कैलाली २ का माओवादी उम्मेदवार बडूवाल भन्छन्- कसैको सहारामात्र होइन, हामी त्यसै बलियो छौं – Nepal Press
नेपाल टक

कैलाली २ का माओवादी उम्मेदवार बडूवाल भन्छन्- कसैको सहारामात्र होइन, हामी त्यसै बलियो छौं

कैलाली । ह्याट्रिक गर्ने एमालेको दाउ, दोस्रो पटक निर्वाचन जित्ने माओवादीको रणनीति र पहिलो पटक इतिहास बनाउने नागरिक उन्मुक्तिको योजनाले कैलाली क्षेत्र नम्बर २ को चुनावी माहौल तताइरहेको छ ।

२०७० र २०७४ मा विजयी भएको एमाले फेरि निर्वाचन जित्ने गरी लागेको छ । २०६४ मा विजयी भएको माओवादी दोस्रो पटक विजयको रणनीतिमा छ  चुनावी मैदानमा डेब्यू गरेको  नागरिक उन्मुक्ति पार्टी पहिलोपटक ने सीट हत्याउने ध्याउन्नमा छन् । 

यहाँ एमालेबाट अघिल्लो पटक विजयी भएका झपट रावल चुनावी मैदानमा छन् । गठबन्धनबाट २०६४ मा निर्वाचित माओवादीका भगत बडूवाल उम्मेदवार बनेका छन् । नागरिक उन्मुक्तिबाट भने २०७४ स्थानीय तहमा मेयरको उम्मेदवार बनेका र त्यसपछि प्रदेश सभाको उम्मेदवार बनेका अरुण चौधरी दाबेदार छन् ।

कैलाली क्षेत्र नम्बर २ मा त्रिपक्षीय भीडन्तको आँकलन छ । यस्तो अवस्थामा पनि आफ्नो जित स्वाभाविक भएको बताउँछन् माओवादीका उम्मेदवार बडूवाल । माओवादी र कांग्रेसको मत भार नै जिताएको आधार भएको बताउने बडूवालले संविधानको रक्षा विकास र समृद्धिका लागि जनताले गठबन्धनलाई मत दिने विश्वास व्यक्त गरे ।

प्रस्तुत त बडूवालसँग गरिएको कुराकानी नेपाल टकमा

– तपाईँको जित्ने आधार के हुन् ?

आधारहरू प्रशस्त छन् । पहिलो आधार त हाम्रो आफ्नै मत भार नै हो । नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको मत भार पर्याप्त मात्रामा छ । दोस्रो, हामी संविधान निर्माणको अभियानमा थियौँ । अहिले संविधान कार्यान्वयनको चरणमा छौँ । स्थायी र विकासको लागि पनि जनताहरूले हामीलाई रुचाएका छन् । अघिल्लो पटक संघीय निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले कुरा धेरै गरेको तर, काम नगरेको हुँदा पनि हामीलाई विकल्पको रुपमा हेरिरहनुभएको छ ।

– प्रतिस्पर्धी उम्मेदवारभन्दा तपाईँमा के भिन्नता छ ?

धेरै फरक छ । विकास निर्माणका कुराहरूमा विगतमा उहाँहरूले धेरै गर्न सक्नु भएन । अर्को जनतासँग सम्बन्धको कुराहरू पनि छ । उहाँहरूले गर्ने गफ र हामीले गर्ने जनता प्रतिको प्रतिबद्धता फरक छन् । हामीले सम्भव भएका कुराहरूलाई भनिरहेका छौँ । उडन्ते हल्ला हाम्रा छैनन् । सुकुम्बासीहरूको समस्या, सडक, पूर्वाधारको समस्या, शिक्षा स्वास्थ्यमा हामी अनुसन्धान गरेर काम गरिरहेका छौँ । अर्को महत्त्वपूर्ण कुरा भोली प्रदेश र केन्द्रमा गठबन्धनको सरकार बन्नेछ । स्थानीय तहमा पनि हामी बलियो रुपमा छौँ । यो तालमेलमा कारण अगाडी बढ्दा अझै विकासको गति आउन सक्न भन्ने हामीलाई लाग्छ । जनतालाई पनि त्यहि विश्वास छ जस्तो लाग्छ ।

– एमाले र नागरिक उन्मुक्तिमध्ये तपाईँको प्रतिस्पर्धी को हुन्छ जस्तो लाग्छ ?

हामीबीच तिब्र प्रतिस्पर्धा हुन्छ जस्तो लाग्दैन । प्रतिस्पर्धा नागरिक उन्मुक्तिका अरुण चौधरी र नेकपा एमालेका झपट रावल बीचमा हुने हो । हामी बीच उहाँहरूको प्रतिस्पर्धा छैन । अहिलेसम्मको मत हेर्दा राम्रो मत ल्याएर जित्छ भन्नेमा म विश्वस्त छु ।

– २०६४ मा तपाईँ विजयी हुनभयो । त्यसपछि माओवादीले जित्न सकेन । माओवादी कमजोर रहेको क्षेत्रमा तपाईँ उम्मेदवार हुनु भएको छ । आफ्नै पार्टी कमजोर भएको क्षेत्रमा अरुको सहरामा जित्छु भन्ने लाग्छ ?

हाम्रो मतभार कमजोर होइन । युद्धको प्रक्रियाबाट आएको पार्टी संसदीय अभ्यासमा अभ्यस्त हुन नजान्दा पनि कतिपय समस्याहरू रहेका होलान् । व्यवस्थापकीय समस्याका कारणले गर्दा मत साइलेन्ट भएको मात्र हो । कम भएको होइन । अर्को कुरा अहिले यो सहारा होइन । हिजो हामीले एक्लै जितेका हौँ । त्यसपछि नेतृत्वदायी स्थानबाट जुन पहल हुनुपर्ने हो त्यो पहल नपुगेको हो उसै पनि हामी बलियो थियौँ । त्यसै माथि पनि दुईटा, तीनवटाको काँध लागेपछि त्यसै पार लागिने कुरा हो नि ।

– त्यसो भए तपाईँले कति मत ल्याउनु हुन्छ त ?

यहाँ विजय प्राप्त गर्न ३५ हजार देखि ४० हजार मत ल्याउनु पर्छ । हामी त्यो स्थानमा छौँ । गएको निर्वाचनको मत भार ३८ हजारदेखि ४२ हजार हो । अहिले त्यति नै मत ल्याएर जित्छौँ भन्नेमा विश्वस्त छौँ ।

– स्थानीय तहमा गठबन्धन जिताउन लाग्नु भएका कांग्रेसका अरुण चौधरी अहिले नागरिक उन्मुक्तिबाट उम्मेदवार बन्नुभएको छ । यसले तपाईँहरूलाई धक्का पुग्ला नि ?

केही हुँदैन । पार्टी छोडेर भागेको मान्छेको विषयमा कांग्रेसका साथीहरू गम्भीर हुनहुन्छ होला भन्ने कुरा कसले मान्छ त । कांग्रेसप्रति उहाँको माया हुन्थ्यो भने त चाहिएको बेलामा कांग्रेसमा बस्नुपर्ने हो नि त । भागेर इच्क्षा लागेको ठाउँमा दगुर्नेलाई उहाँहरूले सहानुभूति देखाउनु हुन्छ जस्तो लाग्दैन ।

– तपाईँको क्षेत्रमा गठबन्धनभन्दा बाहिर रहेको दलसँग प्रतिनिधिसभा र प्रदेशसभामा जितहारको भद्र सहमति भएको भन्ने सुनिन्छ नि ?

यस्तो हल्ला नगरेपछि उहाँहरूको दोकान चल्दैन । यो विपक्षीको हल्ला हो । उहाँहरूले यस्तै हल्ला गरेर हामीलाई फुटाउने खेलमा हुनुहुन्छ । यस्तो हल्लामा सत्यता छैन । कांग्रेसका सबै नेताहरू गठबन्धन जिताउन लागिरहनुभएको छ । मानसिंह राठौर तपाईँ आउँदा यहीँ हुनुहुन्थ्यो । हामी सँगै एउटै अभियानमा छौँ । नेतृत्व तह र कार्यकर्तालाई समस्या छैन । एमालेका साथीहरू र अरुणजीहरूलाई टाउको दुखाइ भइरहेको छ । उहाँहरूले नै उठाएको कुरा हो । हामीमा त्यस्तो समस्या छैन । यही गरेर भोट चोर्न सकिन्छ कि भन्ने उहाँहरूको भनाइ हो ।

– २०६४ मा तपाईँले चौधरी समुदायको राम्रो मत पाउनु भएको थियो । अहिले त ती मत माओवादी केन्द्रमा आउने सम्भावना छैन भनिन्छ न ?

खै, घटेको मैले देख्दिनँ । हामी कहाँ पर्याप्त मात्रामा छ । केही भावनात्मक सम्बन्धहरू हुन्छन् । हामी पनि हिजो थारु आन्दोलनको एक योद्धा हो । व्यक्तिगतरूपमा सबै थारु समुदायका नागरिकहरूले हामीलाई चिनिरहनु भएको छ ।

हिजोको आन्दोलनमा सैद्धान्तिक र राजनैतिकरूपमा हामीसँग मिल्दा छन् । हामी लडेका थियौँ उहाँहरू कहाँ हुनुहुन्थ्यो हामीलाई थाहा छैन । जनताले सबै कुरा बुझ्नु भएको छ । त्यसैले हिजोको मत घटेको छ जस्तो मलाई लाग्दैन । हेर्दै जानुहोला यो चुनावले धेरै कुरा प्रस्ट पार्छ पार्छ । आफ्नो सतह प्रस्ट पार्छ जस्तो लाग्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर