भेरिफाइड ट्वीट एकाउन्ट चलाउनेबाट मासिक २० डलर शुल्क असुल्ने एलन मस्कको योजना – Nepal Press

भेरिफाइड ट्वीट एकाउन्ट चलाउनेबाट मासिक २० डलर शुल्क असुल्ने एलन मस्कको योजना

काठमाडौं । ४४ अर्ब डलरमा ट्वीटर खरिद गरेका विश्वका नम्बर १ धनाढ्य एलन मस्कले अब यस प्लेटफर्मबाट पैसा कमाउन नयाँ योजनाबारे सोचिरहेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार ट्वीटर प्रयोगकर्ताहरूबाट मासिक २० अमेरिकी डलर शुल्क लिने उनको तयारी छ ।

ट्वीटरको स्वामित्व आफ्नो हातमा आएलगत्तै मस्कले यस योजनामा काम गर्न निर्देशन दिइसकेका छन् । ‘द भर्ज’ मा प्रकाशित समाचार अनुसार ट्वीटरका भेरिफाइड युजरहरूबाट यस्तो शुल्क लिने प्रस्ताव उनले अघि सारेका हुन् । उनले आफ्ना इन्जिनियरहरूलाई यो प्रस्तावलाई कार्यान्वयनमा लैजान ८ नोभेम्बरसम्मको डेडलाइन दिएको समेत समाचारमा जनाइएको छ । यदि, डेडलाइनभित्र काम गर्न नसके उनीहरूलाई बर्खास्त गर्ने चेतावनीसमेत मस्कले दिएका छन् ।

समाचारअनुसार भेरिफिकेसनका लागि प्रस्तावित शुल्क भने तलमाथि हुन सक्नेछ । द भर्जमा समाचार प्रकाशित भएलगत्तै मस्कले ट्विट गरेर भनेका छन्, ‘भेरिफिकेसनका सम्पूर्ण प्रक्रियामा उथलपुथलको तयारी भइरहेको छ ।’

ट्वीटरसँग झण्डै ४ लाख भेरिफाइड प्रयोगकर्ता छन् । उनीहरूबाट मासिक २० डलर उठाउन सकेको खण्डमा ट्वीटरको आम्दानीमा उल्लेख्य बढोत्तरी हुन सक्ने छ । तर, यो योजना मस्कका लागि आत्मघाती पनि हुन सक्छ । कयौंले भेरिफिकेसनको टिकमार्क गुमाउन तयार रहेको तर शुल्क नतिर्ने बताइरहेका छन् ।

ट्वीटरले निश्चित प्रक्रिया र कागजात पूरा गरेपछि प्रयोगकर्तालाई भेरिफिकेसन प्रदान गर्छ । भेरिफिकेसनपश्चात अकाउन्टमा प्राप्त हुने टिकमार्कले उक्त प्रयोगकर्ताको आधिकारिक पेज रहेको पुष्टि हुन्छ ।
अहिले ट्वीटर ब्लुका लागि मासिक ४.९९ डलर तिर्नुपर्छ र यसले प्रयोगकर्तालाई ट्वीट सम्पादन गर्ने, नयाँ फिचरहरूमा छिटो पहुँच दिने, लगायतका सुविधा प्रदान गर्छ । तर, यसको अहिलेसम्म भेरिफिकेसनसँग कुनै सम्बन्ध छैन । भेरिफिकेसनको ब्लु टिक लिनका लागि चाहिँ तपाईंको अकाउन्ट आधिकारिक र सक्रिय हुनुपर्छ । अहिले भेरिफिकेसनको कुनै शुल्क लिइँदैन ।

अब मासिक २० डलर तिरेर ट्वीटर ब्लु सब्क्राइब गर्न सकिनेछ । तर, यो सब्सक्राइब गर्दैमा ट्वीटर भेरिफाइड हुन्छ कि हुँदैन भन्ने स्पष्ट छैन । भेरिफिकेसनका लागि ट्वीटर ब्लु सब्सक्राइब गरेको हुनैपर्ने वा नपर्ने भन्ने पनि निधो भएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर