पश्चिम नवलपरासी १ मा हेभीवेट प्रतिस्पर्धा : रैथाने त्रिपाठीलाई अर्बपति चौधरीले देलान् टक्कर ? – Nepal Press

पश्चिम नवलपरासी १ मा हेभीवेट प्रतिस्पर्धा : रैथाने त्रिपाठीलाई अर्बपति चौधरीले देलान् टक्कर ?

रुपन्देही । नवलपरासी पश्चिमको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसबाट अर्बपति उद्योगी विनोद चौधरी र जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी चुनावी मैदानमा छन् ।

चौधरी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । त्रिपाठी केही महिनाअघि आफैंले दर्ता गरेको नयाँ दल जनता प्रगतिशील पार्टी (जप्रपा) का उम्मेदवार हुन् । २०७४ सालमा नेकपा एमालेको समर्थनमा सूर्य चुनाव चिन्ह लिएर जितेका त्रिपाठीले अहिले पनि एमालेको साथ पाएका छन् ।

त्रिपाठीले सूर्य चुनाव चिन्ह लिन अस्वीकार गरेपछि एमालेले नेतृ सिन्धु जलेसाको उम्मेदवारी दर्ता गरेको थियो । पछि जलेसाको मनोनयन फिर्ता गरेर एमालेले त्रिपाठीलाई समर्थन गरेको हो ।

उद्योगी चौधरीलाई उक्त निर्वाचन क्षेत्रबाट कांग्रेसको टिकट नदिन संस्थापन इतरका जिल्ला नेताहरुले काठमाडौंमा धर्ना दिएका थिए । तैपनि चौधरी टिकट पाउन सफल भए । अधिकांश क्षेत्रमा पहिल्यै उम्मेदवारी टुंगिए पनि यहाँ मनोनयन गर्ने अघिल्लो रातिमात्रै चौधरीको नाम टुंगो लागेको थियो ।

यस क्षेत्रमा कांग्रेसका पूर्वसभासद एवम् लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल र अर्का पूर्वसभासद देवकरण जयसवाललेदाबी गरेका थिए । चौधरीले टिकट पाएपछि दुवै नेता रुष्ट छन् ।

चौधरी २०६४ को संविधानसभा निर्वाचनमा एमालेबाट र २०७४ मा कांग्रेसबाट समानुपातिक सांसद बनेका थिए । हाल उनी कांग्रेसको केन्द्रीय सदस्य छन् । यो भूगोलमा पार्टीको राजनीतिक काम नगरेका चौधरी पार्टी केन्द्रको बलियो साथमा प्रत्यक्षतर्फको टिकट हात पार्न सफल भए । अहिले उनको मुख्य प्रतिस्पर्धी राजनीतिक चतुर खेलाडी हृदयेश त्रिपाठी भएका छन् । ६७ वर्षीय चौधरीले आफू आर्थिक रुपमा सक्षम भएकाले यो क्षेत्रलाई समृद्ध बनाउन प्रत्यक्ष चुनावमा आएको बताएका छन् ।

चौधरी मैदानमा आएको क्षेत्र जप्रपाका अध्यक्ष तथा पूर्वमन्त्री त्रिपाठीको गृहक्षेत्र हो । २०४८ सालदेखि भएका ६ वटा निर्वाचनमध्ये त्रिपाठीले ५ वटा जितेका छन् । २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा मात्र त्रिपाठी पराजित भएका छन् । त्यसवेला त्रिपाठी नेपाली कांग्रेसका देवकरण जयसवलासँग ६ हजार मतान्तरले पराजित भएका थिए ।

बिहीबार भएको पत्रकार सम्मेलनमा नेता त्रिपाठीले राजनीतिमा व्यवसायीको प्रवेश रोक्नलाई मात्र अहिले आफू मैदानमा आएको बताए । एमालेले यही क्षेत्र रहेका जिल्ला अध्यक्ष दीपेन्द्र अधिकारीलाई अर्को क्षेत्र नं. २ मा उम्मेदवार बनाएको छ । जसले त्रिपाठीलाई सहज बनाएको बताइएको छ ।

प्रतिनिधिसभातर्फ २ र प्रदेशसभातर्फ ४ वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा जप्रपाबाट त्रिपाठीले मात्र उम्मेदवारी दिएर अन्य क्षेत्रमा एमालेलाई साथ दिने प्रतिबद्धता जनाएको छ । राजनीतिका चतुर खेलाडी मानिने त्रिपाठीले एमालेको सहयोगमा आफ्नो जीत सुरक्षित गर्न जिल्लामा आफूमात्र उम्मेदवार भएको चर्चा हुन थालेको छ ।

उनले २०४८, २०५१ र २०५६ सालमा नेपाल सद्भावना पार्टीबाट नवलपरासी क्षेत्र नम्बर ३ बाट चुनाव जितेका थिए । २०६४ सालमा तराई-मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) बाट नवलपरासी क्षेत्र नम्बर ६ बाट विजयी भएका थिए । २०७० सालमा तमलोपाबाट उम्मेदवार बनेका त्रिपाठी पराजित भए । २०७४ सालमा स्वतन्त्र राजनीतिक समूहबाट एमालेको सूर्य चिन्ह लिएर चुनाव लडेर जितेका थिए ।

यसबीचमा उनी ५ पटक मन्त्री भए । २०५४ सालमा वनमन्त्री, २०६३ सालमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री, २०६८ सालमा भौतिक योजना तथा यातायातमन्त्री, २०७६ सालमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री र २०७७ सालमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भए ।

त्रिपाठीले अर्बपति चौधरी र आफ्नो चुनावी प्रतिस्पर्धालाई धनाढ्य व्यक्ति र राजनीतिक कार्यकर्ताको लडाइँकाको संज्ञा दिएका छन् । ‘कांग्रेसका स्थानीय कार्यकर्ताले उम्मेदवारी दिएको भए मैले नदिने सोच बनाएको थिएँ । तर, बाहिरबाट धनाढ्य ल्याएर लडाएका कारण धनको वर्चस्वलाई परास्त गरी राजनीतिक वर्चस्व कायम राख्न मलाई उम्मेदवारी दिन बाध्य बनायो’, त्रिपाठीले भनेका छन् ।

नयाँ उम्मेदवार ल्याएर जिल्लाका कांग्रेसी नेता-कार्यकर्तालाई उनीहरूकै दलले दिएको राजनीतिक चुनौतीलाई परास्त गर्न पनि आफ्नो उम्मेदवारी रहेको त्रिपाठीको भनाइ छ ।

स्थानीय तह निर्वाचनमा वडागत मतका आधारमा कांग्रेस ३० हजार ३४२, एमाले २६ हजार ७७९, राप्रपा ६ हजार ६८७, माओवादी ५ हजार ३४७, जसपा ३ हजार ५५९, नेकपा एकीकृत समाजवादी १ हजार १४१ र लोसपाको १०० मतभार छ ।

किन फिर्ता भयाे सिन्धु जलेसाको उम्मेदवारी ?

एमालेसँग सहकार्य चाहे पनि त्रिपाठीले सूर्य चिन्ह लिएनन् । पछि एमालेले पूर्वसभासद सिन्धु जलेसालाई उम्मेदारका रुपमा मैदान पठायो । चौधरी र त्रिपाठीसँग चुनाव भिड्न तयार भएर उम्मेदवारी मनोनयन गरेकी जलेसालाई फिर्ता गरेको विषयले एमाले कार्यकर्ताहरु सन्तुष्ट छैनन् । एमाले नेतृ जलेसाले पनि आफूलाई किन फिर्ता गरियो भन्ने विषय बुझ्न नसकेको बताउँछिन् ।

जलेसा भन्छिन्, ‘मैले सबै तयारी गरेकी थिएँ । विनोद चौधरीलाई पराजित गर्ने सबै संयन्त्र पार्टी च्यानलमा सुनाएकी पनि थिएँ । तर, पार्टीले के आधारमा फिर्ता बोलायो थाहा भएन । नेतृत्वले भनेपछि मान्नु मेरो बाध्यता भयो ।’

एमाले कार्यकर्ताहरुले त्रिपाठी र उनको समूहले अघिल्लो निर्वाचनमा एमालेको साथ पाए पनि पार्टीलाई धोका दिएकाले केन्द्रको निर्णयप्रति सन्तोष मानेका छैनन् । भूगोलमा काम गरेकी जलेसालाई फिर्ता गराएर कमजोर जनाधार भएका त्रिपाठीलाई आफ्ना सबै मत खन्याएर जिताउनुपर्ने अवस्था रहस्यमय भएको स्थानीय कार्यकर्ताको भनाइ छ ।

सत्तारुढ गठबन्धनभित्र समस्या

यस क्षेत्रमा सत्तारुढ गठबन्धनको सहमतिविपरीत कांग्रेस, माओवादी केन्द्र र नेकपा एसले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन् । सहमतिविपरीत दर्ता भएका उम्मेदवारी फिर्ता नभएपछि गठबन्धनभित्रै एकमन नभएको देखिन्छ ।

गठबन्धनको सहमतिअनुसार उक्त निर्वाचन क्षेत्रको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा (क) कांग्रेसलाई दिइएको थियो । प्रदेशसभा (ख) भने माओवादी केन्द्रको भागमा परेको थियो । तर, (ख) तर्फको प्रदेशसभा सदस्यमा माओवादी केन्द्रका रामानन्द यादवले उम्मेदवारी दर्ता गराइसकेपछि कांग्रेसका देवकरण जयसवालले पनि उम्मेदवारी दर्ता गराए । यसपछि माओवादी केन्द्रको जिल्ला नेतृत्वले त्यसको काउन्टरमा सबै पदमा उम्मेदवारी दिएको थियो ।

माओवादी केन्द्रका यादवले प्रचण्डले हस्ताक्षर गरेको पत्रमार्फत उम्मेदवारी दर्ता गराएका थिए । कांग्रेसका जयसवालले पार्टी सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेको पत्रमार्फत उम्मेदवारी दर्ता गराएका थिए ।

गठबन्धन सहमति तोडिएको भन्दै माओवादी केन्द्रकी सीतादेवी बौडेलले प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएकी छन् । बौडेल २०६४ सालको संविधानसभा निर्वाचनमा उक्त क्षेत्रबाट चुनाव जितेकी हुन् । सहमति तोडिएको भन्दै कांग्रेसको भागमा परेको प्रदेशसभा (क) मा माओवादी केन्द्रका चन्द्र ढकालले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारी दर्ता गराउँदै माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवम् जिल्ला सहइन्चार्ज बौडेलले कांग्रेसले गठबन्धनको सहमति तोडेकाले आफूहरुले उम्मेदवारी दिएको बताइन् ।


प्रतिक्रिया

One thought on “पश्चिम नवलपरासी १ मा हेभीवेट प्रतिस्पर्धा : रैथाने त्रिपाठीलाई अर्बपति चौधरीले देलान् टक्कर ?

  1. त्रिपाठी निरन्तर राजनीतिमा लागेका, मन्त्री हुँदा पनि विवादमा नपरेका र विकासप्रेमी नेता हुन् । उनको अघि सधैं नैतिक अनैतिक हिसावले पैसा कमाएर अहिले काँग्रेसलाई विना योगदान दाम पेलेर टिकट पाएकाको तुलनानै हुँदैन । यिनले जितेमा सरकारलाई प्रभाव पारेर नेपालमा पैसा कमाएर विदेश लाने हुन् । पैसा जति सबै विदेश लगेर नेपालमा रोजगारी बढाउनेजस्तो हावादारी कुरा गर्नेलाई भोट दिनु हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *