मकवानपुर १ मा जनताले ‘रेडकार्ड’ देखाएकाहरु नै पुन: मैदानमा – Nepal Press

मकवानपुर १ मा जनताले ‘रेडकार्ड’ देखाएकाहरु नै पुन: मैदानमा

हेटौंडा । फुटबलमा सामान्यतया एक पटक ‘रेडकार्ड’ खाएपछि त्यो खेलमा तत्कालै प्रतिबन्ध र अर्को खेलमा निषेध गर्ने नियम हुन्छ । ती ‘कार्डहोल्डर’ खेलाडी खेलको नियमानुसार अर्को खेलमा बेञ्चमा बस्छन् । तर, राजनीतिको खेल मैदानमा त्यो नियम लागु हुँदैन । राजनीतिक दलको नेताले जनताले ‘रेडकार्ड’ दिएका ती खेलाडीलाई तुरुन्तै अर्को खेलमा पनि समावेश गर्न सक्छन् ।

मकवानपुर १ को सन्दर्भमा अहिलेको परिस्थिति त्यस्तै छ । पटक-पटक जनताले ‘रेडकार्ड’ दिएर मैदान बाहिर पठाएका खेलाडी नै यो पटक मैदानमा उत्रिएका छन् । अर्थात यसपटक पटक-पटक जनताबाट पराजित अनुहारहरु नै अनुमोदनको लागि चुनावी मैदानमा उत्रिएका हुन् ।

प्रतिनिधिसभामा पटक-पटक पराजित कमल थापा, महालक्ष्मी उपाध्यय ‘डिना’ तथा दीपकबहादुर सिंह यसपटक चुनाव जित्ने उद्देश्यसहित मैदानमा उत्रिएका छन् । राप्रपा नेपालको अध्यक्ष भए पनि नेकपा एमालेको चुनाव चिन्ह ‘सूर्य’ बोकेर थापा चुनावी मैदानमा होमिएका छन् । सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी उपमहामन्त्री उपाध्याय तथा राप्रपाका केन्द्रीय कार्यसम्पादन समिति सदस्य सिंह चुनावी मैदानमा छन् ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेससँग तालमेल गरेर उठेका थापालाई वाम गठबन्धनबाट एमालेका कृष्णप्रसाद दाहालले पराजित गरेका थिए । दाहालले ४० हजार ६३१ मत ल्याउँदा थापाले ३४ हजार ६५८ मत पाएका थिए । तर, यो पटक थापा उनै दाहालसँग मिलेर चुनावमा होमिएका छन् । यसपटक सूर्य चुनाव चिन्ह रहेका कारण थापाले एमालेबाट शतप्रतिशत मत पाउने विश्वास गरेका छन् ।

मकवानपुर २ बाट तत्कालीन एमालेका नेता विरोध खतिवडासँग हारको ह्याट्रिक गरेकी कांग्रेसकी उपाध्याय यसपटक क्षेत्र परिवर्तन गर्दै १ मा गठबन्धनबाट उम्मेदवार बनेका छन् । उनले थापा र सिंहलाई च्यालेन्ज गरेकी छन् ।

चुनावको समयमा सधैं चर्चामा आउने मकवानपुरका अर्का नेता सिंह पनि यो पटक प्रतिनिधिसभा निर्वाचनमा पुराना सहकर्मी थापासहित कांग्रेसकी उपाध्यायसँग प्रतिस्पर्धामा छन् । चुनावी राजनीतिमा हालसम्म नजितेका सिंह बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरमा २० हजार मत कटाएपछि हौसिएका छन् ।

बहुदल स्थापनापछिको दुईवटा संविधानसभा निर्वाचनबाहेक सबै निर्वाचन लडेका थापाले जीतको स्वाद २०५१ को मध्यावधिमा मात्र पाएका थिए । डिना र सिंहको भागमा भने जीतका स्वाद अहिलेसम्म परेको छैन । तर, यसपटक ३ मध्ये एकजनाले जित्ने निश्चित छ । पटक–पटक हारको तीतो अनुभव बटुलेका तीनैजना उम्मेदवारलाई यो निर्वाचन गर या मरको अवस्थामा रहेको छ ।

आ-आफ्नै दाउ

बागमती प्रदेशको राजधानी हेटौंडाका १९ मध्ये १५ वटा वडासहित बकैया गाउँपालिका, बागमती गाउँपालिका र मकवानपुरगढीको ४ वटा वडा गरी ४० वटा यस क्षेत्रमा रहेका छन् । यस पटक थापाले कांग्रेसभित्र देखिएको आन्तरिक द्वन्द्वको फाइदा उठाउने दाउमा थापा छन् ।

बाहिर नदेखिए पनि भित्रभित्रै कांग्रेस नेतृ उपाध्याय र कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँबीच चर्को मतभेद छ । उपाध्याय र बानियाँका समर्थकहरु एकअर्कामा दोषारोपणमा ब्यस्त देखिन्छन् । यसको फाइदा उठाउँदै थापा जीतको योजना बुन्दैछन । उपाध्याय भने यस पटक माओवादीको साथ रहेकाले जित्नेमा ढुक्क छिन् ।

माओवादीले पूर्ण रुपमा साथ दिए जीत सहज हुने उनको विश्वास छ । तर, राप्रपा नेता सिंह एमाले र कांग्रेसका असन्तुष्ट कार्यकर्ताको रोजाइ आफू हुनेमा ढुक्क देखिन्छन् । एमालेका केन्द्रीय सदस्य रामेश्वर रानालाई टिकट नदिएर राप्रपा नेपालका अध्यक्ष बोकेका कारण रुष्ट एमाले कार्यकर्ता र कांग्रेसको बानियाँ निकटका कार्यकर्ताको साथ आफूलाई हुनेमा सिंह विश्वस्त रहेको उनी निकट बताउँछन् ।

स्वतन्त्रहरुको समेत जित्ने दाबी

अन्य दल तथा स्वतन्त्र उम्मेदवारहरु यस क्षेत्रमा तीन दलबीच मुख्य भिडन्त देखिए पनि यस पटक तीनैजना नेतालाई जिल खुवाउने तयारी रहेको बताउँछन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टाकाबहादुर थापा सुरेश भन्छन्, ‘हेर्दा तीन दलको भिडन्त देखिए पनि यस पटक हामी कसैले नसोचेको परिणाम ल्याएर देखाउने योजनामा छौं ।’

हाम्रो नेपाली पार्टीका उम्मेदवार दीपेन्द्रचन्द ठकुरी पनि जनताले परिवर्तन चाहेको बताउँदै पुरानालाई भन्दा नयाँलाई विश्वास गर्नेको जमात मकवानपुर १ मा रहेको बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर