‘प्रचण्डको बुहारी भन्दा मलाई गर्व लाग्छ’ – Nepal Press
नेपाल टक

‘प्रचण्डको बुहारी भन्दा मलाई गर्व लाग्छ’

बिना मगर भन्छिन्- कांग्रेस र नेकपा एस मलाई जिताउन सशक्तरूपमा लागेका छन्

कैलाली । कञ्चनपुर-१ मा अहिले सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी नेतृ बिना मगर निर्वाचनमा होमिएकी छन् । तेस्रो पटक चुनावी मैदानमा होमिँदै गर्दा उनी दोस्रो जितको दाउमा छिन् । २०७० सालमा कांग्रेसका देवानसिंह विस्टसँग पराजित भएकी मगर अहिले उनै विष्टलाई साथमा लिएर चुनावी प्रचारप्रसारमा छिन् । सत्ता गठबन्धनबाट विष्ट प्रदेशसभाको उम्मेदवार बनेका छन् ।

यता नेकपा एमालेका तारा लामा तामाङ आफ्नो जित सुनिश्चित भएको दाबी गर्छन् । उनी अघिल्लो पटक बिनासँगै चुनावी प्रचारप्रसारमा थिए । संघीय मन्त्रीसमेत बनिसकेकी बिना प्रतिनिधिसभा उम्मेदवार बन्दा र पूर्वप्रदेश मन्त्री तारा लामा तामाङ वाम तालमेलबाट प्रदेशसभाको उम्मेदवार बनेका थिए । दुवैजना जितेको क्षेत्रमा अहिले दुवै एक-अर्काका प्रतिस्पर्धी छन् । उनीहरू दुवैको चुनावी परिणामलाई रोचक रूपमा हेरिएको छ ।

पूर्वखानेपानी मन्त्री मगरसँग जित्ने आधार, रणनीतिलगायत चुनावी कुराकानी नेपाल टकमा

– चुनावी प्रचारप्रसारमा कस्ता एजेण्डा लिएर गइरहनुभएको छ ?

योभन्दा पहिले पनि म निर्वाचनमा होमिएको थिएँ । झन्डै दुई गुणा बढी मतले विजय भएँ । तर, कोरोना संक्रमणले गर्दा हामीले तय गरेका धेरै विकास निर्माणका कामहरू अगाडि बढाउन सकेनौँ । त्यति हुँदा पनि यहाँको विकास निर्माणमा मैले पहल गरिरहेको छु । जे जति विकास भइरहेको छ त्यो पर्याप्त छैन । जुन विकास भइरहेको छ त्यसले राम्रो सम्भावनाको बाटोहरू खुलेको छ ।

– यहाँका मुख्य समस्याहरू कस्ता छन् ?

मेरो निर्वाचन क्षेत्रमा सी आकारको सीमा छ । सीमा क्षेत्रमा पटक-पटक विवाद आइरहन्छ । अस्ति मात्रै पनि हाम्रै नेपालीले जोतिरहेको क्षेत्रमा भारतीय पक्षले हाम्रो भूमि भन्दै जोत्न दिएन । यो हामीले हल गर्न चाहेर मात्रै पनि हल हुँदैन । यो दुवै राष्ट्रले बसेर वार्ता गरेर मिलाउनुपर्ने विषयहरू हुन् । यहाँ विकास निर्माणको पनि खाँचो छ । बाटोघाटो, शिक्षा, स्वास्थ्य, खानेपानीलगायत आधारभूत विकासहरूलाई अगाडि बढाउनुछ । पाँच वर्ष पहिले यी आधारभूत विकासको लागि जस्तो अवस्था आएको छ । धेरै काम भएको छ जस्तो लाग्छ ।

– फेरि जित्छु भन्ने लाग्छ ?

अहिले हामी गठबन्धनमा छौँ । गठबन्धनको मत हेर्दा हामी धेरै अगाडि छौँ । नागरिकका समस्या पनि हामीले हल गरिरहेका छौँ । त्यो पर्याप्त छैन होला तर, प्रयास हामीले धेरै गरिरहेका छौँ । त्यो कारणले पनि जनता हामीसँग हुनुहुन्छ । त्यस कारणले मलगायत मेरो सबै टीम जित्ने कुरामा हामी विश्वस्त छौँ ।

– कञ्चनपुरमा एकीकृत समाजवादी गठबन्धनबाट बाहिर छ । तपाईँहरूलाई असर गर्दैन ?

समाजवादको अस्ति पत्रकार सम्मेलन भएको छ । उहाँहरूले प्रतिनिधिसभाको उम्मेदवारलाई सहयोग गर्ने भन्नुभएको छ । त्यो राम्रो कुरा हो । मेरो निर्वाचनमा नेकपा एसले पनि सहयोग गर्नुहुन्छ । जनमोर्चा पनि छ । बाबुराम भट्टराईको पार्टी पनि छ । त्यसो गर्दा हामी जित्छौँ भन्नेमा ढुक्क छौँ ।

– तपाईँको आफ्नै पहिचान पनि छ । तर, धेरैले प्रचण्डको बुहारीका रूपमा प्रस्तुत गर्छन् । यसले गर्व लाग्छ कि पहिचान ओझेलमा परेको आभास हुन्छ ?

म प्रचण्डको बुहारी हो । प्रचण्डको बुहारी नभनेर के भन्ने त ? जब म आफ्नै गाउँमा हुन्छु, माइती गाउँमा हुन्छु माइतीमा प्रचण्डको बुहारीभन्दा हट हुनु स्वाभाविक हो । म एउटा समाज परिवर्तन, राष्ट्र नेतृत्व गर्ने एउटा युगको लिडरको बुहारी बन्न पाउनु गर्व गर्न लायक विषय हो । म गर्व गर्न चाहन्छु ।

प्रचण्डको बुहारी भन्दै धेरै प्रहार पनि हुने गरेको छ । यस पटक म मन्त्री भइरहँदा मिडियाले धेरै अतिरञ्जित गरे । म पनि ती ६ जना महिला उम्मेदवारमध्ये हो जसले प्रत्यक्ष निर्वाचन जितेर आएको हो ती पक्षहरू भुल्न हुँदैन । केही आलोचनाको विषयहरू होलान् कहिले काहीँ पहिचान नै प्रचण्डको बुहारी बन्ने कुरा होला तर राष्ट्र परिवर्तन गर्ने एक लिडरको बुहारी हुनुमा मलाई गर्व छ ।

– सुदूरपश्चिममा माओवादीले कति सीट जित्ला ?

माओवादीको मात्र कुरा होइन । यहाँ गठबन्धनको सबै जित सुनिश्चित छ ।

– कसरी ?

सीट बाँडफाँट निकै राम्रोसँग भएको छ । गठबन्धनमा रहेका दलहरू सबै प्रतिबद्ध छन् । त्यसैले हामी सबै क्षेत्रमा जित्छौँ भन्ने कुरामा ढुक्क छौँ ।

– एमालेको अवस्था के हुन्छ ?

गठबन्धनमा वैज्ञानिक ढंगले व्यवस्थापन भएको छ । केही ठाउँमा सामान्य समस्या भएको होला । तर, सबै समन्वय भइरहेको छ । गठबन्धनका सबै दल गठबन्धन जिताउन लागिपरेका छन् ।

-२०७० सालदेखि देवानसिंह विष्टसँग तपाईँ प्रतिस्पर्धीको रूपमा रहनुभयो । अहिले गठबन्धनका कारण सहयात्री हुनुभएको छ । हिजो आफूलाई हराएकै व्यक्तिलाई सँगै लिएर हिँड्दा कस्तो हुने रहेछ ?

२०७० सालमा मैले टिकट लिएर आए । त्यो बेलामा पनि कडा प्रतिस्पर्धा हो । मत गणना हुँदाहुँदै बाहिर निस्किनु पर्‍यो त्यो बेला झिनो मतले पराजित भएको हुँ म । देवानसिंह माननीय ज्यूको मात्र होइन लालबहादुर विश्वकर्मा अंकल एमालेबाट हुनुहुन्थ्यो । अघिल्लो पटकको चुनावमा लालबहादुर अंकलले मलाई सहयोग गर्नु भयो । त्यस्तो तुस भन्ने भएन । फेरि अहिले देवानसिंह एउटै मोर्चामा छौँ ।

– अहिले गठबन्धनमा रहनुभएका कांग्रेसका देवानसिंह विष्टले पनि सशक्त रूपमा प्रतिनिधिसभामा दाबी गर्नुभएको थियो । कांग्रेसले पाएन भने गठबन्धन हुँदैन सम्म भन्नुभएको थियो । पछि तपाईँले पाउनु भयो । कतै कांग्रेसभित्रबाट असहयोग हुन्छ जस्तो त लाग्दैन ?

तपाईँहरूले त्यस्तो केही देख्नुभएको छ ? मैले त देखेको छैन । नेपाली कांग्रेसको पूरै टीम अहिले सशक्त रूपमा लागिरहनु भएको छ । सहजै ढंगले गठबन्धन जिताउन लागिरहनु भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर