विना मगरको क्षेत्रमा सहयात्री भएका प्रतिस्पर्धी, प्रतिस्पर्धी भएका सहयात्री – Nepal Press

विना मगरको क्षेत्रमा सहयात्री भएका प्रतिस्पर्धी, प्रतिस्पर्धी भएका सहयात्री

कैलाली । २०७० मा नेपाली कांग्रेसबाट देवानसिंह विष्ट र माओवादी केन्द्रबाट बिना मगर निर्वाचनमा होमिरहेका थिए ।१० हजार २९४ मतका साथ विष्ट विजयी हुँदा मगर ९ हजार १५१ मतका साथ तेस्रो भएकी थिइन् । दोस्रो नेकपा एमालेका लालबहादुर विश्वकर्मा भएका थिए । उनले ९ हजार २३६ मत पाएका थिए ।

२०७० सालामा कञ्चनपुर १ मा विनालाई हराएका देवान २०७४ सालमा बिनासँग हारे ।विना ३८ हजार ४६७ ल्याएर विजयी हुँदा विष्टले १९ हजार २१९ मत ल्याएर पराजित भएका थिए ।०७० मा जितेर ०७४ मा हारेका देवान अहिले भने फेरि अघिल्लो पटक आफू जोसँग हारेको हो उनैलाई जिताउन लागिपरेका छन् । सत्ता गठबन्धनका कारण क्षेत्र नम्बर १ को प्रतिनिधि सभा माओवादी केन्द्रको भागमा परेको छ ।

माओवादी केन्द्रबाट माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डकी बुहारी फेरि चुनावी मैदानमा छिन् । प्रतिनिधिसभामै दाबी गरेर प्रदेश सभामा चित्त बुझाएका देवान अहिले आफैँ हारेको व्यक्तिलाई जिताउनु पर्ने बाध्यतामा छन् । विष्ट अहिले १(२)मा प्रदेश सभाको उम्मेदवार बनेका छन् ।

यता अघिल्लो पटक आफै हारेको व्यक्तिलाई जिताउनु पर्ने बाध्यतामा विष्ट मात्रै छैनन् एमालेका उम्मेदवार तारा लामा तामाङ पनि अघिल्लो पटक जिताउन लागेको व्यक्तिलाई हराउने रेसमा छन् ।

अघिल्लो पटकको निर्वाचनमा बाम गठबन्धनको तर्फबाट बिना मगर प्रतिनिधिसभाको उम्मेदवार बन्दा तामाङ प्रदेश सभाको उम्मेदवार बनेका थिए । अहिले गठबन्धन फेरबदल हुँदा प्रतिस्पर्धी पनि फेरबदल भएका छन् ।

अहिले एमालेबाट तारा लामा तामाङ र सत्ता गठबन्धनबाट बिना मगर आमने समाने छन् । २०५१ पछि यस निर्वाचन क्षेत्रमा एमालेले जित निकाल्न सकेको छैन ।एमालेका रामकुमार ज्ञवालीले ११ हजार ४२५ मत ल्याएर ०५१ सालको मध्यावधि निर्वाचनमा विजयी भएका थिए ।

स्थानीय तहको नतिजा

कांग्रेस र माओवादी र नेकपा एसको गठबन्धन छ । यो निर्वाचन क्षेत्रमा चार वटा स्थानीय तह छन् । दुई नगरपालिका र दुई गाउँपालिका । बेलौरी नगरापालिका माओवादी केन्द्रले जितेको छ । पुनर्वास नगरपालिका र बेलडाँडी गाउँपालिका कांग्रेसले जितेको छ । लालझाडी गाउँपालिका एमालेले जितेको छ ।

पुनर्वास नगरपालिका मेयरमा कांग्रेसका तोयप्रसाद शर्माले १० हजार ००६ मत पाएर विजयी भएका थिए । एमालेका मेयरका उम्मेदवार पदमबहादुर पुजाराले ४ हजार ६७४ मत पाएका थिए । माओवादी–नेकपा एस गठबन्धनका उम्मेदवार जीवन थापा ३ हजार ७३४ मत पाएर तेस्रो भएका थिए ।

बेलौरी नगरपालिका मेयरमा माओवादी केन्द्रका पोतीलाल चौधरीले ८ हजार ७८७ मत पाएर विजयी भएका थिए । एमालेकी कमला बोहोरा ६ हजार ८०३ मत पाएर दोस्रो भएकी थिइन् । कांग्रेसका हरेन्द्र सिंह विष्ट ६ हजार ३१२ मत पाएर तेस्रो स्थानमा रहेका थिए ।

लालझाडी गाउँपालिका अध्यक्षमा एमालेका निर्मल रानाले ४ हजार ५१६ मत पाएर विजयी भएका थिए । माओवादी २ हजार ८५८ मत पाएर दोस्रो भएको छ । कांग्रेसले २ हजार ४६८ मत पाएर तेस्रो भएको छ । यो क्षेत्रमा स्थानीय तहमा माओवादी र समाजवादीले धेरै ठाउँ गठबन्धन गरेका थिए ।

बेलडाँडी गाउँपालिकामा कांग्रेसका अध्यक्ष हरिचन्द्र राना ४ हजार १०३ मत पाएर विजयी भएका थिए । एमाले २ हजार ३०१ मत पाएर दोस्रो बनेको थियो । माओवादीले १ हजार ७६३ मत पाएको थियो ।

वडाध्यक्षले पाएको मत

यो निर्वाचन क्षेत्रमा वडा अध्यक्षका उम्मेदवारहरूको मत हेर्दा एमाले अगाडि छ । कांग्रेस दोस्रो स्थानमा छ भने माओवादी तेस्रो स्थानमा । समाजवादी चौथो स्थानमा छ ।

नेकपा एमाले १८ हजार ७७३ मत पाउँदा नेपाली कांग्रेसले १८ हजार ७३२ मत पाएको छ। नेकपा माओवादीले१५ हजार ८६८ मत पाउँदा नेकपा एकीकृत समाजवादीले ३ हजार २७६ मत पाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर