गण्डकीमा दोहोरिए पटक-पटक पराजित उम्मेदवार – Nepal Press

गण्डकीमा दोहोरिए पटक-पटक पराजित उम्मेदवार

पोखरा । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि म्याग्दीमा सत्ता गठबन्धनले खमबहादुर गर्बुजालाई उम्मेदवार बनाएको छ । गर्बुजा यसअघि २ पटक सोही क्षेत्रबाट उम्मेदवार बनिसकेका पात्र हुन् । २०७० र २०७४ सालको निर्वाचन लडेका गर्बुजा दुवै पटक पराजित भएका थिए । नेपाली कांग्रेसबाट अघिल्ला दुवै चुनाव हारेका गर्बुजाको यसपटकको चुनावी प्रतिद्वन्द्वी हुन् एमालेका हरिकृष्ण श्रेष्ठ ।

गठबन्धनको आडमा जित्ने लक्ष्यका साथ गर्बुजा चुनावी मैदानमा छन् । पूर्वबेलायती गोरखा सैनिक गर्बुजाले गठबन्धन र म्याग्दीमा गरेको कामले आफूलाई जिताउने बताउँछन् । ‘म निरन्तर हारेको भए पनि जनताको सेवा र संगठन विस्तारका लागि काम गरेको छु, यसपटक त जसै जित्छु’, उनी भन्छन् ।

गर्बुजा जस्तै अघिल्ला चुनाव हारेका ११ जनाले आगामी निर्वाचनका लागि गण्डकीमा टिकट पाएका छन् । म्याग्दी प्रदेशसभा (क) मा गठबन्धनबाट माओवादी केन्द्रका हरि भण्डारी उम्मेदवार छन् । उनी २०७४ मा रघुगंगा गाउँपालिकाको उपाध्यक्ष लडेका थिए । त्यस चुनावमा उनी वाम गठबन्धनबाट उठे पनि कांग्रेसकी कमला गर्बुजासँग पराजित भएका थिए ।

गत स्थानीय तह निर्वाचनमा उनले टिकट पाएनन् । तर, सत्ता गठबन्धनले प्रदेशसभा निर्वाचनका लागि यसपटक टिकट दिएको छ । म्याग्दी प्रदेशसभा (ख) मा पनि सत्ता गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका रेशम जुग्जाली वैशाखमा भएको स्थानीय तह निर्वाचनमा मालिका गाउँपालिका अध्यक्षमा पराजित भएका थिए ।

२०७४ को स्थानीय निर्वाचनमा मालिका गाउँपालिका ७ को वडाध्यक्षमा स्वतन्त्र लडेर जितेका जुग्जाली गत स्थानीय निर्वाचनमा माओवादीका उम्मेदवार थिए । उक्त निर्वाचनमा २ हजार १२५ मत ल्याएका जुग्जाली अहिले उम्मेदवार बनेका हुन् ।

कास्की १ मा गठबन्धनका उम्मेदवार कांग्रेस कास्की सभापति किशोरदत्त बराल २०५४ मै चुनाव हारेका थिए । २०५४ मा तत्कालीन आर्वाविजय गाविसको अध्यक्षमा लडेका उनी पराजित भएका थिए । कांग्रेसबाटै कास्की १ (ख) मा उम्मेदवार बनेका दीपक गुरुङ पनि यसअघि निर्वाचनमा पराजित भएका थिए । २०७४ को स्थानीय तह निर्वाचनमा उनी पोखरा १३ को वडा सदस्य पदमा हारेका थिए ।

यसपटक प्रदेशसभामा उम्मेदवार बनेका गुरुङ पहिलाको निर्वाचनको नतिजाले केही फरक नपर्ने र त्यही नजितामा अल्झिनु अनुचित हुने बताउँछन् । ‘पाँच वर्षअघि के भयो भन्ने सोचेर बसिरहेर हुँदैन । यसबीच काम गरेकै भएर टिकट पाएको हुँ’, उनले भने ।

कास्की ३ मा प्रतिनिधिसभा उम्मेदवार बनेका नेकपा एमालेका दामोदर बैरागी पनि यसअघि वडा सदस्यमा पराजित व्यक्ति हुन् । २०७४ को स्थानीय तह निर्वाचनमा उनी अन्नपूर्ण गाउँपालिका ५ को वडा सदस्यमा पराजित भएका थिए ।

एमालेबाट स्याङ्जा प्रदेश (ख) मा उठेका बुद्धिमान श्रेष्ठ पनि यसअघि स्थानीय तह निर्वाचनमा पराजित भएका थिए । २०७४ को निर्वाचनमा उनी चापाकोट नगरपालिका प्रमुखमा कांग्रेसकी शिवकुमारी गिरीसँग हारेका थिए । स्थानीय तह निर्वाचनपछि भएको प्रदेशसभा निर्वाचनमा पनि उनी लडेका थिए । उनी त्यसबेला पनि भागवतप्रकाश मल्लसँग पराजित भएका थिए ।

सत्ता गठबन्धनबाट बागलुङ १ (क) का उम्मेदवार कांग्रेसका दीपेन्द्रबहादुर थापा २०७४ सालमै हारेका थिए । बागलुङ २ (क) बाट उम्मेदवार बनेका जीत शेरचन यसअघि दुईपटक प्रदेशसभामै पराजित व्यक्ति हुन् । उनी २०७४ को प्रदेशसभा निर्वाचनमा बागलुङ २ (ख) बाट लडेका थिए । उक्त निर्वाचनमा शेरचन राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्तीसँग ३२ सय मतान्तरले पराजित भएका थिए ।

२०७६ को उपनिर्वाचनमा पनि घर्ती सोही क्षेत्रमा उम्मेदवार बनेका थिए । सो चुनावमा पनि घर्ती राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीसँग पराजित भए ।

एमालेबाट बागलुङ २ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेकी मञ्जु शर्मा चालिसे पनि गएको स्थानीय तह निर्वाचनमा गलकोट नगरपालिकाको मेयरमा स्वतन्त्र उठेकी थिइन् । कांग्रेसबाट टिकट नपाएर स्वतन्त्र उठेकी चालिसेले ३२ सय मत ल्याएकी थिइन् । स्थानीय तह निर्वाचनपछि मात्रै चालिसे एमाले प्रवेश गरेकी हुन् ।

बागलुङ ताराखोला गाउँपालिका अध्यक्षमा पराजित प्रकाश घर्ती अहिले स्वतन्त्र रुपमा बागलुङ २ (क) मा प्रदेशसभाका लागि उम्मेदवार बनेका छन् । गाउँपालिका निर्वाचनमा उनी गठबन्धनका उम्मेदवारसँग करिब १ सयको मतान्तरले पराजित भएका थिए । अहिले उनलाई नेकपा एमालेले प्रदेशसभा निर्वाचनमा समर्थन गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर