तस्बिरमा नेपाल संवत् ११४३ को स्वागत – Nepal Press

तस्बिरमा नेपाल संवत् ११४३ को स्वागत

काठमाडौं । चान्द्रमास अनुसार प्रचलनमा रहेको मौलिक नेपाल संवत् ११४३ लाई आज बिहान सूर्योदयसँगै स्वागत गरिएको छ ।

नेपाल संवत् ११४३ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । बिहान सूर्योदयसँगै नयाँ वर्ष सुरु भएको खुसीयालीमा  राजधानीका विभिन्न स्थानमा शुभकामना र्‍याली निकालिएकाे  नयाँ वर्ष (न्हूँ द) मूल समारोह समितिले जनाएको छ ।

यस संवत्‌लाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेको छ । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्‌काे सुरुआत गराएको थियो । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए ।

‘लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्‌काे रुपमा चलेको थियो, लिच्छविकाल अघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो’, उनले भने ।

विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि देखिनै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल संवत्‌लाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, कीर्तिपुर, गोकर्णेश्वर, टोखा, साँखु, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ ।

गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत् समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए ।

२०६५ मा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्‌ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेको थियो । कार्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुआत गर्ने परम्परासमेत काठमाडौँमा अझै छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *