यी सात कमरेडले हाँक्नेछन् विश्वकै ठूलो कम्युनिष्ट पार्टी, सीको उत्तराधिकारी बन्दै ली ! – Nepal Press

यी सात कमरेडले हाँक्नेछन् विश्वकै ठूलो कम्युनिष्ट पार्टी, सीको उत्तराधिकारी बन्दै ली !

काठमाडौं । विश्वकै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी मानिने चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको ठीक सय वर्ष पुगेको बेला माओ त्से तुङपछि सबैभन्दा शक्तिशाली नेताका रुपमा सी जिनपिङको उदय अमेरिकालगायत पश्चिमाहरुका लागि टाउको दुःखाइ बनेको छ ।

सीपीसीको आइतबार सम्पन्न २० औं महाधिवेशनले पार्टीको शक्तिशाली महासचिव र जनमुक्ति सेनाको कमाण्डरमा तेस्रो कार्यकालका लागि सीलाई चयन गर्दै आधुनिक चीनको नेतृत्व गर्ने ७ सदस्यीय शक्तिशाली स्थायी कमिटी पनि घोषणा गरेको छ ।

करिब १० करोड सदस्य रहेको पार्टीको पोलिटव्युरो कमिटी जम्मा २४ सदस्यीय छ भने सबैभन्दा शक्तिशाली मानिने स्थायी कमिटीमा सीबाहेक प्रायः सबै नयाँ नेता आएका छन् । प्रधानमन्त्री लि खस्याङसहित नेताहरु स्थायी कमिटीबाट बाहिरिएका छन् ।

६९ वर्षीय सीपछि स्थायी कमिटीको दोस्रो वरियतामा ६३ वर्षीय ली कियाङ चयन भएका छन् । उनी भावी प्रधानमन्त्री हुन् । ली यसअघि सांघाईको पार्टी प्रमुख थिए । चीनमा सीको उत्तराधिकारीका रुपमा लीको उदय भएको मानिएको छ ।
सी झेन्झियाङ प्रान्तको पार्टी प्रमुख हुँदा ली उनको प्रमुख स्वकीय सचिव थिए ।

लीपछिको वरियतामा ६६ वर्षीय साइ की स्थायी कमिटीमा आएका छन् । उनी बेइजिङमा कम्युनिष्ट पार्टीको नेतृत्व गरिरहेका थिए भने २० वर्षसम्म फुजियान र झेजियाङ प्राप्तमा सी जिनपिङसँग काम गरेका थिए ।

स्थायी कमिटीमा ६६ वर्षीय ली झीको पनि प्रवेश भएको छ । उनले चीनको आर्थिक पावरहाउस मानिने गुवाङडोङ प्रान्तमा कम्युनिष्ट पार्टीको प्रमुख भएर काम गरिसकेका छन् भने वैचारिक रुपमा सीका अनुयायी हुन् । यद्यपि उनले सीसँगै यसअघि नजिक भएर काम गरेको इतिहास पनि छैन ।

यसका साथै सीपीसीको स्थायी कमिटीमा ६७ वर्षीय वाङ हुनिङ निर्वाचित भएका छन् । उनी १९ औं महाधिवेशनबाट पोलिटव्युरो सदस्यमा निर्वाचित भएका थिए । नीति निर्माण तहमा लामो समय काम गरेका उनी सीका विश्वासपात्र हुन् ।

महाधिवेशनबाट झाओ ले जी र दिङ झुसियाङ पनि स्थायी कमिटीमा आएका छन् । उनीहरु यसअघि पनि पार्टीको मुख्य नेतृत्वमा थिए । विश्वकै महाशक्ति बनिरहेको चीनले सीको नेतृत्वमा कम्युनिस्ट पार्टीको शक्तिशाली नेतृत्वमात्र अघि सारेको छैन, सीलाई माओ र देङ युगपछिको सर्वमान्य नेताको रुपमा स्थापित गरेको छ ।

अब सीले चाहेसम्म चीनको नेतृत्व गर्नेछन् भने सी विचाराधारा पार्टीले अँगालेको छ । अब चीनको राजनीतिक नक्सामा माओ, चाओ, देङ, जियाङ, हु जिन्ताओ र सीको तस्वीर राष्ट्रका गौरवको रुपमा अंकित गरिएको छ । सीको नेतृत्वमा चिनियाँ कम्युनिष्ट पार्टी र यसको शासनसत्ता अझ कठोर बन्ने अनुमानसमेत गरिएको छ ।

सन् १९२१ मा स्थापना भएको चिनियाँ कम्युनिष्ट पार्टीले सन् १९४९ मा सशस्त्र क्रान्तिमार्फत सत्ता कब्जा गरेको थियो । त्यसपछि तिब्बत सम्पूर्ण रुपमा चीनको नियन्त्रणमा गएको थियो भने ताइवान पनि चीनले नै आफ्नो भन्दै आएको छ । जुन विवाद अहिले पनि चलिरहेको छ ।

७० वर्ष लामो सोभियत कम्युनिष्ट पार्टीको सत्ता ढलेर रुस टुक्रिएपछि पनि चीनले भने साम्यवादी सत्तालाई अझ बलियो र जनताको समर्थनमा लम्ब्याउँदै आएको छ । चीनमा कम्युनिष्ट पार्टीले शासन गरेको ७३ वर्ष पुगेको छ, जुन विश्वकै सबैभन्दा लामो शासनसत्ता हो ।

चिनियाँ कम्युनिष्ट पार्टीले सोभियत युनियनको रेकर्ड तोडेको छ । चीनपछि क्युबा र भियतनाम लामो कम्युनिस्ट शासन चल्ने मुलुकमा पर्छन् । क्युबामा ६३ वर्षदेखि कम्युनिष्ट पार्टीको सत्ता छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *