प्रतिबन्धित प्लाष्टिकका फूल र माला बजारभरि बिक्री, हाेला त कारबाही ? (तस्बिरहरू) – Nepal Press

प्रतिबन्धित प्लाष्टिकका फूल र माला बजारभरि बिक्री, हाेला त कारबाही ? (तस्बिरहरू)

काठमाडौं । बिहीबार वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले नेपालीहरुको दोस्रो ठूलो चाड तिहार र छठलाई लक्षित गर्दै एउटा सूचना जारी गर्यो ।

तिहार र छठमा सबैभन्दा बढी फूलको खपत हुने र त्यही बेला फूलको अभावहुने भएकाले प्लास्टिकको माला खरिद विक्री हुने भन्दै विभागले सचेत गरायो । विभागले प्लास्टिकको फूलको माला र अन्य सामाग्री खरिद विक्री नगर्न आग्रह गरेको छ ।

तिहार र छठमा प्लास्टिकजन्य फूल, माला तथा अन्य सामग्रीहरु विक्री वितरण गरेको पाइएमा १ लाख रुपैयाँसम्म जरिवाना हुने चेतावनी  छ ।

गत साउन १२ गते राजपत्रमा सूचना प्रकाशन गरी सोही मितिदेखि प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्णरूपमा रोक लगाउने निर्णय भइसकेको थियो । सोही अनुसार नै प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न प्रतिबन्ध गरिएको विभागले जनाएको छ ।

विभागको अनुगमनका क्रममा उक्त निर्णय विपरीत कुनै कार्य गरेको पाइएमा वातावरण निरीक्षकबाट १५ हजारदेखि २० हजारसम्म जरिवाना हुने र विभागका महानिर्देशकबाट १ लाखसम्म जरिवाना हुने जारी गरेको सूचनामा उल्लेख छ । तर बजारमा तिहार सुरु नहुँदै प्लास्टिकका फूल तथा मालाहरु बेच्न राखिएको छ ।

तिहारमा सबैभन्दा बढी भीडभाड हुने असन इन्द्रचोकमा प्लास्टिकका मालाहरु बेच्नका लागि राखिएको छ । व्यापारीहरु खुलमखुला त्यस्तो प्लास्टिकका मालाहरु बेचिरहेको छन् । कतिपय व्यापारीहरु प्लास्टिकको फूल सरकारले प्रतिवन्ध लगाएको जानकारी नभएको बताए ।

तिहारको बेला सयपत्रीको माला महंगो हुने र प्लास्टिकको माला लामो समय टिकिराख्ने भएकाले पनि प्लाष्टिकको मालाप्रति ग्राहक आकर्षित भएको व्यापारीहरु बताउँछन् ।

नेपालप्रेसकर्मी आज बिहान असन इन्द्रचोक पुग्दा पसलहरुमा निर्धक्कसँग प्लास्टिकका मालाहरु बेचिरहेका थिए । आफूहरुलाई प्लास्टिकका फूलहरु बेचे कारबाही हुन्छ भन्ने समेत जानकारी नभएको बताए । साथै अनुगमनको लागि पनि कोही सरकारी कर्मचारी नआएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *