शेरधनले भोजपुरको विकासमा भित्र्याएको झण्डै ५ अर्ब बन्यो चुनावी एजेण्डा (पूर्णपाठ) – Nepal Press

शेरधनले भोजपुरको विकासमा भित्र्याएको झण्डै ५ अर्ब बन्यो चुनावी एजेण्डा (पूर्णपाठ)

४२४ आयोजनाको श्वेतपत्र ल्याउँदै शेरधनले भने- डाडुपन्यूँ हातमा भएको बेला ओल्टोकोल्टो पारेर भोजपुरमा खन्याएकै हो

काठमाडौं । नेकपा एमालेले भोजपुरको प्रतिनिधिसभामा स्थायी कमिटी सदस्य प्रदेश १ का संस्थापक मुख्यमन्त्री एवं पूर्वसञ्चारमन्त्री शेरधन राई, प्रदेशसभातर्फ १ मा हरिबहादुर राई र २ मा खड्गबहादुर कार्की (प्रेम) लाई अघि सारेको छ ।

एमालेले जिल्लाको ८१ वटै वडामा अगुवा कार्यकर्ता भेला तथा एक चरणको चुनावी अभियान सकेको छ । अध्यक्ष शरणकुमार राईका अनुसार आजदेखि दुवै निर्वाचन क्षेत्रमा चुनावीसभा, मतदातामाझ घरदैलो कार्यक्रमको छुट्टै तालिका बनाइएको छ ।

एमालेका उम्मेदवारहरू अहिले विकास, समृद्धि तथा राजनीतिक स्थिरताको एजेण्डासहित चुनावी मैदानमा होमिएका छन् । भोजपुर एमाले मुख्यगरी शेरधन राईको पालामा भोजपुरमा भएगरेका विकास निर्माण, समृद्ध जिल्ला निर्माणका लागि हरि राई र खड्ग कार्कीको रोडम्यामको भिजनसहित गठबन्धनविरुद्ध उत्रिएको जिल्ला उपाध्यक्ष मकर खड्का बताउँछन् ।

प्रदेशसभामा दुवैजना नयाँ अनुहारलाई अघि सारिएको, जातीय सन्तुलन मिलाएर उम्मेदवारी दिइएको र गठबन्धनमा असन्तुष्ट विशेषगरी कांग्रेसी र माओवादीकै एउटा तप्काको भोटलाई ‘क्यास’ गर्ने दाउमा छ एमाले ।

यसैबीच प्रतिनिधिसभा उम्मेदवार शेरधन राईले मुख्यमन्त्रीकालमा निर्वाचन क्षेत्रमा गरेका विकासे आयोजना तथा ती आयोजनामा पठाइएको बजेट समेटेर श्वेतपत्र सार्वजनिक गरेका छन् ।

तीन वर्ष छ महिना सात दिन मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्दा भोजपुरका ४२४ आयोजनामा ४ अर्ब ९२ करोड ९२ लाख ३४ हजार ८ सय ६८ रूपैयाँ बजेट विनियोजन गरेको राईको श्वेतपत्रमा उल्लेख छ ।

आइतबार हतुवागढी गाउँपालिकाको घोडेटारमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको पूर्व मुख्य तथा सञ्चारमन्त्री राईले श्वेतपत्रमा सडक, सडकपुल, सभाभवन, खानेपानी तथा सिँचाइ, कृषि, वन, शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन लगायतका योजनाका फेहरिस्त समावेश गरेका हु्न् । उनले आफ्नो पालामा जिल्लामा विनियोजित बजेट तथा योजनामध्ये कतिपय सम्पन्न भइसकेको, केही सुरु भएको, केही चालू तथा सम्पन्न हुने चरणमा रहेको जानकारी गराए ।

उनको कार्यकालमा सबैभन्दा बढी ६७ वटा सडकका लागि २ अर्ब २७ करोड ५९ लाख ४० हजार बजेट विनियोजन भएको छ । त्यस्तै २ अर्ब ३६ लाख ११ हजार बजेट बहुवर्षीय सडकका लागि पठाइएको छ । जसमा १८ करोड ७७ लाख लागतमा टक्सार एयरपोर्टदेखि भोजपुर सदरमुकामसम्म पिच गरिएको छ । ८२ करोड ९१ लाख ५४ हजार लागतको षडानन्द नगरपालिकामा पर्ने फालिदोबाटो-तुर्के कालोपत्रे कार्य निर्माणाधीन छ । टक्सार-डडुवा मानेभञ्ज्याङ-बैकुण्ठे-बासिखोरा-यूँ-बालंखा-रानीटारको दुई प्याकेजमा बन्न लागेको ९८ करोड ६७ लाख ५७ हजार लागतको सडक पनि निर्माणाधीन छ ।

भोजपुरलाई तराईसँग छोटो दूरीमा जोड्ने सुनकोशी चुहार हसनपुरदेखि घोडेटार-भोजपुर-दिङ्ला हुँदै भविष्यमा चीनसँगको नाका संखुवासभाको किमाथांका जड्ने सडकको पहिलो खण्डअन्तर्गत १ अर्ब १० करोड लागतको ठेक्का प्रक्रियामा रहेको श्वेतपत्रमा उल्लेख छ ।

‘मैले जिल्लाबासीहरूको बीचमा बाचा गरे अनुसार सबै कामहरू साढे तीन वर्षमा गर्न सम्भव भएन । तर, करिब पाँच अर्ब बजेट राखेर आफ्नो बाचा पूरा गर्ने प्रयास गरेको छु । मुख्यमन्त्री भएर शेरधन राईले के गर्‍यो ? भनी हात धोएर मेरो आलोचना मात्र गर्नेहरू पनि छन्’, पूर्वमुख्यमन्त्री राईले भने, ‘उनीहरू मलाई झन् बलियो बनाएर जिल्लाको विकास गर्नेतर्फ होइन, जहिल्यै पनि मेरा बारेमा भ्रम फैल्याउने र मलाई कमजोर बनाएर भोजपुरमा बसिसकेको विकासको जगलाई पूरा हुन नदिन सक्रिय छन् । विकास निर्माणमा शेरधनले जस पाउने भो भनेर विरोधीहरू आत्तिएको पाएको छु ।’

आफूमाथि छरिएको भ्रमलाई यही श्वेतपत्रले चिर्ने उनको जिकिर छ ।

‘मैले अहिलेसम्म पदमा रहँदा कहिँ कतै दाग लाग्न दिइनँ । आफूले बाँधेका बाचा र गरेका काम जनतालाई भन्नुपर्छ भनेर यसलाई तयार पारेको हो । श्वेतपत्र हरेक मतदाताको घर-घरमा उपलब्ध गराइनेछ । र, म र एमालेमाथि छरिएका भ्रमण यसैले चिर्नेछ ।’

पहुँच र हैसियत भएको व्यक्तिलाई जिताएर पठाउँदा हुने परिवर्तनको उदाहरण आफूले देखाएको शेरधनले बताए । समृद्धि हाम्रै पालामा हाम्रै हातबाट सम्भव रहेछ भन्ने देखाइसकेको भन्दै उनले त्यसका लागि माग्ने र ढुक्ने नभइ पस्केर दिनसक्ने उम्मेदवारलाई जिताउनुपर्नेमा जोड दिए ।

उनले १४ जिल्लाको मुख्यमन्त्री भएपनि डाडुपन्यूँ हातमा भएको बेला ओल्टोकोल्टो पारेर भोजपुरका लागि खन्याएको स्वीकारे ।

शेरधनले प्रदेश १ को नामाकरण गर्न नसक्नुमा भने आफ्नो भागमा पर्ने दोष भोग्न आफू तयार रहेको पुन: दोहोर्‍याएका छन् ।

राईले मुख्यमन्त्री ग्रामीण सडक ४ वटामा ८ करोड ८८ लाख, ६० वटा सडक स्तरोन्नति तथा मर्मतमा ६० वटा १९ करोड ३५ लाख २९ हजार, सडक पुल १२ वटामा ८२ करोड ८३ लाख १२ हजारको आराहारी, १२ वटा झोलुंगे पुलमा १ करोड ७६ लाख, खानेपानी ३६ वटामा करिब ६६ करोड ६५ लाख, ११ वटा लिफ्टिङ खानेपानी आयोजनामा ५१ करोड ४ लाखभन्दा धेरै, सिँचाइ १६ वटामा ४ करोड ६ लाख, खेलकुद पूर्वाधारमा २५ वटा २८ करोड ९७ लाख, पर्यटन ३६ वटामा २९ करोड २७ लाखलगायतका योजना श्वेतपत्रमा समावेश गरेका छन् ।

हेर्नुस् आफू मुख्यमन्त्री छँदा शेरधनले भोजपुरमा गरेका आयोजना र विनियोजन गरिएको बजेट समेटिएको श्वेतपत्र-

हेर्नुस्- श्वेतपत्र सार्वजनिक कार्यक्रमको भिडओ-


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *