सुदूरपश्चिमका यी उम्मेदवार, जसले आफैलाई भोट हाल्न पाउने छैनन् – Nepal Press

सुदूरपश्चिमका यी उम्मेदवार, जसले आफैलाई भोट हाल्न पाउने छैनन्

कैलाली । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीर बहादुर बलायर अहिले चुनावी प्रचार प्रसारमा व्यस्त छन् । आफूलाई मत दिन अरूलाई अपिल गरिरहेका बलायर स्वयम आफूले भने आफैलाई मत दिन नपाउने अवस्थामा छन् ।

अघिल्लो पटक सम्म डोटीबाट निर्वाचन लड्दै आएका बलायरलाई अहिले डोटी छोड्ने बाध्यता आइलाग्यो । सत्ता गठबन्धनबाट एउटा मात्रै निर्वाचन क्षेत्र रहेको डोटी नेकपा एकीकृत समाजवादीलाई भाग परेपछि अघिल्लो पटक आफै हारेको व्यक्तिलाई जिल्ला सुम्पिएर बलायर कैलाली ४ झरे ।

अहिले कैलाली ४ मा एमालेका केन्द्रीय सचिव लेखराज भट्टसँग बलायरको प्रतिस्पर्धा हुने भएको छ । तर, बलायरले आफैलाई मत हाल्न नपाउने भएका छन् । पूर्व मन्त्री बलायरले मात्र होइन संविधान सभा सदस्य कृष्ण कुमार चौधरी कुन्दले पनि आफैले आफैलाई मत दिन नपाउने भएका छन् ।

सत्ता गठबन्धनको तर्फबाट कैलाली ३ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेका कुन्दन मतदाता नामावली भन्दा बाहिर रहेको क्षेत्रबाट उम्मेदवार भएपछि आफैलाई मत दिन नपाउने भएका हुन् ।

क्षेत्र नम्बर ३ मै मतदाता नामावली रहेका प्रदेश सभा सदस्य वीरमान चौधरी र प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनीता चौधरीलाई पाखा लगाएर क्षेत्र नम्बर ४ मा नामावली रहेका कृष्ण चौधरी कुन्दनलाई उम्मेदवार बनाइएको थियो । प्रतिनिधि सभा तर्फ प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा विरुद्ध उम्मेदवारी दिएका सागर ढकालले पनि आफैलाई मत दिन नपाउने भएका छन् ।

आयोगको व्यवस्था अनुसार गुल्मीमा मतदाता नामावली रहेका ढकाल डडेल्धुरामा उठ्दा उनले आफैलाई मत दिन नपाउने भएका हुन् ।
प्रतिनिधि सभा तर्फ मात्र होइन प्रदेश सभा तर्फ पनि मुख्य दलकै मुख्य केही उम्मेदवारहरूले आफैलाई मत दिन नपाउने अवस्थामा छन् । यसरी आफैलाई मत दिन नपाउनेमा माओवादीका प्रदेश इन्चार्ज खगराज भट्ट पनि छन् ।

लगातार तीन पटक सम्म प्रधानमन्त्री शेरबहादुर देउवासँग पराजित भएका भट्ट अहिले देउवाकै सहयोगमा मुख्यमन्त्री हुने चर्चा सहित निर्वाचनमा होमिएका छन् । भट्ट पनि आफैलाई मत दिन नपाउने अवस्थामा छन् ।

उनी अयजमेरु गाउँपालिका निवासी हुन् । यो क्षेत्र प्रदेश सभा ख मा पर्छ । यहाँ सत्ता गठबन्धनबाट कांग्रेसका गोविन्द बोहरा उम्मेदवार छन् । प्रदेश सभा खमा मतदाता नामावली रहेका भट्ट प्रदेश सभामा क बाट उम्मेदवार बनेका छन् ।

यता कैलाली ४को खमा सत्ता गठबन्धनबाट उम्मेदवार भएका प्रकाश बमले पनि आफैलाई मत दिन नपाउने भएका छन् ।उनको क्षेत्र सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीलाई परेपछि उनले प्रदेश सभाकै अर्को क्षेत्र रोज्न बाध्य भए । जहाँ उनले भोट दिन पाउँदैनन् ।

यता कैलाली ५ को कबाट उम्मेदवार भएका माओवादीका रमेश धामीले पनि आफूलाई मत दिन नपाउने भएका छन् । अघिल्लो पटक बाम गठबन्धनबाट प्रदेश ख को उम्मेदवार रहेको भट्ट अहिले सत्ता गठबन्धनबाट प्रदेश कको उम्मेदवार भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर