कैलाली ५ : गठबन्धनलाई स्वतन्त्रको चुनौती, रानालाई कति सहज ? – Nepal Press

कैलाली ५ : गठबन्धनलाई स्वतन्त्रको चुनौती, रानालाई कति सहज ?

कैलाली । अघिल्लो पटक प्रधानमन्त्रीपत्नी आरजु राणा देउवालाई हराएर चर्चामा आएका नेकपा एमालेका उम्मेदवार नारदमुनि राना यसपटक पनि कैलाली ५ मा मैदानमा छन् ।

रानाविरुद्ध आरजु नै उम्मेदवार बन्ने चर्चा भएपनि उनी अन्तिम समयमा समानुपातिकमा बसिन् । गठबन्धनको तर्फबाट ७४ को प्रदेशसभामा विजयी भएका डिल्लीराज पन्त उम्मेदवार छन् । कैलाली-५ मा एमालेका राना र गठबन्धनको तर्फबाट पन्तको मात्रै प्रतिस्पर्धा छैन । २०७० सालमा प्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालीन कैलाली ६ छोडेपछि भएको उपनिर्वाचनमा विजयी कांग्रेसका पुष्करनाथ ओझा पनि यहाँ उम्मेदवार छन् । कांग्रेसबाट कारबाहीमा परेका ओझा अहिले यहाँ स्वतन्त्र उम्मेदवार हुन् ।

यहाँ राना-पन्त-ओझाको त्रिपक्षीय भीडन्त हुने देखिएको छ ।

यस क्षेत्रमा धनगढी उपमहानगरपालिकाको पूरै (१९ वडा) र कैलारी गाउँपालिका- ६ र ९ गरी २ वडा समेटिएको छ ।

स्थानीय निर्वाचनमा वडाध्यक्षहरूले पाएका मतलाई आधार मान्ने हो भने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले ३२ हजार ६१९ मत ल्याएको थियो । नेकपा एमाले एक्लैले यस क्षेत्रमा १७ हजार ४२० मत ल्याएको छ ।

अघिल्लो पटकको निर्वाचनमा राना २७ हजार २०२ मतसहित विजयी हुँदा राणाले २२ हजार ३२२ मत ल्याएकी थिइन् । उक्त निर्वाचनमा अन्तर्घात गरेको भन्दै पुष्करनाथलाई कांग्रेसले कारबाही गरेको थियो । धनगढी बनाउन आफूले उम्मेदवारी दिएको ओझाको दाबी छ ।

‘मेरो उम्मेदवारी धनगढीको ‘डिग्नीटी’ का लागि हो । धनगढी बनाउनुपर्छ भनेर हो, कसैले मनपरी गर्न नपाओस् भनेर हो,’ ओझाले नेपाल प्रेससँग भने ।

अघिल्लो पटक कांग्रेसबाट प्रदेशसभामा विजयी भएका पन्त आफूले अझै काम गर्ने गरी प्रतिनिधिसभाको उम्मेदवार भएको दाबी गर्छन् । कांग्रेसमा आफूले गरिरहेको काम पनि जित्ने आधार भएको उनको जिकिर छ ।

पन्त भन्छन्,‘यहाँको गठबन्धनको मत र विगतमा प्रदेशसभा सदस्य हुँदा गरेको काम नै मेरो जित्ने आधार हो ।’

अहिले प्रतिनिधिसभातर्फको गठबन्धनको उम्मेदवार बनेका पन्त र स्वतन्त्र उम्मेदवार बनेका ओझाबीचको प्रतिस्पर्धाले एमाले उम्मेदवार रानालाई सहज हुने देखिएको छ । वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा पनि उपप्रमुखमा गठबन्धनको उम्मेदवार शान्ति अधिकारी र स्वतन्त्र उम्मेदवारी दिएका प्रभाकर भण्डारीका कारण एमाले उम्मेदवार नन्दकला राना विजयी भएको विश्लेषण गरिन्छ ।

धनगढी उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमै गठबन्धनको उम्मेदवार पराजित भए जस्तै अहिले पनि प्रतिनिधि सभामा गठबन्धनको उम्मेदवारलाई सहज भएको गठबन्धनकै एक नेताले बताए ।
‘स्वतन्त्र उम्मेदवारी दिएका ओझाका कारण गठबन्धनका उम्मेदवार पन्तलाई निकै सकस छ । गठबन्धन कमजोर हुँदा पनि आरजु ब्याग भएको हल्ला छ’ ती नेताले भने, ‘अहिले रानाको सम्भावना बढी भएको विश्लेषण गरिन्छ ।’

पन्तले २०७४ सालमा लडेको कैलाली ५ प्रदेशसभा २ सीटमा आफ्नै स्वकीय सचिव तथा भतिजा प्रकाश देउवालाई लगाएपछि धेरै रुष्ट छन् । कांग्रेसभित्रको किचलो र पुराना कांग्रेस नेताको स्वतन्त्र उम्मेदवारीले रानालाई फाइदा हुनेमा एमाले ढुक्क छ ।

राना भने आफूले गरेको कामबाट जनता प्रभावित भएको र त्यही नै जितको आधार भएको दाबी गर्छन् ।

‘धनगढी विमानस्थल, कैलालीको गौरीफन्टा नाका, धनगढी-खुटिया सडक, हुलाकी राजमार्गजस्ता विकास निर्माणका काममा खटिएको जनताले देखेका छन्, मेरो जित्ने आधार त्यही हो,’ रानाले भने ।

उनले राना थारु समुदायलाई आदिवासीमा सूचीकृत गराउन पनि आफूले भूमिका खेलेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर