कैलाली २ : ह्याट्रिक गर्ने दाउमा एमाले, बडूवाल र चौधरी बन्लान् त बाधक ? – Nepal Press

कैलाली २ : ह्याट्रिक गर्ने दाउमा एमाले, बडूवाल र चौधरी बन्लान् त बाधक ?

कैलाली । २०४८, २०५१ र २०५६ सालको निर्वाचन जितेर कांग्रेसले ह्याट्रिक गरेको कैलाली क्षेत्र नम्बर २ मा २०७० र २०७४ को निर्वाचन एमालेले जित्यो । एमाले मंसिर ४ गते हुने निर्वाचन जितेर कांग्रेससँग रेकर्ड बराबर बनाउने योजनामा छ । तर, एमालेको योजना सहज पूरा हुने देखिँदैन ।

यस क्षेत्रमा कांग्रेसले पार्टीगतमात्रै ह्याट्रिक गरेन । उम्मेदवारका रुपमा रामजनम चौधरीले समेत ह्याट्रिक गरेका थिए । २०४८ मा नेकपा एमालेका गणेशमान सोवलाई १४ हजार ४०७ मतले पराजित गर्दै विजयी चौधरीले २०५१ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टीका मोहनराज मल्ललाई ४ हजार २१६ मतले हराए ।

२०५६ सालको निर्वाचनमा चौधरीले २०५१ मा जस्तै राप्रपाका मल्ललाई पराजित गरेका थिए । लगातार तीन जीत निकालेको कांग्रेसलाई २०६४ मा ठूलो झट्का लाग्यो । कांग्रेसको अपराजित यात्रा तेस्रोमा सीमित भयो । माओवादीका भगत बडुवालले एमालेका मोहनसिंह राठौरलाई १० हजार ६१० मतले पराजित गरे ।

२०७० सालमा पहिलो पटक यो क्षेत्रमा एमाले विजयी भयो । यो वेला एमालेका राठौरले हारमा ह्याट्रिक हुन दिएनन् । कांग्रेसका कमल शाहलाई ३ हजार ५३६ मतले उछिनेर राठौर विजयी भए । राठौरले ११ हजार ९३२ मत पाउँदा शाहले ८ हजार ३५३६ मत पाएका थिए ।

२०७४ सालमा पनि यो क्षेत्रमा एमालेले जीत हासिल गर्‍यो । तीन पटकसम्म लगातार टिकट पाएर एक पटक जितेका मोहनसिंह राठौरले यस वेला टिकट पाएनन् । आफू राज्यमन्त्री हुँदा स्वकीय सचिव बनेका झपट रावलले टिकट पाउने भएपछि राठौरले एमाले छाडे । उनी एमालेविरुद्ध कांग्रेसबाट उम्मेदवार बने । तर, आफ्ना पूर्वस्वकीय सचिव रावललाई जित्न सकेनन् ।

वाम गठबन्धनबाट उम्मेदवार बनेका रावलले राठौरलाई २ हजार ८४४ मतले पराजित गरे । रावलले २५ हजार १५७ मत पाउँदा राठौरले २२ हजार ३१३ मत ल्याएका थिए । राजपाका रामप्रसाद चौधरी ५ हजार ९६७ मत ल्याएर तेस्रो भएका थिए ।

एमालेको ह्याट्रिक गर्ने दाउ

कैलाली क्षेत्र नम्बर २ मा अहिले नेकपा एमाले ह्याट्रिक गर्ने दाउमा छ । अन्य दलहरू भने एमालेलाई ह्याट्रिक गर्न रोक्ने रणनीतिमा छन् ।

क्षेत्र नम्बर २ मा बर्दगोरिया गाउँपालिका र लम्की चुहा नगरपालिकाको पुरै क्षेत्र पर्दछ । यस क्षेत्रमा मोहन्याल गाउँपालिकाको वडा नम्बर ५ बाहेकका सबै वडा र जानकी गाउँपालिकाको वडा नम्बर २, ५, ८ र ९ पर्छन् ।

स्थानीय तह निर्वाचनको मत परिणामअनुसार लम्की चुहाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी भएका छन् । बर्दगोरियाको प्रमुखमा एमाले र उपप्रमुखमा माओवादी विजयी भएका छन् ।

यहाँ पर्ने जानकीका चार वडामध्ये तीन वटामा एमाले विजयी भएको छ । त्यस्तै मोहन्याल गाउँपालिकाको ६ वडामध्ये तीन वटामा कांग्रेस, २ वटामा माओवादी र एउटामा एमाले विजयी भएको छ ।

यहाँ दलका वडाध्यक्षले पाएको मतअनुसार एक्लाएक्लैमा एमाले अगाडि छ । एमालेले १७ हजार ८३४ मत पाएको छ । कांग्रेस १३ हजार ८२० मतसहित दोस्रो स्थानमा छ । माओवादीले ८ हजार ७२४ मत पाएको छ ।

त्यस्तै नागरिक उन्मुक्ति पार्टीले ५ हजार २४३, राप्रपाले २ हजार ४०७ र नेकपा एकीकृत समाजवादीले २ हजार ३०६ मत पाएको छ ।

दोस्रो जीतको पर्खाइमा भगत

माओवादी केन्द्रबाट २०६४ सालमा निर्वाचित भगत बडुवाल पुनः उम्मेदवार छन् । उनीसँगै अघिल्लो पटक विजयी एमालेका नेता झपट रावल चुनावी मैदानमा छन् ।

बडुवाललाई हराएर रावल एमालेको जीतको ह्याट्रिक गर्ने लक्ष्यमा छन् । बडुवाल भने एमालेको जीत श्रृङ्खलामा ब्रेक लगाएर २०६४ कै नतिजा दोहोर्‍याउने दाउमा छ ।

बडुवाल र रावल दुवै आ-आफ्नो जीत दाबी गरिरहेका छन् । ‘मैले पाँच वर्षसम्म यहाँ विकासका थुप्रै काम गरेको छु । अझ धेरै काम गर्न बाँकी छ । त्यसको लागि जनताले मलाई पुनः निर्वाचित गराउनुहुनेछ भन्नेमा पूर्ण विश्वस्त छु’, एमाले उम्मेदवार रावलले भने, ‘राष्ट्र र राष्ट्रियताको लागि देशमा एमालेको सरकार आवश्यक छ भन्ने सबै नेपालीलाई थाहा छ । त्यसैले पनि हामीलाई विजयी गराउनु हुनेछ ।’

त्यस्तै गठबन्धनका साझा उम्मेदवार बडुवालले अघिल्लो पटक जितेका सांसदले केही गर्न नसकेको भन्दै यस पटक आफूलाई जनताले जिताउने विश्वास व्यक्त गरे ।

‘पहिले यहाँबाट जितेर गएपछि पनि केही गर्न नसकेको आरोप छ । यस पटक फेरि उहाँलाई जिताउने मनसायमा यहाँका नागरिकहरू छैनन’, उनले भने, ‘गठबन्धनका उम्मेदवारहरूलाई जनताले भारी मतले विजयी बनाउनुहुनेछ ।’

सत्ता गठबन्धनबाट प्रतिनिधिसभामा माओवादी केन्द्रका बडुवाल भिडिरहँदा प्रदेशसभा १ मा कांग्रेसका कमल शाह र २ मा माओवादीका नन्दबहादुर साउद चुनावी मैदानमा छन् । एमालेबाट प्रतिनिधिसभामा रावल भिडिरहँदा प्रदेशसभा १ मा कमला ओली र २ मा डेजी पाण्डे चुनावी मैदानमा छन् ।

नागरिक उन्मुक्तिको दाबी

रेशम चौधरीको पार्टी नागरिक उन्मुक्तिका उम्मेदवार अरुण चौधरीले पनि कैलाली २ मा आफ्नो जीत निश्चित रहेको दाबी गरे ।

कांग्रेसमा छँदा महासमिति सदस्य रहेका चौधरी अघिल्लो पटक कांग्रेसबाट प्रदेशसभा र त्यसअघि मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकबाट लम्की चुहाको मेयरमा उम्मेदवार बनेका थिए । उनी दुवै पटक झिनो मतान्तरले पराजित भए ।

२०७४ सालमा लम्की चुहाको मेयरमा एमालेका महादेव बजगाईं ७ हजार १८८ मत ल्याएर विजयी हुँदा फोरम लोकतान्त्रिकबाट निर्वाचनमा होमिएका चौधरीले ६ हजार २२२ मत पाएका थिए ।

फोरम लोकतान्त्रिक र कांग्रेसको २०७४ असोज ३० गते एकता भएको थियो । त्यसपछि चौधरी कांग्रेसबाट प्रदेश २ को ‘२’ मा उम्मेदवार बनेका थिए । एमाले र माओवादीको वाम गठबन्धनसँग उनी ८४४ मतले पराजित भए । त्यो वेला वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका नन्दबहादुर साउदले १२ हजार ७७ मत पाउँदा कांग्रेसबाट उम्मेदवार बनेका चौधरीले ११ हजार २३३ मत पाएका थिए ।

‘यसअघि प्राविधिक कारणले म झिनो मतले हारेको थिएँ । तर, यस पटक जीत पक्का हो’, उनले नेपालप्रेससँग भने, ‘नागरिकहरूले अहिले नागरिक उन्मुक्तिलाई विश्वास गरिरहनुभएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *