संसदीय निर्वाचनमा पहिलो पटक आमनेसामने हुँदै जोशी र पौडेल, कसले मार्ला बाजी ? – Nepal Press

संसदीय निर्वाचनमा पहिलो पटक आमनेसामने हुँदै जोशी र पौडेल, कसले मार्ला बाजी ?

पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सातौँ पटक चुनावी मैदानमा छन् । यसअघिका पाँच चुनाव जितिसकेका पौडेल छैटौँ पटक चुनाव जितेर प्रधानमन्त्री बन्ने दाउमा छन् ।

२०४८ यताका सबै निर्वाचन लडेका उनी केही ‘मिसन’ बाँकी भएकाले चुनाव उठेको उद्घोष गरिसकेका छन् । ‘केही काम अझै बाँकी छन्, केही गर्न अझै बाँकी छ । मिसन पूरा भएको छैन । त्यसैले म तपाईँहरूको अघि छु,’ उम्मेदवारी मनोनयन अघि उनले भनेका थिए ।

पाँच दलीय सत्ता गठबन्धनका चुनावी कमान्डर बनेका पौडेल अहिलेको चुनावमा भने आफैँ असुरक्षित छन् । २०४८, मध्यावधि निर्वाचन २०५१, २०५६, २०६४, २०७० को निर्वाचन जितेका पौडेल २०७४ को निर्वाचनमा कृष्णकुमार श्रेष्ठसँग ६८ सय मतान्तरले पराजित भएका थिए । यो चुनावमा पनि पौडेलले ढुक्कसँग जित्न सक्ने अवस्था छैन । पौडेलले यो निर्वाचनमा कुनै बेला सँगै पार्टी र आन्दोलन हाँकेका सहयोद्धा गोविन्दराज जोशीको चुनौतीलाई पन्छ्याउनुपर्नेछ । जोशीका अतिरिक्त पौडेललाई नेकपा एमालेका उम्मेदवार एकबहादुर रानाको पनि चुनौती हुनेछ ।

जोशी र पौडेल पहिलो पटक संसदीय निर्वाचनमा आमनेसामने हुँदैछन् । पूर्व मन्त्री तथा कांग्रेसका सह महामन्त्री भइसकेका जोशीको चुनौती पौडेललाई भारी पर्न सक्छ ।

पार्टी राजनीति र तनहुँमै एक आपसमा भिडिरहेका यी दुई नेता संसदीय निर्वाचनमा पहिलो पटक भिड्दा रामचन्द्रलाई सकस पर्ने तनहुँका नेताहरू बताउँछन् । केन्द्रीय राजनीतिमा बढी सक्रिय पौडेललाई भूगोलमा जोशीको राम्रो पकड भएकाले यो चुनाव ‘ढुंगा’ चपाएजस्तो हुने बताउँछन् । कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनाल भन्छन्, ‘अहिलेको चुनाव कठिन नै छ, जोशी समूहको आँकलन सही नै हो । मत काटिने देखिन्छ । तर हामी गठबन्धनको मतले जित्छौँ भन्ने छ । गठबन्धनको मत हाम्रालागि सुविधाको मत हो ।’ खनाल पौडेल पक्षधर हुन् ।

केन्द्रमा राम्रो पकड भएका पौडेलले निषेधको राजनीति गरेर जोशीलाई फसाएको आरोप जोशी पक्षधरले लगाउने गरेका छन् । पौडेलले गरेको ‘अन्याय’ को हिसाबकिताब यही निर्वाचनमा हुने उनीहरूको तर्क छ । गोविन्दराज जोशीका छोरा दीपकराज जोशी भन्छन्, ‘यहाँका जनताले पनि बुझेका छन् उहाँमाथिको अन्याय । बुवामाथि भएको अन्यायको हिसाब अबको चुनावले गर्नेछ । बुवा चुनावमा उठिसकेपछि मत नदिने यहाँका कांग्रेसी छैनन् ।’

२०७४ कै निर्वाचनमा जोशी र पौडेल निर्वाचनमा आमनेसामने हुने देखिन्थ्यो । तर दाबी विरोधका दिन पौडेलले जोशीको मुद्दा सर्वोच्चमा रहेकाले उनी चुनाव लड्न नसक्ने भन्दै उजुरी दिएपछि जोशीको उम्मेदवारी खारेज भएको थियो । जोशीले मन्त्री हुँदा ३ करोड बढी रकम भ्रष्टाचार गरेको भन्दै मुद्दा लागेको थियो । जोशीको उम्मेदवारी खारेज भएपछि जोशी पनि पौडेललाई हराउन सक्रिय भएर लागेका थिए । त्यस बेलाको वाम गठबन्धन र जोशी समूहको मत लिएर नै किसान श्रेष्ठले ६ हजार बढी मतले रामचन्द्रलाई हराएका थिए ।

यस निर्वाचनमा भने जोशीको उम्मेदवारीमाथि कुनै उजुरी परेन । उम्मेदवारी दिएपछि जोशी स्वयंले आफ्नो उम्मेदवारी खारेज हुने कुनै आधार नरहेको बताएका थिए । ‘अघिल्लो पटक उम्मेदवारी खारेज गरियो । यो पटक उम्मेदवारी खारेज हुने कुनै आधार छैन । गठबन्धनको राजनीति हटाउन म उठेको हुँ,’ जोशीको भनाइ थियो ।

मंसिरमा हुने निर्वाचनले यी दुईबीचको वर्षौँको झगडालाई मूर्त रूप दिनेछ । पार्टी राजनीतिमा तँछाडमछाड गरेर आएका यी दुई नेता पहिलो पटक संसदीय निर्वाचन भिड्दा कसले जित्छ हेर्न रोचक हुनेछ । यी दुईको भिडन्तमा एमालेलाई फाइदा पुग्न सक्ने पनि देखिन्छ । तनहुँ १ बाट उम्मेदवार बनेका एकबहादुर राना भन्छन्, ‘उहाँहरूको झगडाले हामीलाई फाइदा पुग्न सक्छ । यद्यपि हाम्रो तयारी दुवैलाई हराउने छ । एकले अर्कोको काट्दा हामी जित्छौँ भन्ने विश्वास झन् बढेको छ ।’

तनहुँ १ कांग्रेसको राम्रो पकड भएको क्षेत्र हो । देवघाट, आँबुखैरेनी, बन्दीपुर गाउँपालिका, भानु नगरपालिका र व्यास नगरपालिकाको १ देखि ४ र ७ देखि १४ नम्बर वडा यस क्षेत्रमा पर्छन् । गत स्थानीय तह निर्वाचनमा यस क्षेत्रमा कांग्रेसले ३३ हजार मत ल्याएको थियो । गठबन्धनको अर्को दल माओवादी केन्द्रले ८४ सय र एकीकृत समाजवादीले ८९२ मत ल्याएको थियो । एमालेले उक्त निर्वाचनमा २२ हजार मत ल्याएको थियो ।

एक्लै लडेको भए हार्ने रहे छौंः जिल्ला सचिव, कांग्रेस 

पौडेल पक्षका नेता तथा कांग्रेस जिल्ला सचिव लक्ष्मीभक्त खनाल अहिलेको निर्वाचन गठबन्धनकै आडमा जितिने बताउँछन् । कांग्रेस एक्लै लडेको भए अहिलेको निर्वाचनमा पनि स्वतः अर्को उम्मेदवारले जित्ने परिस्थिति बनेको उनले बताए । ‘हामी एक्लै लडेको भए अहिले हार्ने रहेछौँ, गठबन्धनको मतले जित्ने हो,’ उनले भने ।

जोशी समूहले नेपाली कांग्रेसको ३५ प्रतिशत जति मत काट्ने उनको आँकलन छ । तर यति मत काटिँदैमा हार्ने भन्ने नरहेको उनको दाबी छ । ‘जोशी सरले अहिले राम्रो मत काट्नुहुन्छ । ठ्याक्कै आँकडा छैन तर ३०–३५ सम्म पुग्न सक्छ,’ उनले भने । यस निर्वाचनले जोशी र पौडेलको लडाइँलाई अन्तिम बिन्दु दिने पनि उनले बताए । क्षेत्र १ मा ‘को बहादुर, सक्रिय’ भन्ने लडाइँले अन्त्य पाउने उनको भनाइ छ ।

खुट्टा तान्नेको भविष्य छैन : दीपकराज जोशी

उम्मेदवार गोविन्दराज जोशीका छोरा दीपकराज जोशी अहिलेको निर्वाचन जित्ने आधार नै हिजो गरेका काम भएको बताउँछन् । पार्टी, सरकार मिलेर गोविन्दराज जोशीलाई हटाउने, कमजोर बनाउने खेल खेले पनि त्यो खेल अहिलेको निर्वाचन पछि सकिने उनले बताए । ‘हामीले काम गरेका छौँ, हिजो गरेका कामले नै जिताउँछन् । निषेध गर्ने, खुट्टा तान्नेहरूको भविष्य छैन,’ उनले भने ।

यस निर्वाचनमा एमालेले आफूहरूलाई सघाए एमालेलाई नै फाइदा पुग्ने उनको तर्क छ । ’गठबन्धनका नेता हराउने भन्ने अनि जोशीलाई सहयोग नगर्ने रु एमालेले हामीलाई सहयोग गर्दा फाइदा हुन्छ,’ उनको भनाइ छ । एमालेले क्षेत्र नम्बर १ मा सहयोग गरे तनहुँका अरू क्षेत्रमा एमालेलाई जोशी समूहले सहयोग गर्ने उनको प्रस्ताव छ ।

पौडेल हार्छन्, प्रतिस्पर्धा जोशीसँग हुन्छ : एमाले उम्मेदवार

एमालेबाट उम्मेदवार बनेका एकबहादुर राना अहिलेको निर्वाचनमा रामचन्द्र पौडेल कमजोर प्रतिस्पर्धी भएको टिप्पणी गर्छन् । पौडेलभन्दा तनहुँमा जोशी नै बलियो रहेकाले आफ्नो प्रतिस्पर्धा जोशीसँग हुने बताए । ‘पौडेल त हार्नुहुन्छ, प्रतिस्पर्धा जोशीसँग अलिक बढी हुने देखिन्छ,’ उनले भने ।

नेकपा एमालेले जित्ने पक्का भएको उनको दाबी छ । गठबन्धन सरकारका काम र नीतिले अहिले एमालेलाई पुग्ने उनको आँकलन छ । क्षेत्र १ मा मात्रै नभई तनहुँका सबै क्षेत्रमा एमालेले नै जित्ने उनले विश्वास राखे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *