फूल बेचेर मनग्य आम्दानी – Nepal Press

फूल बेचेर मनग्य आम्दानी

कैलाली । जिल्लाको घोडाघोडी नगरपालिका –३ जुरपानीकी निर्मला भण्डारी चौधरीले एक बिघा क्षेत्रफलमा लगाएको सयपत्री फूल अहिले ढकमक्क फुलेका छन् ।

तिहार आउन केही दिन मात्र बाकी रहँदा उनीलाई फूल बेच्न भ्यान नभ्याई छ । अघिल्लो वर्ष १५ कट्ठा जमिनमा थाइल्यान्ड र कलकत्ता जातका सयपत्री फूल रोपेर राम्रो आम्दानी गरेकी चौधरीले अहिले १ बिघा क्षेत्रफलमा फूल रोपेकी हुन् ।

‘केही नयाँ काम गरौँ भनेपछि हामीले पुष्प खेती सुरु गरेका हौँ’ उनले भनिन्, ‘अहिले राम्रो आम्दानी भइरहेको छ । हामी खुसी छौँ ।’

अहिले सम्म उत्पादित फूल घोडाघोडी नगरपालिकाभित्रै खपत भइरहेको छ । अघिल्लो वर्ष पाँच सय रुपियाँ प्रतिकिलो र एक सय रुपियाँ प्रतिमालाको दरले फूल विक्री हुँदै आएको थियो ।

तिहार नजिकिएसँगै भारतीय बजारबाट करोडौँको प्लास्टिकका माला आयत भइरहेको छ । यस्तो अवस्थामा पनि स्थानीय कृषकहरूले रोपेको फूलले राम्रो बजार पाइरहेको छ । अझै ठूलो क्षेत्रफलमा फूल लगाए पनि बजार पाउन सकिने उनी बताउँछिन् ।

निर्मलकाको परिवारमा १० जना छन् । उनीहरू सबै कृषिमा छन् । निर्मलाका श्रीमान् स्थानीय सुखड बजारमा सानो पसल गर्छन् । उत्पादन भएको फूल त्यही पसलबाट विक्री हुने गरेको उनी बताउँछिन् ।

दुई वर्ष पहिले सम्म धान र गहुँ खेती गरिरहेका उनीहरू त्यो भन्दा कम लागतमा धेरै आम्दानी हुन थालेपछि फूल खेती तर्फ लागेका हुन् ।

‘धान गहुँ लगाउनभन्दा सजिलो, फूल व्यवसायमा खर्च पनि कम हुने भएपछि सजिलो लाग्यो’ निर्मला भन्छिन् , ‘लगानीअनुसार धान गहुँले भाउ पाउँदैन फूलले राम्रो भाउ पाउँछ ।’

गत वर्ष दुई क्विन्टल फूल बेचेर एक लाख पच्चीस हजार रुपियाँ आम्दानी गरेको बताउने निर्मला यस वर्ष त्यो भन्दा बढी आम्दानी हुनेमा आसावादी छिन् ।

‘यो वर्ष धेरै लगाएका छौँ, फूल पनि राम्रो भएको छ’ निर्मलाले भनिन्, ‘अघिल्लो वर्ष भन्दा अहिले दोब्बर आम्दानी हुन्छ होला जस्तो लागेको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर