीशङ्करबीचको प्रतिस्पर्धामा गंगाको इन्ट्रीले माहोल अझै तातेको छ ।

प्रस्तुत छ, पूर्वसहयोद्धासँग प्रतिस्पर्धा गर्दाको अवस्था, चुनावी एजेन्डा र निर्वाचन तयारीबारे एमाले उम्मेदवार गौरीशङ्कर चौधरीसँग गरिएको कुराकानी नेपाल टकमा

– चुनावको चटारो कस्तो छ ?

चुनाव लागिरहेको छ । जनता, मतदातासँग भेटघाट गरिरहेका छौं । आफ्नो कुरा राख्ने र जनताको कुरा सुन्ने गरिरहेका छौं ।

– मतदाताहरुबाट कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?

हामी पुग्दा मतदाताहरू खुशी भएको पाएका छौं । हामीले गरेका कामहरू पनि उहाँहरूलाई राख्दै आइरहेका छौं । धेरै राम्रा कामहरूबारे जनतालाई थाहा रहेछ । अब निर्वाचनपछि पनि हामीले गर्ने कामहरू बुझाउँदै आइरहेका छौं । यसले गर्दा पनि हामीले जनताको विश्वास पाइरहेका छौं ।

– कस्ता एजेन्डा बोकेर हिँडिरहनुभएको छ ?

म लगातार दुई पटक यो क्षेत्रबाट निर्वाचित भएँ । त्यो वेलाबाटै मैले यहाँ केही कामहरू सुरु गरेको थिएँ । छोटो अवधि कृषिमन्त्री हुँदा नेपालमै पहिलो पटक प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुरु गरें । त्यो कार्यक्रमअन्तर्गत सुपर जोन, जोन, ब्लक र पकेट क्षेत्र चलिरहेको छ ।

उत्पादन गरेको वस्तुलाई राख्न पहलमानपुरमा कोल्ड स्टोर स्थापनाको लागि सुरुमा ३ करोड छुट्याएर मैले कोल्ड स्टोर सुरु गरिदिएको थिएँ । अहिले सञ्चालनमा आएको छ । अर्ग्यानिक मल उत्पादन उद्योग, माटो परीक्षण केन्द्रलगायतका महत्त्वपूर्ण कामहरू गरेको छु । अझै पनि यस क्षेत्रको विकासको खाका नै मेरो एजेन्डा हो ।

नेकपा एमालेको बढ्दो आकर्षण, मैले विगतमा गरेका राम्रो काम र आगामी मेरो यस क्षेत्रको विकासको रणनीतिका कारण म जित्छु भन्नेमा विश्वस्त छु ।

– तपाईंले धेरै काम गरे भन्नुहुन्छ । तर, जनताले दुई पटक सांसद र दुई पटक मन्त्री हुँदा पनि काम गर्न सक्नुभएन भन्ने आरोप लगाउँछन् नि ?

त्यो आरोपमात्रै हो । म मन्त्री हुँदा यहाँ किसानलाई मलको कुनै अभाव हुन दिएन । स्थानीयस्तरमा कोइलही ताललाई पर्यटकीय क्षेत्र मेरै पहलमा भएको हो । कटैनी नदीमा ९ वटा झोलुंगे पुल सम्पन्न गराइसकेको छु । हौसलपुर, मोहनपुर, भितरियामा झोलुंगे पुल बन्दैछ । कन्द्रा नदीमा नै थुप्रै झोलुङ्गे पुल निर्माण भएको छ । केही बन्दैछ ।

हसुलिया मसुरिया सडक आधा पिच भइसकेको छ । अर्काे १० करोडको टेन्डर भइसकेको छ । लालभोजी पहलमानपुर सडक पनि २५ करोडको टेन्डर भएर ठेक्का परिसकेको छ । सुखड भजनी सडक पनि कालोपत्रे हुने क्रम जारी छ । घोडाघोडी रिङ रोड निर्माणमा पनि मैले नै पहल गरेको हो ।

कन्द्रा नदीमा म सांसद नहुँदाभन्दा पहिले धेरै समस्या थियो । मभन्दा पहिले जितेका सांसदले केही गर्न सकेनन् । त्यहाँ पनि मैले धेरै काम गरेको छु । भजनीलाई नयाँ शहर बनाउने काम भइरहेको छ । सुखडमै अपाङ्ग मैत्री प्रदेशस्तरीय विद्यालय बनाउने काम पनि सुरु हुँदैछ ।

– तपाईंले गरेका काममात्रै हुन् त जित्ने आधार ?

यी त ठूला गरेका केही काम हुन् । सानातिना त धेरै काम भएका छन् । जनताका धेरै समस्या भएका कुराहरू हल गरेको छु । त्यसैले फेरि मलाई जनताले मत दिनुहुन्छ भन्नेमा विश्वस्त छु ।

फेरि म यसै निर्वाचन क्षेत्रको बासिन्दा हो । आफ्नो क्षेत्रको विकासको लागि पनि मतदाताले आफ्नै क्षेत्रका नागरिक खोज्नुहुन्छ भन्ने लाग्छ । नेकपा एमालेको बढ्दो आकर्षण, मैले विगतमा गरेका राम्रो काम र आगामी मेरो यस क्षेत्रको विकासको रणनीतिका कारण म जित्छु भन्नेमा विश्वस्त छु ।

गठबन्धनका उम्मेदवार जो हुनुहुन्छ, उहाँ क्षेत्र नम्बर ४ को हो । उहाँको यो क्षेत्रमा नामावली पनि छैन, घर पनि छैन । उहाँले आफूले आफैंलाई मत दिन पाउनुहुन्न ।

– आगामी दिनमा तपाईंको रणनीति के छ ?

म जितेर गएँ भने बाढी पीडित क्षेत्रको समस्या हल गर्छु । उनीहरूलाई उच्च भवन व्यवस्थापन गरेर सुरक्षित आभासको व्यवस्थापन गर्छांै । कृषि मिटरको व्यवस्थापन गरेर किसानलाई सहज गर्नुपर्छ । यो इन्धनभन्दा धेरै सस्तो पर्छ । नदी नियन्त्रण गर्न अझै केही काम गर्नुपर्नेछ । काठे पुलहरु पूर्ण रुपमा विस्थापित गरेर झोलुंगे वा पक्की पुल बनाउने योजना छ ।

– सत्ता गठबन्धन कसिलो रुपमा आए मतभारका कारण तपाईं कमजोर देखिनुहुन्छ । पराजित हुन्छ जस्तो लाग्दैन ?

मलाई त पराजित हुन्छु भन्ने लाग्दै लाग्दैन । किनकि मैले राम्रो काम गरेको छु । अझै राम्रो काम गर्न बाँकी छ ।

अर्काे कुरा, गठबन्धन कसिलो देखिनेमात्र हो । भित्र पूरै खोक्रो छ । त्यसैमा पनि गठबन्धनका उम्मेदवार जो हुनुहुन्छ, उहाँ क्षेत्र नम्बर ४ को हो । उहाँको यो क्षेत्रमा नामावली पनि छैन, घर पनि छैन । उहाँले आफूले आफैंलाई मत दिन पाउनुहुन्न । उहाँ यो क्षेत्रको लागि पर्यटक हो । मङ्सिर ४ गतेसम्मको लागि उहाँ पाहुना भएर आउनुभएको छ । पाहुना भएर उहाँ घुम्नुहुन्छ । चुनाव सकिएपछि फेरि मसुरिया फर्किनुहुन्छ ।

म यही ठाउँको मान्छे । यही काम गरिरहेको छु । मलाई विश्वास गर्नुहुन्छ ।

– गठबन्धनका उम्मेदवारको कुरा गर्दा उहाँ पहिले तपाईंकै सहयोद्धा हुनुहुन्छ । २०६४ सालमा कृष्णकुमार चौधरीले जुन क्षेत्रबाट निर्वाचन जित्नुभएको थियो, २०७० सालमा तपाईंले माओवादी केन्द्रबाटै जित्नुभयो । त्यो वेला एकले अर्कालाई जिताउन हिँडेको मान्छे अहिले एकले अर्कालाई हराउन हिँड्दा कस्तो अनुभव गर्दै हुनुहुन्छ ?

समय र परिस्थितिअनुसार हामी हिँड्नुपर्छ । २०६४ मा म माओवादीबाट वाईसीएलको कमान्डर थिएँ । निर्वाचन लडिनँ । पार्टीलाई जिताउनुपर्छ भनेर लागें । उहाँलाई हामीले जितायौं । म आफैं मरिमेटी लागें ।

२०४८ सालदेखि जित्दै आएका २५ वर्ष राज्य सत्तामा बसेका रामजनम चौधरीलाई हराएँ । त्यो वेला उहाँ अर्काे क्षेत्रबाट आउनु भएको थियो । अहिले फेरि गठबन्धनबाट अर्कै क्षेत्रबाट यहाँ उम्मेदवार बन्न आउनुभएको छ ।

२०६४ मा त माओवादीभन्दा जोलाई उठाए पनि जित्ने अवस्था थियो । सबै डराउँथे । कसैले आँट गर्न सकेनन् । विनामतदाता भएकाहरूले पनि भोट हाले । त्यसरी उहाँलाई धेरै मत आयो । एउटै व्यक्तिलाई ९ पटकसम्म भोट हाल्न लगाएका थियौं । फोटोसहितको नामावली थिएन । नआएका जसको नाममा हाले पनि हुन्थ्यो । त्यसरी जिताएका हौं ।

२०७० सालमा मैले पार्टीको नेतृत्व पनि गरिरहेको थिएँ । मलाई पार्टीले टिकट दियो । मैले पार्टीको जिम्मेवारी छोडेर लडें । सुदूरपश्चिममा त्यो वेला माओवादीबाट म एक्लै जितें । २०७४ सालमा त वाम गठबन्धन भयो । मैले सजिलै जितें । मतदाताले रुचाए । २०४८ सालदेखि जित्दै आएका २५ वर्ष राज्य सत्तामा बसेका रामजनम चौधरीलाई हराएँ । त्यो वेला उहाँ अर्काे क्षेत्रबाट आउनु भएको थियो । अहिले फेरि गठबन्धनबाट अर्कै क्षेत्रबाट यहाँ उम्मेदवार बन्न आउनुभएको छ । जनताले आफ्नै निर्वाचन क्षेत्रभित्रका नेतालाई रुचाउँछन् । त्यसकारणले म जित्छु भन्ने लाग्छ ।

– अहिले नागरिक उन्मुक्तिबाट गंगा चौधरी पनि चुनावी मैदानमा हुनुहुन्छ । तपाईंको प्रतिस्पर्धा सत्ता गठबन्धन कि नागरिक उन्मुक्तिका उम्मेदवारसँग ?

नागरिक उन्मुक्तिका उम्मेदवार मेरो प्रतिस्पर्धी भन्ने कुरा त लाग्दै लाग्दैन । केही मत उहाँले काट्नुहुन्छ होला । तर, उहाँ मेरो प्रतिस्पर्धी होइन । गठबन्धनका उम्मेदवार विजयी नभए पनि मेरो प्रतिस्पर्धी हुन् भन्ने लाग्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर