‘जय देश जय चरेस’ भन्दै मकवानपुरमा भोट माग्दै राप्रपा उम्मेदवार मैनाली – Nepal Press

‘जय देश जय चरेस’ भन्दै मकवानपुरमा भोट माग्दै राप्रपा उम्मेदवार मैनाली

हेटौँडा । राजा सहितको सनातन हिन्दू राज्यको ‘अजेण्डा’ बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवारले अनौठो नारा बोकेर चुनावमा होमिएका छन् ।

‘जय देश जय नरेश’ भन्ने राप्रपाको मूल नारा रहे पनि मकवानपुर–२ का उम्मेदवार राजन मैनाली भने ‘जय देश, जय चरेस’ भन्दै चुनावी मैदानमा उत्रिएका छन् ।

गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने प्रमुख चुनावी अजेण्डा लिएर मैदानमा उत्रिएका मैनालीले ‘यसपालिको भोट, जसको हातमा गाँजाको बोट’ भन्ने नारालाई समेत अघि सारेका छन् ।

गाँजा खेतीको कारण सयौँ संख्यामा आफूले चुनाव उठेको क्षेत्रको मानिस जेल परेको विषय निकै गम्भीर रहेको भन्दै उनले नेपालको हावापानीमा निकै राम्रो हुने गाँजा प्रतिबन्ध फुकुवा गरेर देशलाई अर्बौँको आम्दानी गर्ने नीति सरकारको हुनुपर्ने उनको बिचार छ । आफू निर्वाचित भए गाँजालाई वैधानिक बनाएरै छाड्ने नत्र आत्मदाह गर्ने उनले सार्वजनिक घोषणा समेत गरेका छन् ।

नेपाललाई गाँजा प्रतिबन्ध लगाउन प्रोत्साहन गर्ने अमेरिकामा समेत गाँजालाई वैधानिक तवरले फुकुवा गर्दै लगिएको भन्दै उनले सरकारले गाँजा रोपेकै कारण, बोकेकै कारण जेल जान बाध्य पारिएका हजारौँ युवाहरूलाई तुरुन्त रिहा गर्नुपर्ने बताए ।

गाँजा खेती नेपालको आर्थिक उन्नतिको लागि सञ्जीवनी हुने भन्दै मैनालीले आफू निर्वाचित भएको अवस्थामा गाँजालाई वैधानिक बनाएर छाड्ने प्रतिबद्धता व्यक्त गरे ।

गाँजालाई औषधिजन्य उद्योग, कपडा उद्योग सहितका धेरै उद्योगहरूमा बेच्न सकिने भन्दै मैनालीले हेर्दा आफ्नो नारा अलि अनौठो लागे पनि यो नेपालको लागि निकै गहन तथा महत्त्वपूर्ण विषय भएको बताए ।

नेपालको हावापानीले गाँजा उत्पादनलाई साथ दिएको भन्दै सरकारले आफै उम्रने गाँजालाई नचिनेको उनको भनाई छ । गाँजालाई नकारात्मक हिसाबमा मात्र हेरिएको भन्दै उनले गाँजा नेपालमा उत्पादन हुने निकै महत्त्वपूर्ण जडीबुटी भएको बताए ।

‘तेल हुने देशले तेल बेच्छन्, फलाम हुनेले फलाम बेच्छन् भने हामीसँग भएको गाँजा बेच्न हामीलाई किन सकस भएको हो ?, उनले प्रश्न गरे ।

विश्व नै विनाश गर्ने युरेनियम बेच्न पाईने तर औषधी, कपडाको रूपमा प्रयोग गर्न मिल्ने गाँजा बेच्न नहुने अनौठो नियमलाई परिवर्तन गर्नै पर्ने उनको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर