कञ्चनपुर १ मा दुई पूर्वमन्त्रीसँग भिड्दै पूर्ववडा अध्यक्ष – Nepal Press

कञ्चनपुर १ मा दुई पूर्वमन्त्रीसँग भिड्दै पूर्ववडा अध्यक्ष

कैलाली । ३ वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरको क्षेत्र नम्बर १ मा अहिले सत्ता गठबन्धनबाट माओवादीकी वीना मगर र नेकपा एमालेबाट तारा लामा तामाङ चुनावी मैदानमा छन् । मगर संघका पूर्वखानेपानीमन्त्री हुन् । तामाङ प्रदेशका पूर्वआर्थिक मामिला तथा योजनामन्त्री हुन् ।

उनीहरु दुवैजना अहिले एक-अर्कालाई प्रतिस्पर्धीको रुपमा बुझिरहेका छन् । कञ्चनपुर १ मा यी दुई दलबाहेक नागरिक उन्मुक्ति पार्टीले पनि आफूलाई प्रतिस्पर्धीको रुपमा उभ्याएको छ ।

यहाँ नागरिक उन्मुक्तिले अघिल्लो पटक बेलौरी नगरपालिका वडा नम्बर ८ मा अध्यक्ष निर्वाचित नन्दकुमार रानालाई प्रतिनिधिसभातर्फ उम्मेदवार बनाएको छ ।

दुई हेभीवेट नेताहरूसँग चुनावी मैदानमा उत्रिएका राना आफ्नो जीत सुनिश्चित भएको दाबी गर्छन् । ‘यहाँ मैले ३० हजार बढी मत पाउँछु’, उनले नेपालप्रेसलाई भने, ‘मेरो जीत निश्चित हो । टीका लगाउनमात्रै बाँकी छ ।’

अघिल्लो पटक वडाध्यक्ष हुँदा आफूले गरेको काम र जनतामाझ आफू लोकप्रिय रहेको भन्दै उनले आफ्नो जीत सुनिश्चित भएको दाबी गरे ।

दुई पूर्वमन्त्रीमध्ये कसले मार्ला बाजी ?

अघिल्लो पटक वाम गठबन्धनमा सहयात्री भएर निर्वाचनमा होमिएका नेकपा एमालेका तामाङ र माओवादी केन्द्रकी मगर अहिले प्रतिस्पर्धी छन् । उनीहरु आफ्नो जीत सुनिश्चित भएको दाबी गर्छन् ।

मगर संघीय मन्त्री हुँदा केही गर्न नसकेको र नागरिकले गठबन्धनलाई नरुचाएको कारण आफ्नो जीत सुनिश्चित भएको एमालेका उम्मेदवार तामाङको पनि दाबी छ ।

‘अघिल्लो पटक संघीय सांसद हुँदै मन्त्री भएर पनि उहाँ (वीना मगर) ले यस क्षेत्रमा केही गर्न सक्नुभएन’, नेपाल प्रेससँग तामाङले भने, ‘त्यसैमाथि अहिले जनताले गठबन्धनलाई रुचाएका छैनन् । प्रतिनिधिसभा र दुवै प्रदेशसभामा हाम्रो जीत निश्चित छ ।’

एमालेका तामाङले आफ्नो जीतका यस्ता आधार प्रस्तुत गर्दा माओवादी आफैं बलियो रहेको यस क्षेत्रमा कांग्रेससँग पनि तालमेल भएपछि जीतमा आफ्नो बाधक कोही नरहेको माओवादीकी मगरको जिकिर छ ।

‘यहाँ हामी त्यसै पनि बलियो छौं । त्यसमाथि कांग्रेस पनि हामीसँग हुनुहुन्छ । उहाँहरू पनि इमानदारिताका साथ गठबन्धनमा लागिरहनुभएको छ’, मगरले नेपालप्रेससँग भनिन्, ‘हामी जित्नेमात्रै होइन, मतान्तर अघिल्लो पटकभन्दा अझै बढ्छ भन्ने लागेको छ ।’

अघिल्लो पटक उनी ३८ हजार ४६७ मत ल्याएर विजयी भएकी थिइन् । उनकी प्रतिस्पर्धी देवानसिंह विष्टले १९ हजार २१९ मत ल्याएका थिए ।

के छन् उम्मेदवारका प्राथमिकता ?

नेकपा एमाले, सत्ता गठबन्धनबाट माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीका प्राथमिकता उस्तै उस्तै छन् । नेपाल भारत सीमा क्षेत्रसँग जोडिएको यो क्षेत्रमा सबै उम्मेदवारले सबैभन्दा धेरै सीमा क्षेत्रकै वकालत गरिरहेका छन् ।

त्यस्तै बाढी र आरक्ष पीडितहरूको समस्या समाधान, हात्ती आतङ्क रोकथाम, सडक सञ्जाल विस्तार र नदी कटान सबैको प्राथमिकतामा परेका छन् ।

माओवादी केन्द्रकी उम्मेदवार मगरले बाढी, आरक्ष र सीमा समस्या सबैभन्दा धेरै उठाइने बताइन् । मैले संसदमा पहिले पनि यस विषयमा कुरा गरिरहेको छु । अझै पनि यस विषयमा धेरै काम गर्न बाँकी छ’, उनले भनिन्, ‘बाढी, आरक्ष र सीमा समस्या हल गर्ने गरी म लागिरहेको छु ।’

यता एमालेका उम्मेदवार तामाङ पनि यी नै विषयवस्तुहरू लिएर जनतासामु गइरहेका छन् । ‘मेरो क्षेत्रमा सीमा रक्षाकै क्रममा गोविन्द गौतमको हत्या भयो । यस्ता घटना हुन नदिन सीमा समस्याको दीर्घकालीन व्यवस्थापन गर्ने मेरो योजना छ’, उनले भने, ‘त्यसको लागि म संसदमा जनताको आवाज बुलन्द पार्नेछु । आरक्ष पीडितको समस्या, बाढीको कटान रोकथाम र सडक विस्तार मेरो प्राथमिकतामा छन् ।’

नागरिक उन्मुक्ति पार्टीका रानाले पनि यी नै विषयहरु उठाइरहेका छन् । उनी पहिचानको मुद्दालाई पनि जनतासामु लागिरहेको बताउँछन् । ‘यहाँ सबैभन्दा धेरै समस्या सीमाको छ । हामी त्यसलाई हल गर्छौं । सडक विस्तार, बाढी र आरक्ष पीडितको समस्या हल गर्न लाग्नेछु’, उनले भने, ‘हामी पहिचान र न्यायको मुद्दा पनि सँगै लिएर हिँडिरहेका छौं ।’

यस्ताे छ स्थानीय तह निर्वाचनको मतभार

यो निर्वाचन क्षेत्रमा चार वटा स्थानीय तह छन् । दुई नगरपालिका र दुई गाउँपालिका । बेलौरी नगरापालिका माओवादी केन्द्रले जितेको छ । पुनर्वास नगरपालिका र बेलडाँडी गाउँपालिका कांग्रेसले जितेको छ । लालझाडी गाउँपालिका एमालेले जितेको छ ।

पुनर्वास नगरपालिका मेयरमा कांग्रेसका तोयप्रसाद शर्माले १० हजार ६ मत पाएर विजयी भएका थिए । एमालेका मेयरका उम्मेदवार पदमबहादुर पुजाराले ४ हजार ६७४ मत पाएका थिए । माओवादी-नेकपा एस गठबन्धनका उम्मेदवार जीवन थापा ३ हजार ७३४ मत पाएर तेस्रो भएका थिए ।

बेलौरी नगरपालिका मेयरमा माओवादी केन्द्रका पोतीलाल चौधरीले ८ हजार ७८७ मत पाएर विजयी भएका थिए । एमालेकी कमला बोहोरा ६ हजार ८०३ मत पाएर दोस्रो भएकी थिइन् । कांग्रेसका हरेन्द्रसिंह विष्ट ६ हजार ३१२ मत पाएर तेस्रो स्थानमा रहेका थिए ।

लालझाडी गाउँपालिका अध्यक्षमा एमालेका निर्मल रानाले ४ हजार ५१६ मत पाएर विजयी भएका थिए । माओवादी २ हजार ८५८ मत पाउँदा कांग्रेसले २ हजार ४६८ मत ल्याएको थियो । यो क्षेत्रमा स्थानीय तहमा माओवादी र समाजवादीले धेरै ठाउँ गठबन्धन गरेका थिए ।

बेलडाँडी गाउँपालिकामा कांग्रेसका अध्यक्ष हरिचन्द्र राना ४ हजार १०३ मत पाएर विजयी भएका थिए । एमालेले २ हजार ३०१ मत पाउँदा माओवादीले १ हजार ७६३ मत ल्याएको थियो ।

वडाध्यक्षहरुले पाएको मत

यो निर्वाचन क्षेत्रमा वडा अध्यक्षका उम्मेदवारहरूको पाएकाे मतमा एमाले अगाडि छ । कांग्रेस दोस्रो, माओवादी तेस्रो र एकीकृत समाजवादी चौथो स्थानमा छ ।

एमाले १८ हजार ७७३ मत पाउँदा कांग्रेसले १८ हजार ७३२ मत ल्याएको छ । माओवादीले १५ हजार ८६८ र एकीकृत समाजवादीले ३ हजार २७६ मत पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *